वनकरियाका लागि आर्थिक र सामाजिक कार्यक्रम ल्याउँछौँ : मन्त्री जमकट्टेल

 मंसिर ३, २०७८ शुक्रबार २०:२४:३२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरको मनहरी गाउँपालिका ४ मुसेधापमा बसोवास गर्दै आएका लोपोन्मुख वनकरिया जातिका लागि संसद् र सरकारको भूमिकाका विषयमा हिजो बिहीवार हेटौँडामा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम भएको छ । जनपत्र मिडिया प्रालि मकवानपुरको आयोजना तथा संसद् सहयोग परियोजना संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो । 

कार्यक्रममा वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमकट्टेलले वनकरियाको हितका लागि आर्थिक र सामाजिक कार्यक्रम ल्याउने बताउनुभयो । प्रदेश सरकारले उनीहरूको हितका निम्ति काम गर्ने मन्त्री जमकट्टेलले बताउनुभयो । सरकारको नीति तथा कार्यक्रममै समेटेर भए पनि राज्यको लोपन्मुख जातजातिका लागि बजेट ल्याएर काम गरिने उहाँको भनाइ छ । 

अहिले वनकरिया समुदाय बस्दै आएको जग्गाको स्वामित्व दिलाउनका लागि प्रदेश सरकार लागिपर्ने उहाँले बताउनुभयो । उनीहरूको चाहनाअनुसार विद्यालय खोलिदिने, आयआर्जनका काममा सहयोग गर्न आफूहरू तयार रहेको मन्त्री जमकट्टेलको भनाइ छ । वनकरियाको बस्ती सार्नका लागि समस्या भएको बताउँदै उहाँले भन्नुभयो, ‘यहाँको बस्तीबाट वनकरियालाई सार्न पनि समस्या भएकाले उनीहरूको चाहनाअनुसार अरू क्षेत्रमा सहयोग गर्नुपर्छ । वनकरियाले उपयोग गरेको जग्गा उनीहरूकै नाममा ल्याउनका लागि प्रदेश सरकार लागिपर्छ ।’   

वनकरियाको विषयमा बजेट बनाउनका लागि प्रदेश सरकारलाई सहज रहेको मन्त्री जमकट्टेलले बताउनुभयो । यस कार्यक्रमले प्रदेश सरकारलाई घचघच्याउने काम गरेको उहाँले बताउनुभयो ।

‘​वनकरिया बस्तीमा पुग्दा त्यहाँको विकासका लागि सरकारले काम गर्नुपर्ने देखेँ’

वाग्मती प्रदेशका निवर्तमान सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठले आफू पहिलो पटक वनकरिया बस्तीमा पुगेर त्यहाँको वास्तविक अवस्था देख्दा सबैले त्यहाँको विकासका लागि काम गर्नुपर्ने बताउनुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफू जुन क्षेत्रबाट प्रतिनिधित्व गरेको हो त्यही क्षेत्रबाट वनकरियाको सहयोगका निम्ति पहल गर्ने बताउनुभयो । वनकरिया बस्ती नै असुरक्षित रहेको बताउँदै उहाँले भन्नुभयो, ‘वस्ती बचाउन सबै लागौँ । सबै सरकार मिलेर मात्र त्यहाँ काम गर्न सकिने छ । हामी यो विषयमा संसदमा पनि कुरा उठाउँछौँ ।’   

‘वनकरियाको जीवनस्तर उकास्न तीन तहको सरकारले काम गर्नुपर्छ’     

वाग्मती प्रदेश सभा सदस्य ओमबहादुर ग्लानले वनकरियाको जीवनस्तर उकास्न तीन तहका सरकार मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । अहिले उनीहरू पनि आधुनिकतातर्फ जाँदै गरेको उहाँले भनाइ राख्नुभयो । वनकरियाको समस्या समाधान कर्मचारीबाट हुन्छ भनेर आस गर्नुभन्दा पनि सरकारका जनप्रतिनिधिले गर्नुपर्ने प्रदेश सभा सदस्य ग्लानले बताउनुभयो । उनीहरूका लागि शिक्षा, स्वास्थ्यसँगै बस्दै आएको जग्गाको लालपुर्जा दिन लाग्ने उहाँले आश्वासन दिनुभयो ।   

‘वनकरियाहरू कमिला पिसेर खाँदै गर्दा जङ्गलको ओडारबाट यहाँसम्म ल्याइएको हो’

वाग्मती प्रदेश पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष प्रताप विष्टले वनकरियाहरू जङ्गलमा कमिला पिसेर खानासँग खाँदै गर्दा ओडारबाट यहाँसम्म ल्याइएको बताउनुभयो । आफू पहिलो पटक उनीहरूलाई भेट्न जाँदा त्यस्तो अवस्थामा देखेको उहाँको भनाइ छ ।   

वनकरियाको विषय समाचारमा बिक्ने विषय भएकाले आफूले निरन्तर रिपोर्टिङ गरेको उहाँले बताउनुभयो । समाचार बिक्ने र कार्यान्वयन हुँदै गर्दा त्यहाँको समुदायहरू अहिले सामाजिक सुरक्षा भत्ता पाउने स्थितिसम्म पुगेको बताउनुभयो । अब सरकारले वनकरिया जातिसँगै लोपोन्मुख समुदायको निःशुल्क उपचार बीमा गर्नुपर्ने उहाँको भनाइ थियो । 

कार्यक्रममा जनपत्र मिडिया प्रालि मकवानपुरका अध्यक्ष हरि हुमागाईंले वनकरिया समुदायका लागि तीन तहका सरकारको ध्यान आकर्षण गर्न र नीति नियम बनाउँदा पनि सहज होस् भनेर यो कार्यक्रम गरिएको वताउनुभयो । वनकरिया बस्तीमै पुगेर उनीहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएपछि अहिले फेरि सरकार र संसद्लाई नीति बनाउन सहज होस् भनेर कार्यक्रम गरिएको बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया