अर्कैको कम्पनी र घरजगा आफ्नो नाममा बनाएर ७० करोड ठग्ने पक्राउ

 भदौ २१, २०७५ बिहीबार १७:२१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – किर्ते कागज बनाई करोडौँ ७० करोड रुपैयाँभन्दा बढी ठगी गर्ने गिरोह पक्राउ परेको छ ।

अरुकै जमिनलाई आफ्नो हो भन्दै बेचबिखन र बैना गर्दै हिँडेको एक गिरोहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । 

जितबहादुर मगर लगायतका व्यक्तिहरूले शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको शेयरधनी, संचालक र कम्पनीको अध्यक्ष जितबहादुर मगर हो भनी शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालि नामको कम्पनीको नाममा रहेको बालुवाटार स्थित कित्ता नम्बर ४४१, ५०५ र ५४० को ३ रोपनी जग्गा सहितको घर, सतुंगल वडा नम्बर ९ को कित्ता नम्बर १२६ को १५ रोपनी जग्गा र म्याग्दी एवं नुवाकोट जिल्लामा शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको नाममा रहेको जग्गा वेचबिखन गर्न बैना गर्दै हिँडेको आरोपमा प्रहरीले विभिन्न व्यक्तिलाई पक्राउ गरेको छ ।

उनीहरुले शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको एकमात्र शेयरधनी संचालक एवं अध्यक्ष रहेका चुनदेवी बस्ने भारतीय नागरिक राम निरंजन जटियाको घरबाट कम्पनीको कागजात चोरी गरी उनकै घरमा १६ वर्ष देखि काम गर्दै आएका रामेछाप सुनापाती घर भएका ३३ वर्षीय जितबहादुर मगरले जिल्ला मकवानपुरका राजन प्रसाद लम्साल र काठमाडौंका निरज कुमार मानन्धरको मुख्य सहयोगमा कागजात, सहीछाप र हस्ताक्षर किर्ते गरी कम्पनी नै आफ्नो नाममा बनाएका थिए ।

उनीहरुले शेयरधनी संचालक अध्यक्ष राम निरंजन जटियाको नामको सम्पूर्ण शेयरहरू खरिद गरेको भनी कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन गरी कम्पनी रजिष्टारको कार्यालयबाट जितबहादुर मगरको नाममा नामसारी समेत गराई कम्पनीको नाममा रहेको करिब ७० करोड रूपैयाँ मूल्य बराबरको सम्पत्ति ठगी गर्ने योजना बनाएका थिए । 

घटनामा संलग्न विभिन्न १२ जनालाई पक्राउ गरी विद्युतीय अपराध, चोरी, ठगी तथा संगठित अपराधमा अनुसन्धान कार्यपश्चात अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा  पेस गरिएको ब्यूरोले जनाएको छ ।

अनुसन्धानबाट खुल्न आएका विषयहरू

  •  शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको संचालक समितिको वैठकको निर्णय भनी शेयरधनी संचालक राम निरंजन जटियाले जित बहादुर मगरलाई कम्पनीको ७५% बराबर हुन आउने १८७५० थान शेयर बिक्री गरेको भनी किर्ते कागज खडा गरेको । विशेष साधारण सभाको वैठकवाट जित बहादुर मगरले आफूलाई अध्यक्ष बनाएको, राम निरंजन जटियालाई सञ्चालक भनी उल्लेख गरेको । मिति २०७५/०३/२६ गते राम निरजंन जटियाको संञ्चालक पदबाट राजिनामा स्वीकृतिको निवेदन पेश गरेको देखाएको ।  साथै कम्पनीको अर्को संञ्चालक समितिको बैठकले कम्पनीको २५% बराबर हुन आउने ६२५० थान शेयर राम निरंजन जटियाबाट जित बहादुर मगरले खरिद गरेको उल्लेख गरेको कागज बनाएको र कम्पनीको अर्को विशेष वैठकबाट जित बहादुर मगरको नाममा मात्र १ जनाको संचालक समिति हुने भनी निर्णय गरेको देखिएको ।
  • कम्पनी रजिष्ट्रार कार्यालयको २०७५/०३/२९ र ३२ गतेको  निर्णयले शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको शेयर लगत राम निरंजन जटियाको नामवाट जितबहादुर मगरको नाममा नामसारी गरेको पाइएको । 
  • बालुवाटार बस्ने राजभाइ श्रेष्ठलाई शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको शेयरधनी संचालक म हुँ भनी कागजात समेत देखाई जितबहादुर मगर समेतले बालुवाटारको १४ आना १ पैसा ३ दाम जग्गा प्रति आना २१ लाख २५ हजारको दरले खरिदका लागि बैंक मार्फत १ करोड बैना लिएको र चितवन जिल्ला भरतपुर नगरपालिका वडा नम्बर ४ घर भई लामो समयदेखि जापानमा व्यवसाय गरी बस्ने प्रेमसागर सापकोटालाई शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको शेयरधनी संचालकको कागजात देखाई जितबहादुर मगर समेतको समूहले  सतुङ्गलको १५ रोपनी जग्गा प्रति आना १० लाख २५ हजारको दरले खरिदका लागी २ करोड बैना लिएको पाइएको ।
  • शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको शेयरधनी संचालक राम निरंजन जटियाले मिति २०७५।४।११ गते कान्तिपुर दैनिकमा जितबहादुर मगरले सहीछाप हस्ताक्षर किर्ते गरी सम्पूर्ण शेयरहरू बिक्री गर्न लागेको हुंदा हक हस्तान्तरण गरी नलिन सार्वजनिक सूचना जारी गरेको ।
  • जित बहादुर मगरले मिति २०७५।४।१६ गते नयाँ पत्रिका दैनिकमा शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको शेयर र घर जग्गा समेत राम निरंजन जटियाको मन्जुरीमा कम्पनी रजिष्टारको कार्यालयबाट जित बहादुर मगरको नाममा नामसारी भैसकेकोले शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको नाममा भएको घर जग्गा खरिद गर्दा बाधा पर्ने छैन भनी सार्वजनिक सूचना जारी गरेको ।
  • पुन: शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको शेयरधनी संचालक राम निरंजन जटियाले मिति २०७५।४।१७ गते नागरिक दैनिकमा मञ्जूरीबेगर जितबहादुर मगरले सहीछाप हस्ताक्षर किर्ते गरी शेयरधनी संचालक अध्यक्ष राम निरंजन जटियाको नामको सम्पूर्ण शेयरहरू बिक्री गर्न लागेको हुँदा हक हस्तान्तरण गरी नलिन सार्वजनिक सुचना जारी गरेको पाइएको । 
  • प्रारम्भिक रूपमा पक्राउ भएका प्रतिवादीहरू राजन प्रसाद लम्साल, निरज कुमार मानन्धर र जित बहादुर मगर को वयान र प्राप्त सवुद प्रमाणको आधारमा कम्पनी रजिष्टारको कार्यालयका ४ जना र अन्य ५ जनालाई पक्राउ गरिएको । 

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया