बहाल करकै कारण डेरावालको विवरण नलुकाउन घरधनीलाई आग्रह

 मंसिर ४, २०७८ शनिबार ११:१९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जनगणनामा डेरामा बस्नेहरुको विवरण नछुट्ने गरी सही तथ्याङ्क लिन र दिन नेपाल नगरपालिका सङ्घले आग्रह गरेको छ । देशको योजना तर्जुमा तथा विकास निर्माणका काममा अहिलेको विवरण महत्त्वपूर्ण रहेको भन्दै सङ्घले डेरावाल र घरधनीलाई पूर्ण रुपमा विवरण टिपाउन अनुरोध गरेको हो ।

विशेषगरी सहरी क्षेत्रमा डेरावाल तथा घरधनी नभेटिने, विवरण दिन आलटाल गर्नेजस्ता समस्या देखिएका छन् । सङ्घका अध्यक्ष अशोककुमार व्याञ्जुका अनुसार कतिपय घरधनीले बहाल कर तिर्नुपर्ने कारणले पनि डेरावालको सही विवरण दिन कञ्जुस्याइँ गरेको पाइएको बताउनुभएको छ ।

उहाँले बहाल कर तिर्नुपर्ने कारण डेरावालको विवरण नलुकाउन घरधनीलाई आग्रह गर्नुभयो । आफ्नो सुरक्षा, सरकारले दिने सेवा सुविधा, विकासका पूर्वाधार तथा कार्यक्रमहरु केन्द्रित योजना तर्जुमा गर्दा सही विवरण चाहिने भएकाले विवरण दिँदा कुनै फरक नपर्ने सङ्घका अध्यक्ष व्याञ्जुको भनाइ छ ।

उहाँले एउटै व्यक्तिको दोहोरो गणना हुन सक्ने भएकाले जो जहाँ छ त्यहीँबाट विवरण टिप्न/टिपाउन भनिएकाले तथ्याङ्कलाई मिथ्याङ्क नबनाउन घरमुलीको मुख्य भूमिका रहने समेत बताउनुभयो । जनगणनामा खटिएका गणकलाई अक्सर बसोबास रहेको ठाउँ अर्थात जो जहाँ बसेको छ, त्यहीँबाट विवरण टिप्न भनिएको छ । मूल घरदेखि टाढा, जो सहर बजारमा अस्थायी रुपमा बस्दै आएका छन्, उनीहरुले अहिले बस्दै आएको ठाउँबाट विवरण दिनुपर्ने हुन्छ ।

जनगणना प्रयोजनका लागि एकै घरका मानिस पनि छुट्टाछुट्टै ठाउँमा बस्दै आएका छन् भने त्यसलाई अलग परिवारका रुपमा मानिएको छ । घरधनीबाट सही विवरण लिन सम्बन्धित पालिकाको भूमिका मुख्य रहेको र त्यसैअनुसार पालिकामा सचेतनाका काम भइरहेको पनि नेपाल नगरपालिका सङ्घका अध्यक्ष व्याञ्जुले बताउनुभयो ।

सरकारले १२ औं राष्ट्रिय जनगणना सहज रूपमा भइरहेको जनाएको छ । पूरै परिवारका सदस्य विदेशमा भए छुट्न सक्ने, डेरामा बस्नेहरु नभेटिने तथा घरमुली पनि बाहिर हुँदा विवरण लिन कठिन हुने अवस्थातर्फ सजग रहेको तथ्याङ्क विभागले जनाएको छ ।

सहरमा उत्तरदाता नभेटिनु मुख्य चुनौती रहेको तर गणकलाई कसैगरी पनि नछुटाउन निर्देशन दिएको तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले बताउनुभयो । घरमुली जुन समयमा भेटिनु हुन्छ बुझेर बिहान/बेलुका पुगेर भए पनि विवरण लिन निर्देशन दिएको उहाँले बताउनुभयो ।

कोही पनि छुट्न नहुने र कोही दोहोरिन नदिन अनुगमन भइरहेको विभागले जनाएको छ । जनगणनाको मुख्य चरणमा अहिले व्यक्ति गणना भइरहेको छ । सही तथ्याङ्क लिने उद्देश्यले देशभर ४० हजार गणक घर–घरमा पुगेर जनगणना गरिरहेका छन् । नेपालमा हरेक १० वर्षमा जनगणना हुँदै आएको छ ।

गएको कार्तिक २५ गतेदेखि सुरु भएको १२ औँ जनगणनामा व्यक्तिको विवरण सङ्कलन यही मंसिर ९ गतेसम्म चल्नेछ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया