नेपाल खेलकुदकाे विकासमा पछि पर्नुपर्ने कुनै कारण छैन : केपी ओली

 मंसिर ५, २०७८ आइतबार १९:१२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सबै प्रकारका खेलकुदकाे विकासका लागि अनुकूल भूगोल भएको देश भएको बताउनुभएको छ । 

अध्यक्ष ओलीले भूगोल, प्रकृति अनुकूल भएकाले नेपाल खेलकुद क्षेत्रको विकासमा पछि पर्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको हो । पार्टी निकट नेपाल खेलकुद महासङ्घले आज आइतवार काठमाण्डाैमा आयोजना गरेको ‘खेल नीति सम्मेलन’ मा बोल्दै उहाँले खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शनका लागि धेरै भन्दा धेरै अभ्यास गर्न पनि आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले नेकपा एमालेले लिएको खेलकुद नीति सही, व्यावहारिक र उन्नतस्तरको हुनुपर्ने बताउनुभयो । एमालेले बनाउने हरेक नीतिमा सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले एमालेले हरेक क्षेत्रको विकासका लागि सही नीति लिएको दाबीसमेत गर्नुभयो । उहाँले नीति सही भए पनि त्यसको कार्यान्वयन नहुँदा ‘पुस्तकमा भएको विद्या र अर्काको हातमा भएको धन परेको बेला काम लाग्दैन’ भन्ने संस्कृतिको उखानजस्तो हुन पुग्नेतर्फ पनि सचेत गराउनुभयो ।

अध्यक्ष ओलीले खेलका तरिका र शिक्षालाई पनि अभ्यासमा लगिएन भने काम नलाग्ने भन्दै खेलाडीहरूलाई अभ्यास खेलमा ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो भूगोल र प्रकृति सबै खेल– इन्डोर्स गेम, आउटडोर्स गेम अथवा अरू एडभेन्चर गेम, अलिक जोखिमयुक्त देखिने खालका गेमका लागि अनुकूल भएकाे हुँदा हामी पछाडि पर्नुपर्ने कुनै कारण छैन । हामी सही नीति तय गर्दछौँ । हाम्रा नीति सही, व्यावहारिक र उन्नतस्तरको हुनुपर्दछ । नीति बनायौँ तर सफल कार्यान्वयन गरेनौँ भने, नीति कार्यान्वयनमा सुस्तता देखायौँ भने ती नीतिहरु पुस्तकमा भएको विद्या र अर्काको हातमा भएको धन परेको बेलामा काम लाग्दैन भनेजस्तै हुन्छ ।’

अध्यक्ष ओलीले खेलकुद क्षेत्रका विज्ञहरूसँग परामर्श गरेर खेलकुद क्षेत्रको विकासमा केन्द्रित हुन पनि महासङ्घका पदाधिकारीलाई निर्देशन दिनुभयो । उहाँले खेलाडीहरूको मनोबल बढाउन पनि खेलकुद क्षेत्रका दर्शकहरूको सङ्ख्या बढाउन जोड दिनुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया