गाउँमा भोकमरीको सम्भावना बढेपछि चामल माग्न हुम्लाबाट काठमाण्डौतिर

 मंसिर ६, २०७८ सोमबार ११:५९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

हुम्लाकाे नाम्खा गाउँपालिका

काठमाण्डाै - हुम्लाको नाम्खा गाउँपालिका वडानम्बर ६ का वडाध्यक्ष पाल्जोर तामाङ स्थानीय बासिन्दासँगै पाँच दिन पैदल हिँडेर सिमकोट एअरपोर्ट आइपुग्नु भएको छ ।

गाउँमा भोकमरी हुने भएपछि सरकारसँग हारगुहार गर्न उहाँ स्थानीय बासिन्दाको साथमा हिमाली भेगको कठिन बाटो पार गर्दै सदरमुकाम आइपुग्नुभएको हो । त्यहाँबाट नेपालगञ्ज हुँदै काठमाण्डाै आउन लागेको तामाङले उज्यालोलाई जानकारी दिनुभयो ।

हुम्लाका सांसद छक्कबहादुर लामाको साथमा उहाँ काठमाण्डौ आउन लाग्नुभएको हो ।  टिकट पाए र समयमा नै उडान भए आजै बेलुकी काठमाण्डौ आइपुग्ने वडाध्यक्ष तामाङले बताउनु भयो । ‘आज बेलुकी काठमाण्डौ पुग्न सके भोलि गाउँका समस्यालाई सरकारसमक्ष राख्दै समस्या समाधानका लागि आग्रह गर्नेछौँ ’ उहाँले भन्नुभयाे । 

गाउँमा भोकमरीकाे समस्या हुने सङ्केत देखिएपछि तीन गाउँका स्थानीयको बैठक बसेर वडाध्यक्ष तामाङको नेतृत्वमा ३० जनाको टोली पाँच दिन हिँडेर हिजो हुम्लाको सदरमुकाम सिमकोट आइपुगेको हो । 

तामाङले टेलिफोनमा भन्नुभयो, ‘यहाँ सीडीओलाई भेटेर समस्या सुनायौँ तर, उहाँ उल्टै हामीलाई नै जिल्लाका दुःख सुनाउनुहुन्छ । गाउँमा खाद्यान्नको समस्या रहेको थाहा पाएको छु, तर सदरमुकामको डिपोमा पनि चामल छैन, कहाँबाट पठाउँ भन्नुभयो । अब काठमाण्डौमा पुगेर सम्बन्धित मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई पीडा सुनाउँछौँ, राज्यले आफ्ना नागरिकलाई भोकै राखेर मार्छ कि समस्या समाधान गर्छ भनेर सोध्छौँ । यसपछि हामी गाउँ फर्कन्छौँ र हुम्लाको सदरमुकाम सिमकोटमा छोडेर आएका हाम्रा टोलीलाई सँगै लगेर गाउँ पुग्छौँ ।’ 

उवाको सातु सकिएपछि भोकमरीको चिन्ता 

चीनसँग जोडिएको हुम्लाको अत्यन्तै विकट नाम्खा गाउँपालिकामा आलु र उवा मात्रै उत्पादन हुन्छ । यसबाट यहाँका बासिन्दाले मुस्किलले दुई/तीन महिना कटाउँछन् । नाम्खाको अति विकट गाउँ तिल, जाङ र हल्जीका झण्डै पाँच सय जनसङ्ख्या भोकमरीको चिन्तामा छन्।

हिल्सा नाका पारि आइपुगेको मैदा र चामल हिमपातका कारण नेपाल ल्याउन समस्या भएपछि गाउँमा भोकमरी हुने अवस्था आएको गाउँपालिकाले जनाएको छ । भोकमरीको चपेटामा हल्जीका ९६, जाङका ३० र तिल गाउँका २५ घरधुरी पर्छन् ।

यहाँका बासिन्दाले कोरोना महामारी अघिसम्म चीनको ताक्लाकोटबाट हिल्सा नाका हुँदै मैदा ल्याएर छाक टारेका थिए । हुम्लाका लागि याल्बाङको बिक्री केन्द्रमा पठाउने चामल पनि सरकारले चिनियाँ बाटो हुँदै पठाउने गरेको थियो। रसुवाको केरुङबाट ताक्लाकोट हुँदै हिल्सा नाकाबाट चामल भित्रिन्थ्यो । तर, कोरोना महामारीपछि बन्द गरेको नाका चीनले अहिलेसम्म खोलेकै छैन ।

झण्डै एक महिनाअघि हिल्सा र नाम्खा गाउँपालिकाका लागि चीनले चार हजार छ सय ८० बोरा मैदा र आठ सय बोरा चामल सहयोग गरेको थियो । यसमध्ये नगरपालिकाले एक हजार आठ सय ४६ बोरा मैदा र २० बोरा चामल तिल, जाङ र हल्जी गाउँमा पठाउने निर्णय गरेको थियो । तर यो चामल हिमपातका कारण नाका पारि नै रोकिएको छ । यस्तै गएको वर्ष भने खाद्य बिक्री केन्द्र याल्बाङबाट तीन सय क्विन्टल चामल गाउँमा आएको थियो । त्यसयता भने अहिलेसम्म चामल आएकै छैन ।

अब गाउँमा भोकमरी हुने भयो भन्ने गाउँलेलाई चिन्ता छ । गाउँमा भोकमरी नहोस् भनेर वडाध्यक्षसहितको टोलीले राज्यसँग हारगुहार गर्न लागेको हो।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया