पर्यटकलाई कोसेली बन्दै टोड्केको 'अर्गानिक' मुला

 मंसिर ८, २०७८ बुधबार ११:५०:४० | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – पर्यटकीय क्षेत्र टोड्केमा उत्पादन हुँदै आएको मुला स्थानीयको पहिचान बन्दै गएको छ । हिमालको सम्मुख, चिसो हावापानी, स्थानीय उत्पादन र पर्यटकको रोजाइका कारण स्थानीय जातको मुलाले टोड्केको पहिचान बनाएको हो ।  

उत्तरी म्याग्दीको पर्यटकीय क्षेत्र टोड्के धौलागिरि क्षेत्रमै मुला खेतीका लागि प्रसिद्ध मानिन्छ । जिल्लाको बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सङ्गमस्थलमा अवस्थित टोड्केमा परम्परागत रुपमा स्थानीय जातको मुला लगाउने गरिएको छ । पछिल्लो समय टोड्के पर्यटकीय गन्तव्य बन्दै जान थालेपछि मुला खेती पनि पर्यटककाे आकर्षण बनेको हो ।

टोड्केका स्थानीयबासीले स्थानीय जातको सेतो र रातो रङको मुला लगाउँदै आएका छन् । उनीहरुले आफ्ना बाबु–बाजेको पालादेखि लगाउँदै आएको मुला खेतीलाई अहिले पनि निरन्तरता दिएका हुन् । पाँच घरधुरी बसोबास रहेको टोड्केवासीको मुख्य पेशा मुला तथा आलुखेती रहेको छ । स्थानीयले मुला, आलु, र फापरको साथमा भेडापालन गर्दै आएका छन् । 

टोड्केमा उत्पादित मुलाले स्थानीय पहिचान बनाउनुका साथै पर्यटकका लागि कोसेली समेत बनेको छ । भैंसी र भेडाको मल हालेर उत्पादन गरिने हुँदा लोकल मुला खोज्दै ग्राहकहरु किन्न आउने गरेको स्थानीय महिला उद्यमी तीजमाया पाइजाले बताउनुभयो । उहाँका अनुसार स्थानीयले एक सिजनमा उत्पादित मुला बेचेर झण्डै एकलाख रुपैयाँ आम्दानी गर्दछन् । 

विषादीरहित मुला उत्पादन

देशका कतिपय ठाउँमा विषादीकाे प्रयाेग गरेर तरकारी खेती गरिरहेको बेला टोड्केका स्थानीयले भने विषादीरहित मुला उत्पादन गर्दै आइरहेका छन् । परम्परागत खेती प्रणाली अपनाएर मुला लगाउँदै आएका छन् । भैंसी र भेडाको मलको प्रयोग गर्ने गरेका छन् । हिउँद र वर्षामा गरि वर्षमा दुई पटकसम्म मुला खेती गर्न सकिन्छ । तर टोड्केमा एकै सिजनमा उत्पादित मुला वर्ष दिनसम्म खान पुग्छ ।

आफूहरुले बाजेको पालादेखि नै स्वर्गद्वारीबाट मुलाको बिउ लिएर लगाएको र अहिले पनि ३ रोपनीमा मुला खेती गरेको मुला व्यवसायी समेत रहनुभएकी महिला उद्यमी तीजमाया पाइजाले बताउनुभयो । मुला किन्न आउनेलाई बारीमै ठूलो मुलालाई ५० र सानालाई २५ रुपैयाँका दरले गोटाअनुसार बिक्री वितरण गर्ने गरिएको छ ।

मुलासँगै आलु लगायतका खेतीबालीमा विषादी प्रयोग नगरी अर्गानिक खेती गर्ने गरेको टोड्केवासीको भनाइ छ । विषादी प्रयोग  नगर्दा उत्पादन राम्रो तथा गुणस्तरीय हुने भएकाले अर्गानिक मुलाको खेती गर्ने गरिएको छ । ग्राहकहरु स्थानीय जातको मुला खोज्दै किसानको बारीमा नै पुग्ने गरेका छन् । टोड्केका बारी तथा पाखोमा उत्पादन भएको एउटै मुलाको तौल झण्डै ५ किलो सम्म हुने गरेको मुला व्यवसायीले अनुभव सुनाएका छन् । परम्परागत खेती प्रणालीमा आधारित रहेर प्राङ्गारिक मलको प्रयोग गरेपछि मुलाको तौल बढ्ने गरेको टोड्केका अर्का मुला व्यवसायी मिनबहादुर थजालीले बताउनुभयो ।

जिल्लाकै पहिचान बोकेको टोड्केको मुला खेतीलाई प्रोत्साहन गर्न मुला खेतीमा संलग्न किसानले आफूहरुलाई कृषि औजार, उपकरण र अनुदान सहयोगको माग गरेका छन् । यस्तै कृषि प्रदर्शनी जस्ता कृषिसम्बन्धी विभिन्न कार्यक्रमहरु आयोजना गरेर टोड्केमा उत्पादित मुला, आलु खेतीको प्रचारप्रसार गर्नसके यसबाट अझै मनग्गे आम्दानी गर्न सकिने स्थानीय बताउँछन् ।

यस्तै थोरै मिहनेत गर्ने र समय दिने हो भने मुलाको प्रयोगबाट विभिन्न प्रकारका परिकारहरु बनाउन सकिन्छ । टोड्केका स्थानीयले मुलाबाट जस्तैः धजरा, चाना, सिन्की (गुन्द्रुक) बनाएर राख्ने गर्दछन् । स्थानीयले मुलाबाट यस्तै खालका परिकारहरु बनाइ बिक्री वितरण समेत गर्दै आएका छन् । 

मुलाले पर्यटन प्रवर्द्धन

म्याग्दी सदरमुकाम बेनीदेखि करिब २० किलोमिटर कच्ची सडकबाट पुग्न सकिने टोड्के क्षेत्र पर्यटकीय हिसाबले पनि महत्वपूर्ण गन्तव्यका रुपमा मानिन्छ । टोड्केबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरि हिमालसहित नीलगिरी, अन्नपूर्ण, माछापुच्छ्रेकाे दृश्यावलाेकन गर्न पाइन्छ ।

यस्तै यहाँ उत्पादित अर्गानिक मुलाले स्थानीयस्तरमा पर्यटन प्रवर्द्धन समेत गरेको छ । स्थानीयवासीको लगानीमा टोड्केमा सामुदायिक लज सञ्चालनमा आएपछि त्यहाँ पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरुले मुला र आलु खरिद गर्ने गरेका छन् ।

सामुदायिक लजमा पाहुना भएर बस्न जाने पर्यटकलाई अर्गानिक उत्पादन मुलाको स्वाद चखाउने गरिएको छ । यसका साथै टोड्के क्षेत्रको भ्रमणमा निस्कने पर्यटकहरुमार्फत मुलासहित स्थानीय उत्पादनको पनि प्रवर्द्धन भएको छ । टोड्केमा पुग्ने पाहुना तथा पर्यटकहरुलाई स्थानीयवासीले मुलाबाट बनाएको परिकारहरु अचार, मुलाका चाना, धजरा, सिन्कीलगायत उपहार तथा मायाको चिनो कोसेलीको रुपमा उपहार दिने गर्दछन् ।

अन्नले मुला साट्ने चलन हराउँदै

पहिले पहिले टाेड्केवासीले आफूले लगाएकाे मुलासँग अन्न साँट्ने गर्थे ।  तर पछिल्लाे समय याे चलन हराउँदै जान थालेको छ । टोड्केमा अहिले अन्न लिएर मुला साट्न जाने मानिसहरु भेटिँदैनन् । पहिले मुला लिनका लागि जिल्लाको राखु, अर्थुङ्गे, बेनी, बराङ्जा, अर्मन, रत्नेचौर, दग्नाम, पर्वतको मल्लाज, धाईरिङ र बागलुङ जिल्लाबाट समेत मानिसहरु त्यहाँ पुग्ने गरेका थिए । तर, पछिल्लो समय अन्न लिएर मुला साट्न भनेर पहिले जस्तो ग्राहक जान छाडे पनि टोड्के भ्रमण र लजमा बस्न जानेहरुले खरिद गर्ने गरेका छन् । 

 

अन्तिम अपडेट: चैत ३०, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया