लाइसेन्सको हैरानी उस्तै

 मंसिर ८, २०७८ बुधबार १६:२७:३४ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डाै – भक्तपुरका राजु थिङसँग हलुका सवारीको लाइसेन्स छ । उहाँले हेभीको लाइसेन्स थप गर्नका लागि फर्म भरेको ६ महिना भयो । तर पनि उहाँको ट्रायलको पालो आएको छैन । ६ महिना अगाडि नै फर्म भरे पनि ट्रायलको समय बुझ्न आउँदा दशैँ–तिहार अगाडि ट्रायल खुल्दैन भन्ने जवाफ पाउनुभएको थियो । तर पछि सोधपुछ गर्दा दशैँभन्दा अगाडि नै ट्रायल भइसकेको थिङले थाहा पाउनुभयो । उहाँले समयमा सूचना नपाएका कारण दुई पटक फर्म भर्नुपर्‍याे भने दस्तुर पनि दुई पटक नै तिर्नुपर्‍याे ।  

‘पहिला बुझ्न आउँदा अहिले हुँदैन भने, पछि आउँदा ट्रायल भइसकेछ,’ थिङले भन्नुभयो, ‘मेरो मोबाइल नम्बरदेखि सम्पर्क गर्ने सबै कुरा फर्ममा थियो । तर खबर नगरेका कारण यत्रो दुःख पाउनुपर्‍याे ।’ लाइसेन्स थपका लागि बुझ्न अनि फर्म भर्न गरेर मात्र उहाँ एकान्तकुनाको यातायात कार्यालय धाउन थालेको चार दिन भइसक्याे । दैनिक काम गरेर खानुपर्ने उहाँ यहाँ आएको चार दिनको कमाइको हिसाब गर्दा झन्डै ६ हजार रुपैयाँ खर्च भइसक्यो । ‘दिनका दिन गाडी चलाएर काम गरेर खानुपर्ने मान्छे यसरी एकान्तकुना धाउँदा–धाउँदा खर्च, दुःख र नोक्सान त कति भइसक्यो कति’, उहाँ भन्नुहुन्छ ।

ग्वार्कोका जीवन शाही लाइसेन्स नवीकरण गर्नका लागि लाइन लागेको चार घण्टा हुँदा पनि पालो आएको छैन । हातमा नवीकरणको कागजात बोकेर लाइनमा उभिनुभएका शाहीको आक्रोश छ, ‘एउटा जाबो लाइसेन्सको नवीकरण गर्न त दुई दिन लाग्छ भने अरू के नै काम हुन्छ र देशमा ?’ 

अघिल्लो दिन पनि आएर कोठा खोज्दैमा र कागजात मिलाउँदैमा दिन गएको उहाँको गुनासो छ । ‘यता गयो उता भन्छन्, उता गयो यता हैन भन्छन् । कोठा खोज्दैमा र यताउता गर्दैमा हैरान । कसरी काम हुन्छ ?’, उहाँ भन्दै हुनुहुन्थ्यो, ‘यति सानो काम गर्न त दुई दिन लाग्छ । यत्रा मान्छे लाइनमा छन् । सधैँ भिड देखिन्छ, तर पनि यसलाई सुल्झाउने कुनै उपाय खोजिएको देखिएन ।’ दुई दिन पसल बन्द गरेर आउनुपरेका कारण झन्डै तीन हजार रुपैयाँ नोक्सानी भएको पनि उहाँले बताउनुभयो । 

लाइसेन्स हराएर अर्को लाइसेन्स बनाउन पुग्नुभएका चापागाउँका सुरेश महर्जनलाई पनि कागजात पूरा गर्न एक दिन लाग्यो । लाइनमा चार घण्टा उभिएपछि बल्ल पालो आएर फर्म बुझाएर आएको भन्दै अधकट्टी देखाउँदै उहाँले भन्नुभयो, ‘हराएको लाइसेन्सको फोटोकपी र नागरिकताको फोटोकपी भए पुग्ने ठाउँमा के–के माग्छन्, माग्छन् । यति नम्बरको कोठामा जाउ भन्छन् कोठा खोज्दा खाेज्दै दिन जान्छ ।’ 

गाडीमा आउजाउ, खाजा, पानी तथा शाैचालय गएकोसम्म पैसा तिर्नुपर्दाको खर्च विवरण सुनाउँदै उहाँले भन्नुभयो, ‘यहाँ अफिसमा बस्नेलाई केही मतलब छैन । यसका लागि धाउँदा मात्र मेरो त्यसै दुई हजार रुपैयाँ सकियो ।’ 

यातायात कार्यालयका जुनसुकै शाखामा पनि भिडभाड देखिनु भनेको सामान्य नै हो । यहाँको भिडभाड देख्दा लाग्छ यो कहिले पनि समाधान गर्न नसकिने जटिल समस्या हो । कुनै पनि सामान्य कामका लागि जाने नागरिकको कागजात सबै दुरुस्त भएकाे खण्डमा तीन/चार घण्टा लाम लाग्नु भनेको सामान्यजस्तै हो एकान्तकुनाको कार्यालयमा । 

‘सेवाग्राहीको भिड कम होस् भनेर हामीले काठमाण्डाै उपत्यकामा मात्र चार वटा कार्यालय खोल्यौँ तर त्यसले पनि भिड कम भएन’, यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताउनुभयाे । अहिले यातायात व्यवस्था विभागले बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म अर्थात् कार्यालय समयमा अनलाइन फर्म भर्न नसकिने व्यवस्था गरेको छ ।

प्रवक्ता भुसालका अनुसार कार्यालयमा आउने सेवाग्राहीलाई बायोमेट्रिक अनि लाइसेन्सको परीक्षा लिँदा 'सिस्टम' ढिलो भएका कारण कार्यालयबाट दिने सेवा छिटो र छरितो होस् भनेर यस्तो व्यवस्था गरिएको हो । अहिले बेलुकी ५ बजेदेखि बिहान १० बजेसम्म नयाँ लाइसेन्सको फर्म भर्न सकिन्छ । 

तर, बेलुकी ५ बजेदेखि बिहान १० बजेसम्म पनि अनलाइन फर्म भर्न समस्या छ । कम्प्युटर सफ्टवेयरको प्रयोगले भिड हट्ला भन्ने आशा गरेका नागरिक कहिले सर्भर बिग्रेर अनि कहिले फर्म नै नखुल्दा थप मर्कामा परेका छन् । 

‘पहिले नै प्याक भएका कारण सिस्टमले फर्म लिन मान्दैन’, नयाँ लाइसेन्स बनाउन फर्म भर्न साइबर आउनुएका दिनेश भुजु भन्नुहुन्छ, ‘तर बिचौलियालाई पाँच हजार दियो भने चाहिँ अहिले पनि फर्म लिन्छ र ट्रायलको पालो पनि चाँडै आउँछ ।

सेवा प्रवाहमा समस्या आएकोबारे आफू जानकार रहेको र त्यसलाई हटाउनका लागि प्राविधिक समूहलाई निर्देशन दिएको प्रवक्ता भुसालले बताउनुभयो । 

ट्रायल पास भएर लाइसेन्स लिन १४ महिना कुर्नु सामान्य भएको छ अहिले । अनि लाइसेन्स नभएका कारण ट्राफिक चेकिङमा परेर जरिबाना तिर्नु पर्दाको पीडा बेग्लै छ । 

‘बल्ल–बल्ल फर्म भरेर लाइसेन्स लिइयो, त्यही पनि लिन डेढ वर्षपछि आउनुभन्छ, के भन्नु अब ?’, ललितपुर नखिपोटका नरेश लिम्बुले भन्नुभयो, ‘बल्ल–बल्ल पैसा खुवाएर भए पनि फर्म भरियो । लिखित, ट्रायल पास गर्दा पनि लाइसेन्स पाइँदैन । यो भन्दा दुःखको कुरा के होला र ?’ 

विभागले १४ महिना लाइसेन्स वितरण गर्न नसक्दा अहिले ट्रायल पास भएका ६ लाखभन्दा बढीले लाइसेन्स पाउन सकेका छैनन् । 

‘स्मार्ट कार्ड नभएका कारण लाइसेन्स वितरण गर्न नसकिएको हो । अब फ्रान्सबाट केही दिनमै कार्ड आउनेछ र चाँडै नै सेवाग्राहीलाई लाइसेन्स वितरण गरिन्छ’, प्रवक्ता भुसालले भन्नुभयो । काठमाण्डौ उपत्यकामा चार वटा कार्यालय थप गर्दा पनि सेवाग्राहीको घुइँचो उस्तै रहेको, बिचौलियाको बिगबिगीका बारेमा आफू जानकार रहेको उहाँले बताउनुभयो ।

तर, सङ्घीय सरकार अन्तर्गत रहेको विभागले केवल राष्ट्रिय मापदण्ड, दीर्घकालीन नीति तथा कार्यक्रम मात्र बनाउने र प्रदेश अन्तर्गतका यातायात कार्यालयलाई यातायात सवारी ऐन बनाउन सक्ने सबै अधिकार हस्तान्तरण गरिएको हुनाले अब यस्ता समस्याका बारेमा प्रदेश सरकारले विचार पुर्‍याउनुपर्ने उहाँको भनाइ छ ।

सरकारले बेला–बेला बिचौलिया नियन्त्रण गर्न पक्राउ गर्ने, कारबाही गर्ने अनि छिटो र छरितोका लागि कम्प्युटरको प्रयोग गरे पनि यातायात कार्यालयमा बिचौलियाको बिगबिगी उस्तै छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया