न्यायालयकाे समस्या समाधान गर्न सरकार तयार छ : प्रचण्ड

 मंसिर ८, २०७८ बुधबार १४:४०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले न्यायालयको समस्या समाधानका लागि सरकार तयार रहेको बताउनुभएको छ । 

आज बुधवार सुदूरपश्चिम प्रदेशको कैलाली पुग्नुभएका अध्यक्ष दाहालले सञ्चारकर्मीहरूसँगको कुराकानीमा अदालतमा देखिएको समस्या राम्रो नभएको भन्दै एक स्तरमाथि बढेर समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको हो । उहाँले न्यायालयको समस्यामा गठबन्धनका पाँच दलकाे नै गम्भीर ध्यानाकर्षण भएको भन्दै समस्या समाधान गर्ने बताउनुभयो । अध्यक्ष दाहालले अदालतमा ठूलै समस्या हुन्छ भन्ने कतिपयले कल्पना गरेको भए पनि कुनै ठूलाे समस्या नहुने गठबन्धनलाई लागेकाे बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘न्याय भनेको सामान्यतया एउटा स्वतन्त्र र गरिमामय संस्था हो । मानिसहरूले अन्तिममा गएर न्याय खोज्ने भनेको न्यायालय, अदालतमा गएर नै हो, तर अदालतभित्र अहिले देखिएको समस्या पक्कै पनि राम्रो होइन । त्यस कारण यसमा हामी गठबन्धनका पाँच वटै पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ, यसको छिटो भन्दा छिटो समाधान हुनुपर्छ भन्ने हामी ठान्दछौँ । यो विषय सकेसम्म अदालतले आफैँ सल्ट्याउन सक्दा राम्रो हुन्छ भन्ने कुरासम्म हामीले बोलेका छौँ । आज/भोलिको अवस्था हेरेर फेरि गठबन्धनको बैठक बसेर आवश्यक परेमा एक स्टेप अगाडि बढेर समस्या समाधानका लागि के सहयोग गर्न सकिन्छ त्यतातिर सोचाइ बन्छ, मलाई के विश्वास छ भने केही दिनमा यसले एउटा निकास पाउँछ । यसबाट ठूलै समस्या हुन्छ कि भन्ने कतिपयले कल्पना गरेका छन्, त्यस्तो हुन्छ भन्ने गठबन्धनलाई लागेको छैन ।’

अध्यक्ष दाहालले पाँच दलीय समन्वय समिति बनाउँदा कतिपयले सरकार भन्दामाथि भएको टिप्पणी गरिरहेको भन्दै समन्वय समिति पार्टीहरूबीचको सम्बन्ध सुदृढ बनाउनका लागि मात्र भएको बताउनुभयो । उहाँले गठबन्धनलाई अब आउने चुनावसम्म लैजाने दाबी गर्दै अब राष्ट्रिय सभामा खाली १९ सिटको चुनावमा मिलेर उठ्ने पनि बताउनुभयो । अध्यक्ष दाहालले प्रतिनिधि सभाको र प्रदेश सभाको उपचुनाव भयो भने पनि मिलेर प्रतिस्पर्धा गर्ने बताउनुभयो ।

देशमा तत्काल राजनीतिक अस्थिरता नहुने बताउँदै उहाँले विकास, शिक्षा, स्वास्थ्य, राजनीतिक नियुक्तिदेखि राजदूत नियुक्ति गर्नेसम्मका निर्णयहरू सुदूरपश्चिमका मुख्यमन्त्री र पार्टी इन्चार्जहरूसँग छलफल गरेरमात्र अघि बढाउने बताउनुभयो । उहाँले सुदूरपश्चिम सरकार नढल्ने पनि बताउनुभयो । 

फरक प्रसङ्गमा अध्यक्ष दाहालले राष्ट्रिय सहमतिमा अमेरिकी सहयाेग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) पास गरिने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया