नेपाल–चीन जोड्ने पहिलो अन्तरदेशीय विद्युत् प्रसारण लाइनको रुट परिर्वतन

 मंसिर ८, २०७८ बुधबार १५:१४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

रसुवा – चीनसँगको पहिलो अन्तरदेशीय प्रसारण लाइनको रुट परिर्वतन हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्राविधिकले रुट परिवर्तनका लागि सर्वेक्षणको काम सकाएसँगै रुट परिवर्तन हुने निश्चित भएको छ । सुरुमा वन क्षेत्रबाट निर्माण गर्ने गरी सर्वेक्षण गरिएकोमा लागत बढी लाग्ने र सामग्री ढुवानीमा समस्या हुने भएपछि लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रबाट निर्माण गर्नका लागि सर्वेक्षण गरिएको छ ।  

दुई महिना लगाएर निकुञ्ज क्षेत्रमा सर्वेक्षण गरिएको रातमाटे–रसुवागढी–केरुङ चार सय केभी प्रसारण लाइन आयोजनाले जनाएको छ । १० किलाेमिटर घना जङ्गल र मध्यवर्ती क्षेत्रसमेत गरेर निकुञ्जभित्रको कुल २६ किलाेमिटर बाटो भएर प्रसारण लाइन निर्माण गर्ने गरी सर्वेक्षण गरिएको आयोजना प्रमुख कोमलनाथ आत्रेयले बताउनुभयो । आयोजनाले गरेको अध्ययनअनुसार निकुञ्ज क्षेत्रबाट प्रसारण लाइन बन्दा झन्डै एक अर्ब रुपैयाँ लागत घट्ने छ । यसअघि वन क्षेत्रबाट अध्ययन गरिएको थियो ।

निकुञ्ज क्षेत्रबाट प्रसारण लाइन निर्माण भएमा आयोजनाको लागत, दुरी र टावरको सङ्ख्यासमेत घट्ने उहाँले बताउनुभयो । ६ वर्षमा निर्माण सम्पन्न हुने गरी अघि बढाइएको आयोजनामा झन्डै १० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

वन क्षेत्रबाट निर्माण गरिएकाे भए प्रसारण लाइनकाे दुरी ७० किलोमिटर हुन्थ्याे र जसमा दुई सय १४ वटा टावर निर्माण गर्नुपर्थ्याे । तर निकुञ्ज क्षेत्रबाट निर्माण गर्दा लाइनको दुरी ६५ किलोमिटर हुने भएकाले लागत झन्डै नाै अर्ब रुपैयाँ लाग्नेछ । यस क्षेत्रबाट प्रसारण लाइन निर्माण गर्दा एक सय ७१ वटा टावर निर्माण गरे पुग्छ । 

आयोजनाले सम्भाव्यता अध्ययनको काम सकाएर दुई देशबीच विद्युत् आदानप्रदान गर्नका लागि नेपालतर्फ यसअघि नै 'लोड फ्लो टेस्ट' को काम पनि सकेको छ । आयोजनाले प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) सकिने गरी काम अगाडि बढाएको छ । प्रसारण लाइनको चीनतर्फ तिब्बतमा रहेकाे जिलोङ काउन्टी र नेपालतर्फ नुवाकोटको त्रिशूलीमा सबस्टेशन राखिने आयोजनाले जनाएको छ ।

नेपालतर्फ चार सय केभी डबल सर्किट र चीनतर्फ पाँच सय केभी डबल सर्किट लाइन हुने आयोजनाले जनाएको छ । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया