एमालेको महाधिवेशनमा ७२ कलाकार एकैपटक नाच्न मिल्ने भव्य मञ्च

 मंसिर १०, २०७८ शुक्रबार ७:६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन हुने ठाउँ चितवनको नारायणी नदी किनारमा भव्य मञ्च तयार पारिएको छ । १६ फिट अग्लो मञ्चमा चार खण्ड रहेका छन् ।

माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य, दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम, तेस्रो खण्डमा केन्द्रीय सदस्य र चौथो खण्डमा पोडियम रहनेछ । मञ्च आठ फिट अग्लो, ३० फिट लामो र ४० फिट फराकिलो बनेको मञ्च निर्माणको नेतृत्व गरेका एमालेका केन्द्रीय सदस्य विनोद श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार नारायणी नदीको पुलबाट र गैँडाकोटतर्फको नदी किनारबाट समेत हेर्न मिल्नेगरी मञ्च बनाइएको छ । अति विशिष्ट अतिथि, स्थायी कमिटी, केन्द्रीय सदस्य गरी पाँच सयजना अट्ने मञ्च तयार पारिएको छ । पश्चिमतिर फर्केको मञ्चमा विशिष्ट अतिथिसहित पार्टीका स्थायी कमिटी बस्नेछन् भने उत्तरतर्फ फर्किएको अर्को मञ्चमा केन्द्रीय सदस्य रहनेछन् । बीच भागमा ७२ जना कलाकारले एकैपटक प्रस्तुति दिन सक्ने क्षमताको मञ्च बनाइएको श्रेष्ठको भनाइ छ ।

मञ्चको अगाडिपट्टि सञ्चारकर्मी र अतिथिका लागि ठूलो भाग छुट्याइएको छ । सहभागीका लागि चितवनतर्फको नारायणी नदी किनारमा मात्र अपुग हुन सक्ने भएकाले पारिपट्टि नवलपुरको गैँडाकोट क्षेत्रमा पनि ठूलो स्क्रिन राखिएको छ ।

साथै, कार्यक्रमस्थलमा पनि विभिन्न ठाउँमा मञ्चको दृश्य हेर्न मिल्ने स्क्रिनको व्यवस्था गरिएको छ । उद्घाटनस्थल नजिकै विभिन्न ठाउँमा सेल्फी प्वाइन्ट बनाइएका छन् भने एमालेले महाधिवेशनमा प्रयोग गरेको गैँडाको मस्कट पनि बनाइएको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया