एमाले महाधिवेशन : उद्घाटनस्थलमा चहलपहल बढ्दै, विभिन्न ठाउँबाट र्‍याली सुरु

 मंसिर १०, २०७८ शुक्रबार ११:३८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनारमा नेता कार्यकर्ताको चहलपहल बढेको छ ।

मञ्चमा नेताहरु बस्न थालिसकेका छन् भने मञ्च अघिल्तिर पनि कार्यकर्ताको घुइँचो बढेको छ । चितवनका विभिन्न ठाउँबाट जुलुस सुरु भएको छ । जुलुस उद्घाटनस्थलमा पुगेपछि सभा सुरु हुने एमालेले जनाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ।  

महाधिवेशनको उद्घाटन हुने ठाउँ चितवनको नारायणी नदी किनारमा भव्य मञ्च तयार पारिएको छ । १६ फिट अग्लो मञ्चमा चार खण्ड रहेका छन् । माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य, दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम, तेस्रो खण्डमा केन्द्रीय सदस्य र चौथो खण्डमा पोडियम रहनेछ ।

मञ्च आठ फिट अग्लो, ३० फिट लामो र ४० फिट फराकिलो बनेको मञ्च निर्माणको नेतृत्व गरेका एमालेका केन्द्रीय सदस्य विनोद श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार नारायणी नदीको पुलबाट र गैँडाकोटतर्फको नदी किनारबाट समेत हेर्न मिल्ने गरी मञ्च बनाइएको छ ।

अति विशिष्ट अतिथि, स्थायी कमिटी, केन्द्रीय सदस्य गरी पाँच सयजना अट्ने मञ्च तयार पारिएको छ । पश्चिमतिर फर्केको मञ्चमा विशिष्ट अतिथिसहित पार्टीका स्थायी कमिटी बस्नेछन् भने उत्तरतर्फ फर्किएको अर्को मञ्चमा केन्द्रीय सदस्य रहनेछन् । बीच भागमा ७२ जना कलाकारले एकैपटक प्रस्तुति दिन सक्ने क्षमताको मञ्च बनाइएको श्रेष्ठको भनाइ छ । 

मञ्चको अगाडिपट्टि सञ्चारकर्मी र अतिथिका लागि ठूलो भाग छुट्याइएको छ । सहभागीका लागि चितवनतर्फको नारायणी नदी किनारमा मात्र अपुग हुन सक्ने भएकाले पारिपट्टि नवलपुरको गैँडाकोट क्षेत्रमा पनि ठूलो स्क्रिन राखिएको छ । साथै, कार्यक्रमस्थलमा पनि विभिन्न ठाउँमा मञ्चको दृश्य हेर्न मिल्ने स्क्रिनको व्यवस्था गरिएको छ । 

उद्घाटनस्थल नजिकै विभिन्न ठाउँमा सेल्फी प्वाइन्ट बनाइएका छन् भने एमालेले महाधिवेशनमा प्रयोग गरेको गैँडाको मस्कट पनि बनाइएको छ । एमालेको महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु सहभागी हुने भएका छन्।

चितवनमा आज हुने उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा जाने निश्चित भएको छ । एमालेका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सहभागी हुनेछन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निम्ता दिइए पनि उहाँ नजाने हुनुभएको छ। आज प्रचण्डको अर्को कार्यक्रम भएकाले एमाले महाधिवेशनमा उहाँ सहभागी नहुने माओवादीले जनाएको छ । एमालेले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई भने निम्तो दिएको छैन ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया