सबै खालका परिवर्तन माओवादीकै एजेन्डा हाे : जनार्दन शर्मा

 मंसिर १०, २०७८ शुक्रबार १८:१७:३६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख जनार्दन शर्मा प्रभाकरले देश माओवादीकै एजेन्डामा आएको बताउनुभएको छ । नेपाल सरकारका अर्थमन्त्रीसमेत रहनुभएका शर्माले सबै खालका सकारात्मक परिवर्तन माओवादीको एजेन्डा भएकाले परिवर्तनको वाहक पार्टी माओवादीमात्रै भएको दाबी गर्नुभयो । 

अर्थमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला रुकुम पश्चिम आउनुभएका शर्माले आज शुक्रवार जिल्लाका विभिन्न पालिकामा आयोजना गरिएका माओवादी केन्द्रका गाउँ तथा नगरपालिकास्तरीय सम्मेलनको उद्घाटन गर्नुहुँदै यस्तो बताउनुभएको हो । 

शर्माले आज रुकुम पश्चिमकाे त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाको सम्मेलनको उद्घाटन गर्नुभयो । उद्घाटन सत्रमा अर्थमन्त्री शर्माले संविधानले दिएका अधिकार कार्यान्वयन गर्न लागिपरेको तर विभिन्न तत्त्वहरूले माओवादीलाई कमजोर पार्न खाेजेको बताउनुभयो । 

उहाँले श्रम, उत्पादन र रोजगार तथा सामाजिक, सांस्कृतिक रूपान्तरण अभियानमार्फत नागरिककाे जनजीविका सरल बनाउन सकिने भएकाले त्यसतर्फ कार्ययोजना बनाउनसमेत अनुरोध गर्नुभयो । 

नागरिकसँग गरिएका वाचा पूरा गर्न आफू लागिपरेको बताउनुहुँदै शर्माले आफूले कहीँ कतै बाटो बिराएमा, गल्ती गरेमा नागरिकले खबरदारी गर्नुपर्ने बताउनुभयो । शर्माले आफू आफ्नो कारणले अर्थमन्त्री नभएर नागरिककाे तागतले भएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया