जनगणनाका १३ अनुभव : चार गणकलाई कुकुरले टाेक्याे, दुई जनाकाे खुट्टा भाँचियाे

 मंसिर १०, २०७८ शुक्रबार २०:१०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य हिजाे बिहीवारदेखि सम्पन भएको छ । गएकाे कात्तिक २५ देखि सुरु भएको 'फिल्ड' को कार्य सकिएर अब तथ्याङ्क प्रशोधन सुरु गर्ने चरणमा गएको तथ्याङ्क विभागले जनाएको छ । यस पटकको जनसङ्ख्या झन्डै तीन करोड नजिक पुग्ने प्रारम्भिक अनुमान गरिएको तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिनुभयो । आउँदो पुसदेखि जनगणनाको विवरण प्रशोधन सुरु गरी झन्डै तीन महिनामा प्रारम्भिक नतिजा तथा एक वर्षपछि अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी प्रक्रिया अघि बढेको जनाइएको छ । 

यसपालिको तथ्याङ्क सङ्कलनमा डिजिटल प्रविधिको प्रयोग, सामुदायिक प्रश्नावलीबाट वडा तहसम्मको आधारभूत विवरण सङ्कलन, विदेशमा रहेका कुटनीतिक नियोगमा इसेन्सस् विधिबाट गणना गरिएको र त्यसका लागि पहिलेका भन्दा एक तह माथिको शैक्षिक योग्यता भएका स्थानीय बेरोजगार युवाको सङ्लग्नता रहनु प्रमुख विशेषता भएको विभागले जनाएको छ । 

गणनाका १३ अनुभव 

जनगणनाका सन्दर्भमा अवलोकन गरिएका उल्लेखनीय विषयलाई विभागले बुँदागतरूपमा सार्वजनिक पनि गरेको छ । तेह्र बुँदामा समावेश भएको याे निष्कर्षअनुसार गणक दोलखाको विगु गाउँपालिका १ मा रहेकाे चीनकाे बोर्डरमा रहेको लप्ची गाउँमा पुग्न तीन दिन लागेकाले जङ्गलमा दुई रात बास बस्नुपरेको तथा पहाडको ढुङ्गा खोपेर बनाएको बाटोमा डोरी समातेर हिँड्नुपरेको जनाइएको छ । 

बाग्लुङको ढोरपाटन नगरपालिका ९ मा कायत जातिको बसोवास रहेकोमा २०६८ सालको जनगणनामा त्याे जाति अलगरूपमा उल्लेख नभएको र अहिलेकाे गणना त्याे जाति नआउने हो भने जनगणना भाग नलिने भनी केही समय जनगणना प्रभावित भएको जनाइएको छ । जिल्ला जनगणना कार्यालयले सम्बन्धित समुदायसँग छलफल गरी समस्या समाधान गरी जनगणना गरेको र कायत जाति कायम गर्न विभागमा जानकारी गराउने मौखिक सहमति भएको छ । 

दार्चुलाको व्यास गाउँपालिका १ छाङ्गरु तिङ्कर बस्ती पुग्न नेपालतर्फ बाटो नभएको र भारतको बाटो भएर एक दिनमा पुग्न सकिने भएकाले भारत सरकारका स्थानीय प्रतिनिधिमार्फत त्याे क्षेत्रमा जान सहमति माग गर्दा पनि सहमति प्राप्त नभएकाले जनगणनामा समस्या भएको थियो । विभागले सहायक जनगणना अधिकारी खगेन्द्र कार्कीसहित तीन गणक त्याे ठाउँमा जान नसकेपछि अन्य दुई गणकले तीन दिन लगाएर त्याे क्षेत्रमा पुगी जनगणना सम्पन्न गरेको उल्लेख गरेको छ । उनीहरूलाई सेनाको हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएको थियो ।

गणकले गलत विवरण टिपेको र विभिन्न अभियन्ताले सामाजिक सञ्जाल तथा प्रत्यक्षरूपमा गलत प्रचारप्रसार र गणकलाई विवरण टिपाउन दबाब दिएको सम्बन्धमा विभागको गम्भीर ध्यानाकर्षण भएको र गणकले उत्तरदाताले भनेको विवरण टिप्न र अभियन्ताले गलत प्रकारले दबाब नदिन प्रेस विज्ञप्तिमार्फत अनुरोध गरिएको थियो । यसै सन्दर्भमा आदिवासी जनजाति आयोगमा तथ्याङ्क सङ्कलनका क्रममा उठेका विवादका सम्बन्धसमेतमा छलफल भइ आयोगले सत्य/तथ्य विवरण टिप्न टिपाउन अनुरोध गरेको जनाइएको छ । 

विभागले जनगणना गर्ने क्रममा कैलालीमा एक सुपरिवेक्षक, धादिङ र रसुवामा क्रमशः एक/एक गणकको ज्यान भएको, चार जना गणकलाई कुकुरले टोकेको र दुई जनाको खुट्टा भाँचिएको जानकारी गराएको छ । केही गणकलाई कोभिड–१९ सङ्क्रमणसमेत भएको थियो । विभागले ज्यान गएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना प्रकट गरेको छ । घाइतेको स्वास्थ्य लाभको कामना पनि गरिएको छ । उनीहरूका सन्दर्भमा सरकारको तर्फबाट बीमा गरिएको र क्षतिपूर्तीको व्यवस्था बमोजिम सहजीकरणको कार्य भइरहेको विभागका सूचना अधिकारी तीर्थराज चौलागाईँले जानकारी दिनुभएको छ । 

नेपालमा हरेक १०/१० वर्षमा राष्ट्रिय जनगणना हुने गरेको छ । नेपालमा पहिलो जनगणना एक सय नाै वर्षअघि विसं १९६८ मा चन्द्रशम्शेर राणा प्रधानमन्त्री भएका बेला सुरु भएको थियो । यो क्रम अहिले अझै वैज्ञानिक रूपमा सञ्चालन भइरहेको छ । विसं २०६८ को जनगणनाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ६५ लाख थियो । ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित सुरु यसपालिको जनगणनामा ८० प्रश्न समावेश थियो । जनगणना गर्न ४० हजार गणक र आठ हजार पाँच सय सुपरिवेक्षक खटाइएको थियो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया