किसानकाे खातामा हरेक दिन पैसा आउने दिन आयो : अर्थमन्त्री शर्मा

 मंसिर १०, २०७८ शुक्रबार २०:२८:१८ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिममा डेरी प्लान्टकाे शिलान्यास गर्नुहुँदै अर्थमन्त्री शर्मा

रुकुम पश्चिम – अर्थमन्त्री जनार्दन शर्माले किसानको खातामा हरेक दिन पैसा आउने दिन आएको बताउनुभएको छ । आज शुक्रवार रुकुम पश्चिमको मुसिकोट नगरपालिका १२ नम्वर वडामा डेरी प्लान्ट (दूध उद्योग) को शिलान्यास गर्नुहुँदै अर्थमन्त्री शर्माले समाजको समृद्धि कृषि क्रान्ति र उत्पादनको माध्यमबाट हुने बताउनुभयो ।   

स्यार्पु पावर कम्पनी लिमिटेड अन्तर्गतको स्यार्पु कृषि कम्पनी लिमिटेडको २३ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको यस उद्योगको शिलान्यास गर्नुहुँदै अर्थमन्त्री शर्माले कृषिमार्फत आर्थिक गतिविधिलाई चलायमान बनाउन उद्योग सफल साबित हुने बताउनुभयो । 

‘कृषि उत्पादनलाई प्रोत्साहन गरिनुपर्छ’, उहाँले भन्नुभयो, ‘उद्योग छिटै सञ्चालनमा आउनेछ र किसानको हातहातमा पैसा जानेछ’ । मन्त्री शर्माले हरेक किसानकाे घरमा उन्नत गाईभैँसी पालन हुने र उत्पादन भएको दूध प्रशोधन गरेर मुनाफा किसानलाई नै दिने बताउनुभयो ।   

स्यार्पु पावर कम्पनीका प्रमुख प्रदीप ओलीले उद्योगमा प्रति दिन ४० हजार लिटर दूध प्रशोधन गरिने लक्ष्य राखेको बताउनुभयो । उहाँले ३६ हजार लिटर दूधको छुर्पी बनाएर विदेश निर्यात गरिने र चार हजार लिटरको फ्लेबर मिल्ड बनाएर बजारीकरण गरिने बताउनुभयो । 

भवन निर्माणको पहिलो चरणको काम गर्ने गरी ठेक्का पाएको हिमालयन कुँवर जेभीले ६ महिनामा काम सक्ने जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया