एमाले महाधिवेशन आचारसंहिता : जाँडरक्सीलाई पूर्ण निषेध, प्यानल बनाएर प्रचार गर्न पनि नपाइने

 मंसिर ११, २०७८ शनिबार ११:७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेले दशौँ महाधिवेशनको लागि आचारसंहिता बनाएको छ । एमालेको केन्द्रीय निर्वाचन समितिले जारी गरेको आचारसंहिता अनुसार महाधिवेशन स्थल र वरपर जाँडरक्सी र धुम्रपान सेवनमा कडाइ गरिएको छ ।

निर्वाचन क्षेत्रभित्र कुनै पनि प्रकारको धुम्रपान, मद्यपान र लागुऔषध सेवन गर्न नपाइने, भ्रम सृजना हुने र निर्वाचनमा अवरोध हुने कार्य गर्न नपाइने, मतदानमा जान वञ्चित गराउने क्रियाकलाप गर्न नहुने आचारसंहितामा उल्लेख छ । 

यस्तै नेपाल सरकारका वा प्रदेश सरकारका मन्त्रीहरू, पूर्व मन्त्रीहरु, राजनीतिक नियुक्ति पाएका व्यक्तिहरू, जनप्रतिनिधिमूलक निकायमा निर्वाचित वा मनोनित पदाधिकारीहरू, पार्टीका उपल्लो निकायमा रहेका नेता समेतले निर्वाचन कार्यलाई प्रभावित गर्ने उद्देश्यले पदीय हैसियतको दुरूपयोग हुनेगरी उम्मेदवारको पक्ष वा विपक्षमा मतदान गर्ने कार्यका लागि कसैलाई प्रभावमा पार्न वा प्रभावित पार्ने उद्देश्यले कुनै कार्य गर्न पाइने छैन ।

मतदान कार्य सुरू भएदेखि मतदान केन्द्रभित्र मतदानको काम सम्पन्न नहुँदासम्मका लागि निर्वाचन प्रचार–प्रसार हुने गरी सामान्य भिजिट कार्ड आकारको पर्चा आकारका भन्दा बाहेक अन्य कुनै पनि प्रकारको प्रचार सामग्री प्रदर्शन गर्न, प्रचार सामग्रीहरू (पर्चा, पोष्टर, पम्प्लेट, ब्यानर) प्रयोग गर्न, बाँड्न तथा कुनै पनि प्रकारले प्रचार–प्रसार गर्न, गराउन तथा सभा–जुलुस गर्न गराउन, समूहगत रुपमा छुट्टै भेला बैठक गर्न/गराउन पाइने छैन ।

यस्तै,  कुनै धर्म, सम्प्रदाय, जातजाति, लिङ्ग, भाषा, समुदाय वा क्षेत्रीय आधारमा घृणा फैलाउने, द्वेष उत्पन्न हुने वा सद्भाव खलबलिने गरी वा कुनै साम्प्रदायिक भावना फैलाउने गरी मत माग्न वा प्रचार प्रसार गर्न वा गराउन पाइने छैन ।

आचारसंहितामा उम्मेदवार तथा मतदाताहरूले व्यक्तिगत आधारमा बाहेक समूहगत आधारमा प्रचार–प्रसार गर्न, प्रचार सामग्री प्रकाशन तथा वितरण गर्न, मत माग्न, नामावली बाँड्न पाइने छैन । यस्तै, समूहगत आधारमा उम्मेदवारको नामावली लेखिएको वा छापिएको सामग्रीहरू हेरी मतदान गर्न पूर्णतः निषेध गरिएको आयोगले जनाएको छ ।

यस्तै, मतदातालाई प्रभावित गर्ने उद्देश्यले भोजभतेरको आयोजना गर्न गराउन र जाँड रक्सी खाएर प्रचार–प्रसार गर्नु/गराउन पाइने छैन । स्वतन्त्र रूपमा आफ्नो अभिमत व्यक्त गर्ने मतदानको अधिकारको संरक्षण गर्ने सन्दर्भमा सत्य, तथ्य र पूर्वाग्रहरहित सूचना सम्प्रेषणमा जोड दिनु पर्नेछ । मतदातालाई भ्रममा पर्ने गरी निर्वाचन सम्बन्धी वा उम्मेदवार सम्बन्धी कुनै पनि सूचना प्रकाशन र प्रचार—प्रसार गर्न पाइने छैन ।

ज्याकेट, टिसर्ट, ट्रयाकसुट, डटपेन, टोपी, झोला, डायरी, लकेट, व्यक्तिको चरित्र हत्या हुनेखालको सामग्री, बोर्ड, तुल–व्यानर, ब्रुसर, गम्छा लगायतका निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि सामग्रीहरु वितरण गर्न नपाइने पनि आयोगले जनाएको छ । 

आचारसंहिता उल्लङ्घन भएको उजुरी उपर केन्द्रीय निर्वाचन आयोगले आवश्यक छानबिन गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको पाइएमा त्यस्तो उल्लङ्घन सच्याउन निर्वाचन आयोगले सम्बन्धित व्यक्तिलाई आवश्यक निर्देशन दिन सक्नेछ

यस्तै निर्वाचन आयोगले दिएको निर्देशन पालना नगर्ने व्यक्तिलाई सचेत गराउने, निर्वाचन स्थलबाट हटाउने, निर्वाचनमा उम्मेदवारी वा मतदाताको सूचीबाट नाम हटाउने वा रद्द गर्ने सम्मको कारबाही केन्द्रीय निर्वाचन आयोगले गर्न सक्ने आचारसंहितामा उल्लेख छ ।

आचारसंहिता :

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया