जावलाखेलमा 'कुकर कफी' !

 मंसिर १३, २०७८ सोमबार १८:१:१९ | वैद्यनाथ पाैडेल
unn.prixa.net

कफीको परम्परागत सूचीमा नअटाएको एउटा विशुद्ध नेपालीपनको कफी, ‘कुकर कफी’ । कुकर कफी चाख्नुभएको छैन भने ललितपुरको जावलाखेलमा गएर यसको स्वाद लिन सक्नुहुन्छ ।

जावलाखेल चोकबाट पश्चिमतर्फ केही अघि बढेपछि झण्डै तीन सय मिटरको दुरीमा कफी पारखीको अनौठो भिड देखिन्छ । सेन्ट जेभियर्स स्कुल र चिडियाखानाको पर्खालबीचको सडक पेटीमा मार्बल राखिएको एउटा टेबलमाथि कुकरको अनौठो सिट्ठी सुसाइरहेको सुनिन्छ । यही सुसाइरहेको कुकरमा कफी बनाइरहेको अवस्थामा भेटिनुहुन्छ आरएन अधिकारी र अनिश पौडेल । 

पहिले उहाँहरु सिनामंगलको होटलमा सँगै काम गर्नुहुन्थ्यो । काम गर्ने सिलसिलमा आफ्नै काम गरौँ भनेर दुई जनाबीच छलफल भएर सुरु भएको हो कुकर कफी । उहाँहरुले यहाँ कुकर कफी सुरु गरेको दुई हप्ता मात्रै भयो । तर, पनि ग्राहकको राम्रै भिड छ । 

चिडियाखानाको पर्खालसँगै जोडिएको सडक पेटीमा एउटा सानो मन्दिर छ । त्यहाँ पिपलको रुख पनि छ । पिपलको रुखलाई गोलो घेरा बनाएर प्लास्टर गरिएको छ । त्यही प्लास्टरमाथि ग्राहक बस्ने मकैको खोस्टाको झण्डै आठ/नौ वटा गोलो चकटी छ । त्यही चकटीमा बसेर ग्राहकहरु कफी पिइरहेका देखिन्छन् । चकटीमा बस्न नरुचाउनेका लागि मुढा पनि छ । 

कुकर कफीका लागि पहिले प्रेसर कुकरमा पानी राखेर पकाइन्छ । कुकर कफीका लागि प्रेसर कुकरलाई रुपान्तरण गरी कफी बनाउन सानो पाइप जडान गरिएको छ । त्यस पाइपबाट बाफ आउँछ, बाफ घटबढ गर्ने सानो ह्यान्डल पनि छ । 

पाइपलाई चिनी, कफी र दूध रहेको अर्को स्टिलको जगमा राखेर डुबाइन्छ जसले गर्दा दूध तात्ने र फिँज आउने गर्छ । अनि फिँजसहित तयार कफी कपमा राखिन्छ । तयार भएको कफीको फिँजमा धुलो छर्कँदै अधिकारीले भन्नुभयो, ‘यो चकलेटको धुलो हो । फिँज मात्रै नमिठो हुने हुँदा चकलेटको धुलो हालिएको हो ।’ 

ठूलो काठको टेबल । टेबलमाथि कालो, सेतो मिसिएको मार्बल अनि त्यस मार्बलमाथि ग्यास स्टोभ, स्टोभमा सुसाइरहेको प्रेसर कुकर । अनि नेसक्याफेको ठूलो प्याकेट, चकलेट पाउडरको बट्टा, चिनी राख्ने बट्टा तथा कागजका कफी कप र कफी राख्ने सानो एउटा किस्ती । सँगै एक बाल्टिन दूधको प्याकेट पनि । सामान्यतः हेर्दा यस्तै देखिन्छ उहाँहरुको लगानी । 

‘ठ्याक्कै यति भन्ने त छैन तर, ७०/८० हजार रुपैयाँ जति लगानी भएको होला’, दूधको प्याकेट च्यात्दै अधिकारीले उत्तर फर्काउनुभयो । 

कफी भन्नेबित्तिकै हाम्रो दिमागमा एस्प्रेसो, क्यापिचिनो, लाटे, मोचा, अमेरिकानो आदि आउँछन् । ‘कफीको परम्परागत स्वादभन्दा फरक स्वादको छ कुकर कफी’, कफी पिउँदै भक्तपुर जगातीका राधेश्याम जोन्छेले भन्नुभयो, ‘यो नेपाली स्वादको छ र ताजापन महसुस हुन्छ ।’ 

कुकर कफी बनाउनका लागि अधिकारीले एक हप्ता बुटवलमा काम पनि गर्नुभयो । बुटवलका कुकर कफी एकदमै लोकप्रिय छन् । काठमाण्डौको बागबजार, सिनामंगल लगायतका ठाउँमा पनि कुकर कफी खुलेको छ । तर, ललितपुरमा भने आफूले थाहा पाएसम्म यो नै पहिलो भएको पनि अधिकारीले बताउनुभयो । 

दैनिक एक सय २० देखि एक सय ५० कपसम्म कुकर कफी बिक्री हुने गरेको अधिकारी बताउनुहुन्छ । ‘दैनिक झण्डै पाँच, छ हजार रुपैयाँको कारोबार हुन्छ । टिकटक र फेसबुकमा देखेर पनि धेरै खोज्दै आउने गरेका छन्’, अधिकारीले भन्नुभयो’, एक कप कफीको पचास रुपैयाँ लिने गरेका छौँ’ ।

कफी खान आउनेले मिठो छ, राम्रो छ भनेर भन्दा हौसला मिलेको अधिकारी बताउनुहुन्छ । अहिले बसेको ठाउँ सफा र अलि एकान्त जस्तो भएका कारण पनि रोजाइमा परेको रहेछ अधिकारीको । 

पहिले यहाँ बस्दा किन, कहाँबाट भनेर नगरपालिका तथा प्रहरीले सोधपुछ गरे पनि सफा सुग्घर राख्छौँ भनेपछि सहमत भएको अधिकारीले बताउनुभयो । 

दैनिक पचास प्याकेट दूध, आठ सय रुपैयाँ बराबरको कफी खपत हुने र बट्टाको पाँच सय रुपैयाँ पर्ने एक बट्टा चकलेट पाउडरले तीन दिन पुग्ने उहाँले सुनाउनुभयो । 

‘अहिले पासपोर्ट बनाएर मलेसिया र कतार जान दलाललाई पैसा बुझाउन युवाहरु लाइन लागेको देख्दा नेपालमा नै केही नयाँ गरौँ र यहाँ नै कमाइ राम्रो छ भनेर हामी यसमा लागेका हाैँ’, अधिकारी र पौडेलको एउटै स्वर थियो । कुनै पनि कुरा नयाँ तरिकाले गर्दा त्यसबाट राम्रो कमाइ हुने र सफल पनि भइने अधिकारीको अनुभव छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया