सान्जेन र रसुवागढी जलविद्युत् आयोजनाको काम छिटाे सक्न विद्युत् प्राधिकरणको ताकेता

 मंसिर १३, २०७८ सोमबार १६:९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२ दशमलव ५ मेगावाटको सान्जेन र १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको काम छिटाे सक्न ताकेता गरेको छ ।

नागरिककाे जलविद्युत् कार्यक्रमअन्तर्गत सर्वसाधारणको पनि लगानीमा निर्माण भइरहेका आयोजनाहरू सम्पन्न हुन ढिलाइ भएपछि प्राधिकरणले आफ्नो तथा सहायक कम्पनीको समेत लगानी रहेका आयोजनाहरूकाे काम जतिसक्दो छिटाे सम्पन्न गर्न पहल गरेको हो ।

भूकम्प, भारतीय सीमामा भएको अवरोधले निर्माण सामग्री तथा उपकरणको ढुवानीमा कठिनाइ, कठिन भौगोलिक अवस्था, ठेक्का कार्यान्वयनमा देखिएका जटिलता तथा ठेकेदारको कमजोर कार्यसम्पादन, बाढी–पहिरो, कोभिड–१९ को महामारी लगायतका कारणले आयोजनाहरूको निर्माण प्रभावित हुँदै आएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थलको अनुगमनमार्फत आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदारहरू, परामर्शदातासँग छलफल गरी बाँकी रहेका काम छिटाे सम्पन्न गर्न निर्देशन दिनुभएको छ । चिलिमेको प्रबन्ध–सञ्चालक हुँदा घिसिङले तीन वटै आयोजनाको वित्तीय व्यवस्थापन गरी एकसाथ काम अगाडि बढाउनुभएको थियो ।

‘मुख्य सिभिल संरचनाहरूको निर्माण सम्पन्न भइसकेका छन्, सर्वसाधारणको पनि लगानी रहेको आयोजनाहरूको निर्माण यथाशक्य छिटाे सम्पन्न गरी लगानीकर्तालाई प्रतिफल दिनुपर्छ’, घिसिङले भन्नुभयो, ‘बाँकी रहेका काम समानान्तर रूपमा अगाडि बढाएर सात/आठ महिनाभित्रमा सम्पन्न गर्नुपर्छ ।’

माथिल्लो सान्जेनको बाँध, बालुवा थिग्य्राउने पोखरी, सुरुङलगायतका सिभिल संरचनाको निर्माण र गेट, पेनस्टक पाइपजस्ता हाइड्रोमेकानिकल उपकरण जडान सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण प्रगति ९१ प्रतिशत छ ।

माथिल्लो सान्जेनको क्यासकेडको रूपमा रहेको सान्जेनको सुरुङ, सर्जट्याङ खन्ने कार्य सम्पन्न भइ त्यसलाई अन्तिम रूप दिने काम भइरहेको छ । विद्युत् गृहका उपकरण रहने संरचनाहरूको निर्माण सम्पन्न भइसकेको छ । सान्जेनको समग्र निर्माण प्रगति ८३ प्रतिशत छ ।

दुवै आयोजनाका इलेक्ट्रोमेकानिकल उपकरणको उत्पादन, जडान, परीक्षण सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिकहरू चीनबाट आउन नसक्दा काम प्रभावित भएको छ । निरन्तरको प्रयासपछि चिनियाँ प्राविधिकहरू भाेलि नेपाल आउन लागेका र त्यसपछि चिनियाँ तथा नेपाली प्राविधिकहरूले उपकरण जडान सुरु गर्नेछन् । प्रसारण लाइनको टावर निर्माण भइसकेका छन् भने तार टाँग्न बाँकी छ ।

रसुवागढी जलविद्युत् आयोजनाको मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणको ठेकेदारले आफ्नो काम आउँदाे चैतभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । इलेक्ट्रोमेकानिकलको ठेकेदारका कारण आयोजनाको निर्माण प्रभावित भएको हो । इलेक्ट्रोमेकानिकलका ९९ प्रतिशत उपकरण आयोजना स्थलमा आइसकेका छन् भने अहिले जडान कार्य भइरहेको छ ।

‘इलेक्ट्रोमेकानिकलको ठेकेदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएको छ, उपकरण जडानका लागि ठाउँको अभाव छैन, कामदार थपेर सबै ठाउँमा समानान्तर रूपमा काम गरी आठ/नाै महिनाभित्र सक्नुहोस्, ठेकेदारले बेहाेरिरहेको समस्या समाधानका लागि हामी सहजीकरण गर्नेछौँ’, घिसिङले भन्नुभयाे । 

तीन वटै आयोजनाको विद्युत् निर्माणाधीन २२० केभीको चिलिमे हब सबस्टेशनमा जोडिने छ । चिलिमे र त्रिशूली थ्री बी हब सबस्टेशन र चिलिमे–त्रिशूली थ्री बी हब सबस्टेशनको निर्माण आउँदाे असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यही प्रसारण लाइनमार्फत आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया