एमालेका यसअघिका महाधिवेशन : यस्तो थियो प्रतिस्पर्धा र नेतृत्व

 मंसिर १४, २०७८ मंगलबार ८:२२:४१ | वैद्यनाथ पाैडेल
unn.prixa.net

नेपाल कम्युनिस्ट पार्टीले २०१९ सालमा सुरु गरेको महाधिवेशन नै अहिलेको धेरैजसो  कम्युनिस्ट पार्टीको महाधिवेशनको निरन्तरता हो । 

यसमा कम्युनिस्ट पार्टीको टुटफुट, एकता, नयाँ पार्टी गठन अनि पार्टी भूमिगत भएको अवस्थामा महाधिवेशन गर्न नसकेका कारण अहिले भएका कम्युनिस्ट पार्टीको महाधिवेशनको क्रमाङ्क फरक पर्न गएको हो । 

एमालेले आफ्नो दशौँ महाधिवेशन गर्दै गर्दा अरु कम्युनिस्ट पार्टी भने पछि छन् । अन्य कम्युनिस्ट पार्टीको तुलनामा राष्ट्रिय जनमोर्चा र नेकपा मसाल (मोहन विक्रम सिंह), माओवादी (विप्लव) अङ्कमा अगाडि देखिन्छन् । यी तीनवटै पार्टीले आठौँ महाधिवेशन गरेका छन् । 

माओवादी केन्द्र, नेकपा माओवादी (मोहन वैद्य), माले (सीपी मैनाली), नेमकिपा (नारायणमान विजुक्छे) ले सातौँ महाधिवेशन गरेका छन् । पुष्पलाल श्रेष्ठको नेतृत्वमा रहेको नेकपाले २०१० साल माघ १३ गतेदेखि १७ गतेसम्म पाटनमा पहिलो राष्ट्रिय महाधिवेशन गरेको थियो । त्यस महाधिवेशनबाट मनमोहन अधिकारी महासचिवमा निर्वाचित हुनुभएको थियो ।

२००६ सालमा गठन भएको नेकपा २००८ देखि २०१३ सालसम्म प्रतिबन्धित भयो । प्रतिबन्धित अवस्थामै  पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो । २०१४ साल जेठ १५ गतेदेखि २५ गतेसम्म काठमाण्डौको फोहोरा दरबारमा दोस्रो महाधिवेशन सम्पन्न भयो । महाधिवेशनबाट नीतिप्रति फरक मत राख्ने केशरजङ्ग रायमाझी महासचिवमा निर्वाचित हुनुभयो । त्यस महाधिवेशनमा पुष्पलालको नीति पारित भएको थियो । 

नेतृत्वमा नीतिप्रति फरक मत राख्ने रायमाझी निर्वाचित भएपछि नेकपामा विवादको शृङ्खला सुरु भयो । त्यसै समयमा राजा महेन्द्रले पञ्चायत व्यवस्थासँगै पार्टीहरुमाथि प्रतिबन्ध लगाउनु भयो । 

राजाले चालेको कदमका विषयमा भिन्न मत देखियो । रायमाझी राजाका पक्षमा देखिनुभयो । यसै सन्दर्भमा रहेर भारतको बनारसमा २०१९ साल वैशाख ४ गतेदेखि १५ गतेसम्म तेस्रो महाधिवेशन सम्पन्न भयो । 

पुष्पलाल, मनमोहन अधिकारी, मोहन विक्रम सिंह पक्षले गरेको महाधिवेशनमा तुल्सीलाल अमात्य महासचिवमा निर्वाचित हुनुभयो । त्यसपछि भने नेकपामा विभाजनको अनन्त शृङ्खला नै सुरु भयो । 

२०३५ सालमा झापा विद्रोह गर्ने तत्कालीन झापा जिल्ला कमिटी, क्रान्तिकारी कम्युनिस्ट सङ्गठन मोरङ, पूर्वको रातो झण्डा, पश्चिमको रातो झण्डा लगायतका समूह मिलेर गठन भएको नेकपा माले नै अहिलेको एमालेको धार हो । 

२०१९ सालपछि पार्टीले २०४६ भदौमा चौथो महाधिवेशन गर्यो । चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव हुनुभएको थियो । २०४६ सालको जनआन्दोलनको समाप्तिपछि आन्दोलनमा सहभागी संयुक्त वाममोर्चाका नेकपा माले र माक्सवादीकाे २०४७ साल पुस २२ गते एकतापछि अहिलेको एमाले बन्यो । 

एकतापछि यसअघि महासचिवको नेतृत्व रहने गरेको कम्युनिस्ट पार्टीमा अध्यक्ष पदको सिर्जना गरियो । त्यसबेला अब एमालेले कम्युनिस्ट धार छोड्यो अनि कम्युनिस्ट पार्टी रहेन एमाले भन्ने व्यापक चर्चासमेत भएको थियो । 

त्यसबेला मनमोहन अधिकारीलाई पार्टी अध्यक्ष बनाइयो । जुन सेरेमोनियल पद थियो । भण्डारी महासचिव बन्नुभयो जुन कार्यकारी पद थियो । एकतापछि एमालेले २०४९ साल माघ १४ देखि २० गतेसम्म काठमाण्डौमा पाँचौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्यो । 

महासचिव भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद  (जबज) पारित भयो । त्यस महाधिवेशनपछि पनि अधिकारी र भण्डारी नै अध्यक्ष र महासचिव बन्नुभयो । 

२०५० साल जेठ ३ गतेको दासढुङ्गा दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन भएपछि माधव नेपाललाई महासचिव बनाइयो । महाकाली सन्धि लगायतका विषयमा पार्टीमा स्पष्ट दुई धार रहेको अवस्थामा नेपालगञ्जमा २०५४ साल माघ १२ गतेदेखि १८ गतेसम्म एमालेको छैटौँ महाधिवेशन सम्पन्न भयो । त्यस महाधिवेशनमा वामदेव गौतमले ‘वर्तमान परिस्थितिमा हाम्रो कार्यनीति’ नामको फरक मत प्रस्तुत गर्नुभएको थियो । 

मतदान हुँदा उहाँको प्रस्तावको पक्षमा २४४ मत परेको थियो । ५९८ मतसहित महासचिव नेपालको राजनीतिक प्रतिवेदन पास भएको थियो । महाधिवेशनमा १० जना तटस्थ बसेका थिए ।
‘विकृति र विसङ्गतिको विरुद्ध सङ्घर्ष गरौँ, विचारधारात्मक रुपले पार्टीलाई एकताबद्ध पारौँ’ भन्ने नाराका साथ सम्पन्न महाधिवेशनमा मनमोहन अधिकारी अध्यक्ष र माधव नेपाल महासचिव रहेको केन्द्रीय कमिटी निर्वाचित भयो । तर, नाराले मात्र पार्टीलाई एकताबद्ध गर्न सकेन ।

वामदेव गौतमको नेतृत्वमा पार्टी विभाजित भयो । विभाजित भएर जानेमध्येको ठूलो हिस्सा सातौँ महाधिवेशनअघि फेरि एमालेमा नै फर्कियो ।२०५९ साल माघ १८ गतेदेखि २२ गतेसम्म जनकपुरमा एमालेको सातौँ महाधिवेशन सम्पन्न भयो । 

‘प्रजातन्त्र शान्ति र समग्र विकास, प्रतिगमनको विरुद्धमा अग्रगामी निकास’ भन्ने नाराका साथ सम्पन्न महाधिवेशनमा चार वटा प्रस्ताव प्रस्तुत भएको थियो । चार वटा प्रस्ताव पेस भए पनि महासचिव माधवकुमार नेपालको ‘राजनीतिक सङ्गठनात्मक प्रतिवेदन’ बाहेकको अन्य प्रस्तावमाथि छलफल नै भएन । 

अशोक राई, भरतमोहन अधिकारी, साहना प्रधान, माधव नेपाल, मोदनाथ प्रश्रित, प्रदीप नेपाल, वामदेव गौतम, केपी शर्मा ओली लगायतको केन्द्रीय कमिटीमा राईले सर्वाधिक मत प्राप्त गर्नुभएको थियो । 

२०६५ साल फागुन ५ गतेदेखि १४ गतेसम्म बुटवलमा आठौँ महाधिवेशन सम्पन्न भयो । मनमोेहन अधिकारीको निधनपछि प्रयोग गर्न छाडिएको अध्यक्ष पदलाई आठौँ महाधिवेशनमा पुनः ब्यूँताइयो । आठौँ महाधिवेशनपछि पार्टीलाई बहुपदीय प्रणालीमा लगियो । महाधिवेशनमा अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव र तीन सचिवका लागि प्रतिस्पर्धा भएको थियो । 

अध्यक्षका दुई प्रतिस्पर्धी झलनाथ खनाल र केपी शर्मा ओलीमा खनालले ९१३ मत ल्याएर विजयी हुनुभएको थियो भने ओलीले ७९६ मत मात्रै पाउनुभएको थियो । आठौँ महाधिवेशनपछि झलनाथ खनालले एमालेको पहिलो कार्यकारी अध्यक्ष बन्ने अवसर प्राप्त गर्नुभएको थियो । 

उपाध्यक्षमा अशोक राई, वामदेव गौतम र विद्या भण्डारी निर्वाचित हुनुभएको थियो । महासचिवमा ईश्वर पोखरेलले प्रदीप नेपाललाई पराजित गर्नुभएको थियो । सचिवमा भने विष्णु पौडेल, शङ्कर पोखरेल र युवराज ज्ञवाली निर्वाचित हुनुभएको थियो । सचिवको उम्मेदवार बनेका रामचन्द्र झा, राजेन्द्र श्रेष्ठ र रघुवीर महासेठ पराजित हुनुभएको थियो । 

एमालेको नवौँ महाधिवेशन २०७१ साल असार १९ गतेदेखि साउन १ गतेसम्म काठमाण्डौमा सम्पन्न भयो । नवाैँ महाधिवेशनमा गुटको आधारमा प्यानल बनाएर चुनाव लड्न पाउने व्यवस्था थियो । 

महाधिवेशनमा अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, पाँच सचिवका लागि चुनाव भएको थियो । चुनावमा केपी शर्मा ओली तथा माधव नेपालबीच अध्यक्षका लागि प्रतिस्पर्धा भएको थियो । नेपालले एक हजार तीन मत पाउनुभएको थियो भने ओली एक हजार ४७ मत ल्याएर विजयी हुनुभएको थियो । 

उपाध्यक्षमा ओली प्यानलबाट वामदेव गौतम, विद्या भण्डारी तथा माधव नेपाल प्यानलबाट भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य निर्वाचित हुनुभएको थियो । महासचिवमा ओली प्यानलबाट ईश्वर पोखरेलले एक हजार ३६ मत पाएर विजयी हुनुभएको थियो । उपमहासचिवमा ओली प्यानलबाट विष्णु पौडेल र नेपाल प्यानलबाट घनश्याम भुसाल निर्वाचित हुनुभएको थियो । 

सचिवमा ओली प्यानलबाट प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, नेपाल प्यानलबाट गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य निर्वाचित हुनुभएको थियो । दशौँ महाधिवेशनअघि भने नेकपा एमाले विभाजित भएको छ । नवौँ महाधिवेशनमा झिनो मतले हार्नु भएका माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको छ । 

एमालेबाट माधव नेपाल समूह गएको भदौमा बाहिरिएपछि अध्यक्ष ओली अत्यन्तै बलियो देखिनु भएको छ । पार्टीमा ओलीको अर्को विकल्प नरहेको जस्तो पनि देखिन्छ । चितवनमा भइरहेको दशौँ महाधिवेशनमा सर्वसम्मत नेतृत्वका लागि अध्यक्ष ओली निकै प्रयास गरे पनि सफल हुन सकेन । उहाँ नेता भीम रावलसँग प्रतिस्पर्धा गर्न बाध्य हुनुभयो ।

दशौँ महाधिवेशनमा एमालेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, महासचिव, उपमहासचिव, सात सचिव गरी पन्ध्र जना निर्वाचित पदाधिकारी रहने व्यवस्था प्रथम विधान महाधिवेशनले गरेको थियो । भने १५ जना पदाधिकारीसहित दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी हुने निर्णय पनि विधान महाधिवेशनले गरेको थियो । 

तर, पनि पदका आकाङ्क्षी धेरै भएको र सर्वसम्मत गर्नका लागि विधान महाधिवेशनको निर्णयलाई उल्ट्याउँदै दशौँ महाधिवेशनले १९ सदस्यीय पदाधिकारी तथा तीन सय एक जना केन्द्रीय कमिटी हुने व्यवस्था गरेको छ । 

पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल तथा उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध हुनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया