राप्रपा महाधिवेशन : चुनावी प्रक्रिया सुरु हुँदै, दिउँसो १२ बजेसम्म उम्मेदवारी दर्ताको समय

 मंसिर १६, २०७८ बिहीबार ८:१४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु हुँदैछ ।

हिजो उद्घाटन सत्र सकिएलगत्तै महाधिवेशनको बन्दसत्र सुरु भएको हो । पार्टी अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा छन् ।

बन्द सत्रमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र, अध्यक्ष पशुपति शम्शेर राणाले सामाजिक कार्यपत्र र अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले आर्थिक कार्यपत्र पेस गर्नुभएको छ ।

महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना लगभग टरिसकेको भए पनि सहमतिको प्रयास गरिने नेताहरूले बताएका छन् । अहिले ९ देखि दिउँसो १२ बजेसम्म उम्मेदवारी दर्ताको समय राखिएको छ ।

उम्मेदवारको प्रथम नामावली दिउँसो २ बजे प्रकाशित गरिने छ । उम्मेदवारीमाथि दाबी विरोध र फिर्ताको समय दिउँसो २ बजेदेखि ४ बजेसम्म तोकिएको निर्वाचन समितिले जनाएको छ ।

बेलुका ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ भने भोलि  बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय राखिएको छ । त्यसपछि मतगणना सुरू हुने छ ।  हिजोदेखि सुरु भएकाे महाधिवेशनमा देशभरिबाट झण्डै ४५ सय प्रतिनिधि सहभागी छन् । राप्रपा नेता मोहन श्रेष्ठकाअनुसार महाधिवेशनबाट पारित विधान अनुसार अब राप्रपाको केन्द्रीय समिति १९९ सदस्यीय हुनेछ ।

यस्तै, महाधिवेशनले गाउँ/नगर, जिल्ला, प्रदेश तथा केन्द्र सबै तहको नेतृत्वमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था पारित गरेको विधान संशोधन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया