एमालेले जनमत किन टिकाउन सकेन ? यसबारे आत्मसमीक्षा गर्नुपर्छ : उपाध्यक्ष ज्ञवाली

 मंसिर १६, २०७८ बिहिबार १५:५२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एमाले) का नवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो पार्टीप्रति नागरिककाे आकर्षण निरन्तर बढ्दो रहेको दाबी गर्नुभएकाे छ । उपाध्यक्ष ज्ञवालीले १० औँ राष्ट्रिय महाधिवेशन भव्य रूपमा सम्पन्न भएको पनि बताउनुभयाे ।  

आज (बिहीवार) काठमाण्डाैमा भएकाे एक कार्यक्रममा बाेल्दै उहाँले आउँदाे चुनावपछि एमाले नै पहिलाे दल बन्ने र बहुमत ल्याउने दाबी गर्नुभयाे । उपाध्यक्ष ज्ञवालीले भन्नुभयाे, ‘नेपालको इतिहासमा यति धेरै जनसहभागिता कुनै पनि पार्टीको कार्यक्रममा भएको थिएन । मैले सबै दलका महाधिवेशन, अधिवेशन, आमसभा हेरेको छु, यस पटकको हाम्रो महाधिवेशनमा पाँच लाख नागरिक सहभागी गराउने योजना थियो तर त्योभन्दा पनि धेरै नागरिककाे उपस्थितिमा हाम्रो कार्यक्रम सम्पन्न भयो । एमालेप्रति नागरिककाे आकर्षण निरन्तर बढ्दो छ । जनसहभागिताकाे हिसाबले १० औँ महाधिवेशन ऐतिहासिक भयो । इतिहासमै कुनै एउटा पार्टीले यत्रो जनसमुदायको उपस्थितिमा कार्यक्रम गरेको थिएन । अहिले पनि एमाले संसदमा सबैभन्दा ठूलो पार्टी छ । आउने दिनमा पनि यो पार्टीले बहुमत ल्याउने कुरा स्थापित भइसकेको छ । यो कुरा चितवनको जनसभाले पुष्टि भयो ।’

कार्यक्रममा बाेल्दै उहाँले फेरि पनि वामपन्थीहरूबीच एकता आवश्यकत्ता रहेको बताउनुभयाे । उपाध्यक्ष ज्ञवालीले भन्नुभयाे, ‘एमाले सामु चुनौती छन्, एउटा पार्टी फुटेर तीन टुक्रा भयो । एमाले पनि फुटेको छ । हामीले सरकार पाँच वर्ष चलाउन सकेनौँ । अहिले कांग्रेसको नेतृत्वमा सरकार बनेको छ । हामीले कमी कमजोरी कहाँ रह्यो भनेर समीक्षा गर्नुपर्छ । हामीले विचार, प्रवृत्ति, सोच, दृष्टिकोणलाई समीक्षा गर्न जरुरी छ । पार्टीलाई एकताबद्ध बनाउनुपर्छ । मैले आफ्नो तर्फबाट सक्दो भूमिका निर्वाह गर्छु । फेरि पनि वामपन्थीबीच एकता आवश्यक छ। हामीले नेकपाको एकता बचाउन सकेनौँ । अब एकले अर्कालाई आरोपित गरेर मात्रै हुँदैन । अब एउटा नेतालाई मात्रै दोष दिएर हुँदैन । एकता बचाउन नसक्नुमा सबैको दोष छ । जनमत किन टिकाउन सकेनौँ ? भनेर आत्मसमीक्षा गर्नुपर्छ । विगतका कुरामा आरोपित गर्नु हुँदैन । फेरि पनि वामपन्थी र कम्युनिस्टहरूबीचकाे एकता आवश्यक छ । सबै पार्टीका नेता/कार्यकर्ताले सकारात्मक रूपले सोच्नुपर्छ ।’ 

उपाध्यक्ष ज्ञवालीले नेपालको राजनीतिमा एमालेले मुख्य भूमिका निर्वाह गर्नुपर्ने भएकाले आफूहरू त्यहीअनुसार तयारीका साथ अघि बढेको पनि सुनाउनुभयाे । उहाँले भन्नुभयाे, ‘अहिले पनि जनमत एमालेको पक्षमा रहेको छ । एमालेसँग दुई तिहाइको बहुमतको सरकार सञ्चालन गरेको अनुभव छ । विगतको सकारात्मक र नकारात्मक अनुभवबाट शिक्षा लिएर एमालेले देश हाँक्ने गरी आफ्नो योजना, नीति र कार्यक्रम प्रस्तुत गरिसकेको छ । अब पार्टीलाई अझै सशक्त, एकताबद्ध र सुदृढ रूपमा अघि बढाउनुपर्छ । हामीले लडेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र छ, यो ऐतिहासिक उपलब्धिलाई जोगाउने, बचाउने र लोकतन्त्रलाई अझै सुदृढ बनाउनुपर्छ । एमालेले सबै लोकतान्त्रिक पार्टीसँग मित्रतापूर्वक सम्बन्ध राखेको छ । फरक विचारप्रति सहिष्णु हुनुपर्छ । यो एक नम्बर पार्टी बन्नुपर्छ । कसैलाई गालीगलौज गर्नुहुँदैन । अन्तरविरोध चर्काउने होइन, सबैलाई मिलाएर लैजानुपर्छ । यो महाधिवेशनमा कतिपय छुटेकालाई १० प्रतिशत मनोनिततर्फ ल्याउँछौँ । आउनैपर्ने साथीहरू आउनुहुन्छ। नेतृत्वले गम्भीर रूपमा ध्यान पुर्‍याउनेछ ।’ 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया