प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

 मंसिर १७, २०७८ शुक्रबार ११:२८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । कोभिड-१९ को सङ्क्रमण पछि गएको सोमवार सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भएका प्रधानन्यायाधीश जबरा आज  बिहान साढे ९ बजे डिस्चार्ज भएका अस्पतालले जनाएको छ ।

निमोनिया समेत भए पछि उहाँ अस्पताल भर्ना हुनु भएको थियो । उहाँ अस्पताल भर्ना भए पछि सर्वोच्च अदालतमा न्यायिक सम्पादन कार्य प्रभावित हुँदै आएका छन् । प्रधानन्यायाधीश जबराले आफू बिरामी हुँदा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी अरुलाई नदिँदा  न्याय सम्पादनका काम प्रभावित भएको हो ।

सत्ता गठबन्धनले प्रधानन्यायाधीश जबरालाई बिदामा बसेर कार्यवाहक तोक्न सुझाव दिए पनि उहाँले त्यो प्रस्ताव अस्वीकार गर्नु भएको थियो । जबराले मङ्गलवार अदालत उपस्थित नै नभइ अस्पतालबाटै पेसी तोकेपछि रुष्ट बनेका कानुन व्यवसायीले बुधवार बहस बहिष्कार गरेका थिए ।

गोलाप्रथाबाट पेसी तोकिएको पहिलो दिन नै धेरैजसो मुद्दाको सुनुवाइ भएन । कानुन व्यवसायीले न्यायालयको नेतृत्व नै खाली भएको गम्भीर सवाल उठाएपछि हिजो न्यायाधीशहरू इजलास छाडेर छलफलमा बसेका थिए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया