हेटौँडाको हुप्राचौरमा 'भ्यु–टावर' सहितकाे १३ तले भवन बन्ने

 मंसिर २०, २०७८ सोमबार २०:२९:२९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौँडा उपमहानगरपालिका ४ हुप्राचौरमा १३ तलाको बहुउद्देश्यीय भवन निर्माण गर्नका लागि आज साेमवार सम्झौता गरिएको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँ र लामा–रसुवा–बानियाँ जेभीका सञ्चालक ऋषि बानियाँका बीचमा सम्झौतामा आज हस्ताक्षर गरिएको हो ।

७७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागत अनुमान गरेर ठेक्का आह्वान गरिएकोमा ४७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागतमा लामा–रसुवा–बानियाँ जेभीले ठेक्का सकार गरेर आज सम्झौता गरिएको हो । 

हेटौँडामा सबैभन्दा धेरै लगानीमा हेटौँडाको बसपार्कमा बस टर्मिनल, थाना भर्‍याङमा तरकारी थोक बजार र आज सम्झौता गरिएको बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको मेयर हरिबहादुर महतले बताउनुभयो । 

उपमहानगरपालिकाको ठूलो लगानी भएका तीन वटा भवनमध्ये दुई वटाको काम भइरहेको छ । अर्को बहुउद्देश्यीय भवनकाे भने आज सम्झौता गरिएको मेयर महतले जानकारी दिनुभयो । तरकारी थोक बजार प्रदेश सरकार र उपमहानगरपालिकाको लगानीमा निर्माण गरिएको हो भने अरू दुई वटा भवन उपमहानगरपालिकाले आफ्नै लगानीमा निर्माण गर्न लागेको उहाँले बताउनुभयो ।

१३ तले भवनमा दुई तलाको अन्डरग्राउन्ड, चारैतिर लिफ्ट, दुई वटा भर्‍याङ, सबैभन्दा माथि भ्यु–टावर निर्माण गरिने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँले बताउनुभयो । व्यापारिक भवनको सबैभन्दा माथि भ्यु–टावरबाट हेटौँडा र आसपासको क्षेत्र सहज रूपमा हेर्न सकिने छ । 

तीन वर्षमा काम सक्ने गरी याे भवनकाे ठेक्का दिइएको उपमहानगरपालिकाका योजना महाशाखाका प्रमुख सत्यनारायण साहले बताउनुभयो । उपमहानगरपालिकाबाट लिएको काममा गुणस्तर कायम गर्दै समयमा नै सकाउने लामा–रसुवा–बानियाँ जेभीका सञ्चालक ऋषि बानियाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया