कांग्रेसमा इतर समूहलाई साझा उम्मेदवार बनाउनु पर्ने दबाब, पर्ख र हेरको रणनीतिमा देउवा

 मंसिर २३, २०७८ बिहिबार ७:२१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक बिहान साढे ११ बजे  पार्टीको केन्द्रीय कार्यालयमा बस्ने छ ।

बैठकमा भोलिदेखि सुरु हुने पार्टीको १४ औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

यस्तै,  सभापतिको साझा उम्मेदवार तय गर्न कांग्रेसको संस्थापन इतर समूहको बैठक आज पनि बस्दै छ । हिजो नेता प्रकाशमान सिंहको निवास चाक्सिबारीमा बसेको बैठकमा सभापतिको आकाङ्क्षीबीच कुरा मिल्न नसक्दा सहमति हुन  सकेको  थिएन ।

आज बेलुकासम्म साझा उम्मेदवार चयन गर्ने यो समूहका नेताहरुले बताएका छन् । कांग्रेसको संस्थापन इतर समूहमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, पूर्वमहामन्त्री सिंह र नेता डा. शेखर कोइराला सभापतिको आकाङ्क्षी हुनुहुन्छ ।

हिजो शेखर कोइराला र प्रकाशमान सिंहले अडान नछाडेपछि आपसमा सहमति गर्न नसकेको र आफूलाई पनि नेतृत्वमा स्वीकार नगरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीबाटै अलग हुने चेतावनी दिनु भएको थियो ।

पार्टी र सत्ताको केन्द्रमा रहेका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिहरूको अङ्कगणितमा समेत बलियो बनेपछि यो समूहलाई देउवाविरुद्ध साझा उम्मेदवार बनाउन दबाब बढेको छ । देउवा भने संस्थापनबाहेक समूहबाट साझा उम्मेदवार तय हुने वा नहुने आधारमा आफ्नो टिम घोषणा गर्ने रणनीतिमा हुनुहुन्छ। 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया