मोन्टी देसाईको कार्यकाल सकियो, क्यानले दियो धन्यवाद
माघ १९, २०८१ शनिबार
बाग्लुङ – आईएमई ग्रुपको लगानीमा बाग्लुङ बजारमा इला कम्फोर्ट लक्जरी होटल सञ्चालनमा आएको छ । इला कम्फोर्ट होटलमा कालीगण्डकी कोरिडोर तथा मध्यपहाडी लोकमार्ग हुँदै गण्डकी क्षेत्र तथा बाग्लुङका पर्यटकीय स्थल भ्रमण गर्ने पर्यटक तथा अन्य पाहुनाका लागि गुणस्तरीय सेवा सुविधा उपलब्ध हुने आईएमई ग्रुपले जनाएकाे छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हिजाे बाग्लुङमा आयोजित एक कार्यक्रमका बीच इला कम्फोर्ट होटलको सेवा सञ्चालनको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा मन्त्री पाण्डेले आईएमई ग्रुपले पर्यटन पूर्वाधारका क्षेत्रमा गरेको लगानीले देशकै पर्यटन उद्योगमा सकारात्मक प्रभाव पारेको बताउनुभयो । उहाँले नेपालको आर्थिक समृद्धिको भविष्य पर्यटनमै रहेको र यसको प्रवर्द्धन गर्न सरकार दृढ रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले आईएमई ग्रुपले देशभर पर्यटन पूर्वाधार विकासमा गरेको लगानीको चर्चा गर्दै गण्डकी प्रदेशमा थप लगानीका लागि आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, ‘अध्यक्ष ढकालले देशका ७ वटै प्रदेशसहित विभिन्न ठाउँमा पर्यटन पूर्वाधार विकासमा लगानी गर्दै हुनुहुन्छ । कुनै कुनै ठाउँमा केही अवरोध भएको सुनिएको छ । यदि त्यस्तो हो भने तपाईं आफ्नो लगानी लिएर हाम्रो गण्डकी प्रदेशमा आउनुस् । हामी गण्डकीका नागरिक थप पर्यटकीय पूर्वाधार निर्माण गर्न तपाईंलाई स्वागत गर्दछौँ ।’
आईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बाग्लुङमा सञ्चालनमा ल्याएको यो होटलले यस क्षेत्रको पर्यटन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले देशभित्र लगानी र रोजगारीको वातावरण नहुँदा विदेशिन बाध्य भएका लाखौं नेपालीको भावनालाई समेटेर आफूले देशका ७ वटै प्रदेशमा होटल तथा केबलकारसहितका पर्यटकीय पूर्वाधारमा लगानी केन्द्रित गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पर्यटन र जलविद्युत् क्षेत्रमा भएको लगानीले अर्थतन्त्र तथा नागरिकको जीवनस्तर सुधारमा बहुआयामिक फाइदा पुर्याउने भएकोले हामीले यी क्षेत्रमा लगानी केन्द्रित गरेका हौँ ।’
कार्यक्रममा सङ्घीय सांसदहरू दीपक गिरि, जीवन परियार, बाग्लुङ नगरपालिकाका मेयर वसन्त श्रेष्ठ र बाग्लुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले बाग्लुङमा होटल सञ्चालनले यहाँको पर्यटन पूर्वाधारमा टेवा पुगेको बताउँदै थप लगानीका लागि आह्वान गर्नुभयो ।
झन्डै ३० करोड रुपैयाँको लगानीमा निर्माण भएकाे यो होटलले बाग्लुङमा स्तरीय आवासका लागि नयाँ मानक स्थापित गर्ने विश्वास आईएमई ग्रुपकाे छ । झन्डै ४ रोपनी जग्गामा फैलिएको इला कम्फोर्ट बाग्लुङमा २७ अतिथि कक्ष, दुई सुन्दर सुइट र एक विशेष पेन्ट हाउससहित ३० वटा आकर्षक ढङ्गले डिजाइन गरिएका कोठा छन् । प्रत्येक आवासलाई परम्परागत आतिथ्यभन्दा नयाँ ढङ्गले असाधारण अनुभव महसूस हुने गरी तयार पारिएको छ ।
इला होटल तथा रिसोर्टका प्रमुख सचिन ढकालले इला होटल्स एन्ड रिसोर्ट केवल नयाँ आतिथ्य ब्रान्ड मात्र नभएर यसले बाग्लुङ बसाइँलाई अविस्मरणीय अनुभवहरूमा रूपान्तरण गर्ने बताउनुभयाे ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट १.५ घण्टाको दूरीमा रहेकाे, पोखरा र बाग्लुङबीच प्रत्येक ३० मिनेटमा नियमित सार्वजनिक गाडी चल्ने भएकोले होटल आन्तरिक र अन्तर्राष्ट्रिय यात्रुका लागि सुविधाजनक पहुँचमा रहेको आईएमई ग्रुपले जनाएकाे छ ।
इला कम्फर्ट बाग्लुङले इला ब्रान्डको होटल विस्तार रणनीतिको पहिलो चरणको प्रतिनिधित्व गरेको छ । नवलपरासीको गैँडाकोटमामा इला होटल शुरू गर्ने तयारी भइरहेको छ भने नेपालका सातै प्रदेशमा सेवा विस्तार गर्ने योजना छ ।
तस्वीर : राजु सुवेदीकाे फेसबुकबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।