सुनको भाउ आज पनि स्थिर, चाँदीको भाउ कति ?
माघ २१, २०८१ सोमबार
आजभन्दा डेढ सय वर्षअघिसम्म शहरबजारमा चियापसल भेटिनु त परको कुरा, चियाको स्वाद थाहा पाएका नेपालीहरुसमेत भेटिँदैन थिए ।
त्यतिबेला राणाहरुले बल्ल चिया पिउन जानेका थिए । उनीहरुको दरबारमा मात्रै चिया पाक्थ्यो । दरबारमा काम गर्न जानेहरुले चियाको स्वाद थाहा पाएपछि मात्रै बिस्तारै घरघरमा चिया पकाउने चलन शुरू भयो । नेपालमा चिया खेती पनि राणाहरुकै पालामा शुरू भयो । चिया खेती शुरू हुनु पहिले नै नेपालीले चियाको स्वाद पाउन थालेको इतिहास छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रवक्ता तथा निर्देशक डा.दिपक खनालका अनुसार आजभन्दा एकसय ६० वर्षअघि वि.सं. १९२० मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणा चीन भ्रमणमा गएका बेला चिनिया सम्राटले उपहारस्वरूप दिएको चियाको बीउ नेपाल ल्याएको पाइन्छ ।
जङ्गबहादुरले बीउ नेपाल ल्याएर आफ्ना ज्वाइँ इलामका बडाहाकिम गजराज सिंह थापालाई रोप्न आदेश दिए । यसरी नेपालमा पहिलो पटक चियाको बिरुवा उम्रियो— इलाम चिया कमानमा । त्यसको दुई वर्षपछि झापाको समथर फाँटमा सोक्तिम चिया कमान स्थापना भयो ।
इलाम चिया कमान र सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चिया खेती बिस्तार हुँदै गयो । त्यहीबेला भारतको दार्जिलिङमा पनि चिया खेती शुरू भइसकेको थियो । भारतमा चिया खेती फस्टाइरहँदा नेपालमा भने राणा शासनका अगाडि चिया खेती फस्टाउन पाएन ।
वि.सं. २००७ सालमा राणा शासनको अन्त्य भएर प्रजातन्त्र प्राप्ति भएपछि मात्रै चिया खेतीका लागि वातावरण बन्दै गयो । वि.सं. २०१६ मा झापाको रङ्गियाडाँडामा बुधकरण चिया बगानको नाममा नीजि स्तरमा पहिलो चिया बगान स्थापना गरियो ।
सरकारी स्तरमा वि.सं. २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भयो । शुरूवाती चरणमा प्रशोधन कारखानाको अभावमा दार्जिलिङकै कारखानाहरुमा हरियो पत्ती बेच्नु पर्ने बाध्यता थियो । २०३५ सालमा इलाममा र त्यसको केही वर्षपछि झापाको सोक्तिममा प्रशोधन कारखाना खोलियो ।
वि.सं. २०३५ देखि २०४५ को दशकमा नेपाल चिया विकास निगमले साना किसानका पनि चिया खेतीमा लाग्न प्रोत्साहनको कार्यक्रम ल्यायो । त्यसपछि चिया उद्योगले गति लिँदै गयो । वि.सं. २०३९ सालमा झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलामलाई चियाक्षेत्र घोषणा गरियो ।
बोटभन्दा पहिल्यै ओठमा
नेपालमा चिया खेती शुरू भएको झण्डै १ सय ६० वर्ष भइसक्यो । तर, त्यसभन्दा पहिलेदेखि नै नेपालमा चिया पिउने चलन रहेको इतिहास पाइन्छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रवक्ता तथा निर्देशक डा.दीपक खनालका अनुसार जङ्गबहादुर राणाले बेलायत र भारत यात्राका क्रममा त्यहाँका उच्च अधिकारीहरूलाई चिया पिउने परम्परामा देखेँ र आफैँ पनि चाखे । नेपाल फर्किंदा, केही चिया आफूसँगै लिएर आए, जसले दरबारमा चिया पिउने चलनको शुरूवात गर्याे ।
पहिले राणा र राजपरिवारका सदस्यहरूका साथै अन्य धनाढ्य वर्गका व्यक्तिहरूले मात्रै चिया पिउँथे । उनीहरुले विदेश भ्रमणको बेला चियाको स्वाद चाल पाए । त्यसपछि उनीहरुको दरबार र घरमा चिया पाक्न थाल्यो ।
सरकारी कर्मचारी, सङ्गीतकार, कलाकार, पुरोहित र दरबारको हेरचाहको काम गर्नेहरूले पनि चियाको स्वाद चाख्न पाए । दरबारमा चिया पिउने संस्कारको देखासिकी गर्दै उनीहरुले आफ्नो घरमा चिया पिउने चलन शुरू गरे । त्यसपछि उनीहरु छरछिमेक हुँदै देशभर नै चिया पिउने चलन शुरू भयो ।
आजभन्दा पाँच वर्षअघि काठमाण्डौमा आयोजित चियासम्बन्धी कार्यक्रममा डच अन्वेषक तथा भाषाविद् जर्ज भ्यान ड्रिमले दिनुभएको जानकारी अनुसार शुरूमा मानिसलाई चिया पिउने तरिका थाहा थिएन । मानिसहरू चियाका पात चपाएर खान्थे ।
प्राचीनकालमा मानिसहरूले चियाका पातमा लसुन, अदुवा तथा अन्य मरमसला मिसाएर अचारजस्तै बनाएर खान्थे । केही समुदायले त चियाका पातलाई तरकारीजस्तै काटेर खाने चलनसमेत थियो ।
जर्ज भ्यानका अनुसार सत्रौँ शताब्दीसम्म डचहरूले चियाका पातलाई सलादको रूपमा खाने गर्थे । पछि चियाका पातलाई पानीमा हालेर सुपका रूपमा खान थालियो । अहिलेजस्तो दूध वा चिनी मिसाएर चिया पिउने परम्परा भने त्यसपछि मात्र विकसित भयो ।
चियामा दूध हालेर चिया पिउने परम्परा भारतमा शुरू भएको मानिन्छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रवक्ता डाक्टर दीपक खनालका अनुसार भारतमा दूध चिया पिउने चलन धेरै पुरानो हो । दूध मिसाएर उमालेर दिने चलनले चियालाई अझ स्वादिलो बनायो । दूधको रङ्ग परिवर्तन भएर आकर्षक देखियो, त्यसैमा उखुको रस मिसाउँदा झन मिठो भयो । र बिस्तारै दूध चिया लोकप्रिय बन्यो ।
व्यावसाय, शिक्षा र रोजगारीको लागि नेपाल भारत आउजाउ गर्ने क्रममा नेपालमा पनि दूध चिया पिउने संस्कार बस्यो ।
हिमाली भेगमा अर्कै स्वादको ‘सुचिया’
तराई र पहाडमा दुध राखेको र कालो चिया लोकप्रिय छ भने हिमाली भेगमा भने ‘सुचिया’ अर्थात नुन चिया लोकप्रिय छ । हिमाली क्षेत्रमा सुचिया (नुन चिया) पिउने चलन पुरातन कालदेखि नै रहेको मानिन्छ । यो परम्परा विशेष गरी तिब्बती भेग, नेपालका हिमाली समुदाय (शेर्पा, तामाङ, गुरुङ, भोटे, थकाली) तथा भोट क्षेत्रका बासिन्दाहरू माझ प्रचलित छ ।
नुन चिया पिउने चलन तिब्बती संस्कृतिबाटै भित्रिएर नेपालका हिमाली भेगमा फैलिएको मानिन्छ । तिब्बतीमा सुचियालाई ‘पो–चा’ अर्थात बटर टी पनि भनिन्छ । नेपालका हिमाली भेगमा सुचिया पिउन शुरू भएको ठ्याक्कै समय तोक्न कठिन भए पनि नेपालका हिमाली समुदायले तिब्बती व्यापारी, बौद्ध भिक्षु र घुमन्ते व्यापारीहरूबाट यो परम्परा सिकेका हुन् ।
नेपालका हिमाली क्षेत्रहरू पुरानो तिब्बत–नेपाल व्यापार मार्गमा पर्ने भएकाले तिब्बती चिया पिउने संस्कृतिले हिमाली समुदायलाई प्रभाव पार्याे । मुस्ताङ, हुम्ला, डोल्पा, सोलुखुम्बु, मनाङ, रसुवा जस्ता ठाउँमा नुन चिया पिउने चलन छ ।
यो चिया तिब्बती चियापत्तिको प्रयोगबाट बनाइन्छ र यसको स्वाद पनि अनौठो हुन्छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाकी तारा शेर्पाका अनुसार ‘लेक लाग्दा सुचियाले शरीरलाई राहत दिन्छ र शक्ति बढाउँछ । हिमाली भेगका बासिन्दाका लागि यो चिया संस्कृति र जीवनको एक हिस्सा पनि हो ।’
तिब्बती चियापत्तिलाई पानीमा उमालेर त्यसको रङ निकालिन्छ । त्यसपछि यो रङ आएको झोललाई चाँदीले बाँधेको विशेष प्रकारको ढुङ्ग्रामा हालिन्छ । त्यसमा आवश्यकतानुसार तातो पानी, चौँरीको दूध, चिब्बती नुन र घिउ मिसाइन्छ, अनि मदानीले यसलाई राम्ररी घोलिन्छ । मिश्रणमा एकसमान फिज नआउँदासम्म यसलाई मथिन्छ । जब यो तयार हुन्छ, तब नुन चिया गाढा र खैरो रङ्गको देखिन्छ ।
हिमाली क्षेत्रमा यो चिया विशेष महत्त्व राख्छ । नुन र चौँरीको घिउ मिसाएर बनाइने यो चिया पोषणले भरिपूर्ण हुन्छ । हिमाली भेगमा सुचियाजस्तै बजारमा दूध चिया, कालो चिया, तुलसी चिया, बेसार चिया, अदुवा चिया, इलायची चिया, मसला चिया, कागती चिया, जडीबुटी चिया, रातो चिया, ओलोङ्ग चिया लगायतका थरीथरीका चिया पाइन्छ ।
यो पनि पढ्नुहोस् :
चियाको चुस्कीसँगै देशको चिन्ता र नयाँ कामको योजना
थर्मसमा चिया बेच्ने व्यवसाय : थोरै लगानीमा मनग्य आम्दानी
कमाइ गर्ने ठाउँ र जीवन बुझ्ने पाठशाला पनि हो चियापसल
अनौठा नाम र फरक शैलीका चियापसल
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ ।