यसपालिको ‘किम्फ’ वातावरण र जलवायु परिवर्तनको मुद्दामा केन्द्रित

 मंसिर २४, २०७८ शुक्रबार ८:२५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ -  काठमाण्डौ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को १९औँ संस्करण वातावरण र जलवायु परिवर्तनको मुद्दामा केन्द्रित छ ।

हिजोदेखि काठमाण्डौमा सुरु भएको किम्फ ‘जलवायु कर्म’ को मुख्य विषयमा आधारित रहेको आयोजक हिमाल एसोसिएशनले जनाएको छ । आउँदो २७ गतेसम्म चल्ने किम्फमा प्रतियोगितात्मकसहित विभिन्न ६३ वटा चलचित्र प्रदर्शन गरिनेछ ।

महोत्सव अन्तरगत नेपाल पानारोमामा १३ वटा फिल्म समावेश गरिएको छ भने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा ४० वटा चलचित्र समावेश छ । महोत्सवमा समावेश चलचित्रले जलवायु परिवर्तन र यसबाट मानव जीवनमा परेको असर तथा हिमाली जनजीवनमा परेको असरका विषयमा घच्घच्याउन सहयोग पुग्ने आयोजकको दाबी छ ।

यसपालि प्रत्यक्ष रुपमा र अनलाइन समेतबाट महोत्सवमा समावेश चलचित्र हेर्न सकिने छ ।

हिजो अमेरिकी चलचित्रकर्मी काइल रुडिकद्वारा निर्देशित चलचित्र 'ड्रिम माउन्टेन' प्रदर्शन गर्दै किम्फको उद्घाटन गरिएको हो । अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फको विजेताले दुई लाख, दोस्रोले एक लाख ५० हजार र तेस्रोले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

नेपाली पानारोमा अन्तर्गतको उत्कृष्ट वृत्तचित्रका लागि ७५ हजार र उत्कृष्ट फिक्सनका लागि एक लाख रुपैयाँ पुरस्कार दिइने छ । एक हजार डलरको उत्कृष्ट माउन्टेन फिल्म अवार्ड पनि वितरण गरिने आयोजकले जनाएको छ
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया