संरक्षणको पर्खाइमा लमजुङको ‘पुरानोकोट गढी’

 मंसिर २५, २०७८ शनिबार १४:४८:५० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्वले भरिपूर्ण छ, लमजुङको पुरानोकोट गढी । जिल्लाको बेसीशहर नगरपालिका–४ मा रहेको छ, यो गढी । उच्च ठाउँमा रहेको यस गढीबाट विभिन्न जिल्लाका साथै विभिन्न हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

स्थानीय शम्शेर गुरुङ पुरानोकोट गढीबाट लमजुङ र अरु जिल्लाको अनुपम प्राकृतिक सौन्दर्यलाई नियाल्न सकिने बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘यस गढीबाट दर्जनौ हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ । धार्मिक, सांस्कृतिक रुपले मात्र नभई पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण छ, पुरानोकोट गढी ।’

यो गढी झण्डै २ हजार देखि २ हजार २ सय मिटरको उचाइमा रहेको छ । यस क्षेत्रमा गुरुङहरुको बाहुल्यता छ । ८० भन्दा बढी घरधुरी रहेका छन् । 

विशेषगरी बडादशैँको कालरात्रि र चैते दशैँमा यस गढीमा बलि दिइ पूजा गर्ने प्रचलन रहेको स्थानीय शम्शेर गुरुङ बताउनुहुन्छ ।

‘बडादशैँ र चैतेदशैँमा गरिने पूजामा पहिले पुरानोकोट गढीमा बलि ’दिएर मात्रै गाउँशहर कालिका मन्दिरमा बलि दिने परम्परा रहिआएको छ,’ उहाँले थप्नुभयो ।

वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङका अनुसार पुरानोकोटको मौलोमा पुरानोकोटको कोके गुरुङका जेठो हाँगा क्रब(कोटाले) खलकले कर्ता र कुसुमाकर घिमिरेका वंशज बाहुनबेसीका घिमिरे ब्राह्मणले पुरोहितको काम गरेर मौलो पूजा गर्ने परम्परा छ ।

राजवंशको पुस्तावली वाचन गर्ने परम्परा

संस्कृतिविद्  गुरुङका अनुसार पुरानोकोटको चण्डी मन्दिरमा पुरानोकोटको कोके गुरुङका जिम्मावाल खलकले पूजारीको काम गर्दछ । चण्डीपूर्णेमा चण्डीपूजा गर्दा कालु शाह र यशोब्रह्म शाहदेखिको राजवंशको पुस्तावली वाचन गर्ने परम्परा छ ।

पुरानोकोटको जलदेवी मन्दिरमा पुरानोकोटको नासरक्ह्रोँ लेम (लामछाने) गुरुङले पूजारीको काम गर्दछन् ।

पुरानोकोटको अन्वेषण र संरक्षण गर्न आवश्यक

यसरी पुरानोकोटका गुरुङहरुले पुरानोकोटको भूगोल र संस्कृतिलाई संरक्षण गरेर राखेका छन् । ऐतिहासिक महत्वको यस गढीको अहिले भग्नावशेष मात्रै रहेको र यसको संरक्षण संवद्र्धन गर्नु आवश्यक रहेको सरोकारवालाहरु बताउँछन् ।

केही समय पुरानोकोटको अध्ययन भ्रमणबाट लमजुङ, पुरानोकोटको अन्वेषण र संरक्षण गर्नुपर्ने आवश्यकता महसुस गरिएको वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङको भनाइ छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया