कुरा प्रविधिका, भोट भने ट्याङ्कीमा !

 मंसिर २७, २०७८ सोमबार ११:३३:५९ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डाै - भृकुटीमण्डपको बारमा रहेको दुई वटा डिजिटल डिस्प्ले मध्ये एउटामा गगन थापाले भोट माग्दै गरेको देखिन्छ । उहाँ आफूले काठमाण्डौ ४ नं क्षेत्रमा गरेको विकासको फेहरिस्त डिजिटल डिस्प्लेमा देखाएर थाक्नु भएको छैन । उहाँजस्तै अरु उम्मेदवारले पनि यसैगरी डिजिटल डिस्प्लेबाट मत मागेका छन् ।

भोट माग्न सबै नेताले फेसबुक, युट्युब तथा ट्वीटरको उपयोग गरेका छन् । महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेसको एप पनि सार्वजनिक गरियो । नेताहरु स्वयम् २१ औँ शताब्दीमा प्रविधिको अत्याधिक उपयोग गर्नुपर्छ भनेर थाक्दैनन्। तर मतदान गर्ने प्रक्रिया भने पुरानै ढर्राको छ । पानी भर्नको लागि छतमा राखिने हरियो ट्याङ्कीलाई मतपेटिका बनाइएको छ ।

जाजरकोटबाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य गीता शाहीले यसबारे आफूलाई केही जानकारी नभएको बताउनु भयो । 

‘नेताहरु बसेर, सरसल्लाह गरेर निर्णय गर्नु भएको होला । हामी त सदस्य तथा प्रतिनिधि मात्रै हौँ हामीलाई थाहा भएन’ शाहीले नेतृत्वलाई शङ्काको लाभ दिनुभयो, ‘नेतृत्वलाई थाहा नभएर त होइन होला केही अप्ठ्याराे भएर होला ।’

पालिकाबाट समावेशी प्रतिनिधि आउने तथा उनीहरुले विद्युतीय मतदान प्रयोग गर्न नजान्दा जित्ने हार्ने तथा हार्नेले जित्ने सम्भावना हुने कारणले पनि विद्युतीय मतदानको प्रयोग नभएको हुनसक्ने उहाँको भनाइ छ । ‘सबै जनाले जान्दैनन् त्यसैले पुरानै विधि अपनाइएको होला’ उहाँले भन्नुभयो ।

‘हामी सबै कुरा भन्न पनि सक्दैनौँ । सबै भित्रको कुरा बाहिर ल्याउन पनि मिल्दैन । फेरि पनि ट्याङ्की राख्ने प्रविधि कसरी आयो भन्ने कुरा हाम्रो मुख्य टिमलाई नै सोध्नुपर्छ’ रुपन्देहीबाट महाधिवेशनमा प्रतिनिधित्व गर्ने सावित्रा टण्डनले यसबारेमा अनभिज्ञता प्रकट गर्दै भन्नुभयो, ‘स्पष्ट कुरा नआएसम्म केही भन्न मिल्दैन । पार्टीको कुरा हो ।’   

‘हामीले कुरा गर्दा नयाँ प्रविधिबाट जान्छौँ, नयाँ पुस्ता ल्याउँछौँ, नयाँ संरचना बनाउँछौँ भनिरहेका छौँ । तर, हेर्दै गर्दा बुझ्दै गर्दा हामी अझै पनि तेह्रौँ महाधिवेशनतिर नै फर्केको जस्तो यो प्रविधिले देखाइरहेको छ,’ उहाँले आक्राेश प्रकट गर्नुभयो । 

दिल बहादुर बोगटी चितवनबाट महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । साथै उहाँ प्राध्यापक हुनुहुन्छ र भर्खरै अवकाश प्राप्त गर्नुभएको हो । 

मतपेटिकामा हरियो ट्याङ्की प्रयोग गरेको कुरालाई उहाँ यो सोच र व्यवस्थापनमा देखिएको कमजोरी भन्नुहुन्छ । 

‘आशा गरौँ कांग्रेसले आफूलाई शब्दमा मात्र नभएर निर्वाचनमा पनि आधुनिक पद्धतिमा अर्थात आधुनिक विद्युतीय साधनलाई प्रयोग गरेर संसारमा हामी पनि अगाडि जाँदैछौँ भन्ने एउटा उदाहरण देखाउँदा हामी सबै आधुनिक युगमा प्रवेश गरेको ठहरिने छ’, उहाँले हरियो ट्याङ्की प्रयोगबारे विमति जनाउनु भयो । 

‘यो उचित प्रबन्ध र व्यवस्थापनको अभाव हो । विद्युतीय मतदान प्रयोग गर्न सकिन्थ्यो । त्यसमा पार्टीको सङ्गठन र हाम्रो निर्वाचन पद्धति नै अलि पछाडि नै परेको हामीले महसुस गरेका छौँ’ उहाँले भन्नुभयो । 

बाजुराबाट प्रतिनिधित्व गर्नुहुने जनकराज गिरी भन्नुहुन्छ ‘यसलाई सुधार गरिनुपर्थ्यो । मलाई पनि यो राम्रो लागेको छैन।’

हुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्ने धर्मराज जोशी प्रतिनिधि र उम्मेदवारको सङ्ख्या पनि अधिक भएका कारण विद्युतीय प्रणाली प्रयोग गर्न अप्ठ्याराे परेको बताउनुहुन्छ । ‘करिब करिब ४ हजार माथि प्रतिनिधि हुनुहुन्छ । उम्मेदवार पनि धेरै हुनुहुन्छ । सङ्ख्यात्मक रुपमा धेरैले भोट हाल्नुपर्ने हुन्छ । त्यसकारण त्यसलाई व्यवस्थापन गर्न गाह्रो छ’, उहाँले थप प्रस्ट्याउनु भयो, ‘ शायद त्यसको कारण होला उपलब्ध स्रोत र साधनको प्रयोग गर्ने सन्दर्भमा ट्याङ्कीको प्रयोग भएको हुनुपर्छ ।’

अन्तिम अपडेट: बैशाख ७, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • dhama paudyal

    Dec. 13, 2021, 12:13 p.m.

    मलाइ चा लाग्दैछ् यसरि १५००-२०० कागजका टुक्रा हाल्न १,०००लिटरका पानि ट्याङ्ग्कि प्रयोग गरिनु पछि कुनै ठुलै षड्यन्त्र भयेको छ। नत्र येक ता २०१५ को आम निर्बाचन मा पनि प्रयोग् नगरियेको अति पुरानो प्रबिधि किन प्रयोग गरेका त। किन् त्यतृ ट्याङ्ग्कि? त्यहा भित्र त उम्मेदवार् नै उभिएर् हातै मा भोट समाउन पनि सकिने पो देखिय। २०१५ साल म भिन्ना भिन्नै उम्मेदवार् को भिन्न भिन्नै टिन का बाकस् राखियेका थिये। बाहिर् पट्टि चुनाब चिन्ह टांसियेका थिये।

  •  0 Reply

तपाईको प्रतिक्रिया