रसुवागढी नाकाबाट विद्युतीय गाडीको आयात बढ्यो

 मंसिर २७, २०७८ सोमबार २०:२१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – चीनसँगको व्यापारिक नाका रसुवागढीबाट विद्युतीय गाडीको आयात बढेको छ । यातायातको पहुँचलाई सहज बनाउनका लागि नेपाली व्यापारी, व्यवसायीले चिनियाँ विद्युतीय गाडीको आयात गरिरहेका छन् । 

२०७५ चैतदेखि २०७८ मङ्सिर २७ गतेसम्म तीन सय १८ वटा विद्युतीय गाडी आयात भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम मैनालीले बताउनुभयो । आयात गरिएका गाडीमध्ये ५४ वटा डबल क्याबिन पिकअप र दुई सय ६४ वटा कार रहेका छन् ।  

आवाज र धुँवारहितका चिनियाँ कार नेपाल भित्रिएको हो । नाकाबाट आयात भएका ती गाडी भन्सार प्रक्रिया पूरा गरेर काठमाण्डौ पठाइएको प्रमुख भन्सार अधिकृत मैनालीले उहाँले बताउनुभयो । आवाज र धुँवारहित ती कारले सवारी प्रदूषणमा न्यूनीकरण गर्ने र यात्रामा सहज हुने कार्यालयले जनाएको छ । 

२०७६ माघयता नाकाबाट सामग्रीको आयात निकै कम भएको छ । २०७६ माघ १५ गतेदेखि २०७७ जेठ तेस्रो हप्तासम्म नाका बन्द गरिएको थियो । अहिले एकतर्फी रूपमा नाका सञ्चालन भइरहेको छ । चीनबाट तयारी अवस्थाका, विद्युतीय, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलफूल आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुढा, काठको कुर्सी, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । तर कोभिड–१९ का कारण निर्यात लामो समयदेखि ठप्प छ ।

२०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक दुई सय ५० भन्दा बढी गाडी आवतजावत गर्ने गरेका थिए । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र गाडीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दुरी पार गर्नुपर्छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया