यस कारण त्याे ‘ओलीवेशन’, याे अधिवेशन : गगन थापा

 मंसिर २९, २०७८ बुधबार १९:२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली का‌ंग्रेसका नेता गगनकुमार थापाले 'ओलीवेशन' र अधिवेशनको फरक नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले दिएको बताउनुभएको छ । 

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आज बुधवार आयोजना गर्नुभएको प्रतिनिधिहरूलाई धन्यवाद कार्यक्रममा बोल्दै नेता थापाले ओलीवेशन र अधिवेशनको फरक नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले दिएको बताउनुभएको हो । 

उहाँले एमाले अधिवेशनमा अध्यक्षले गोजीबाट नाम निकालेर पढेको तर कांग्रेसको अधिवेशनमा स्वयम् प्रधानमन्त्री नै रातभर बसेर मतदातालाई हात जोडेको दृश्यले अधिवेशनको बारे स्पष्ट पार्ने बताउनुभयो । नेता थापाले सभापति देउवाले अब नेपाली कांग्रेस पार्टीलाई गुटरहित बनाएर सही दिशा दिनुपर्ने बताउनुभयो ।

नेता थापाले भन्नुभयो, ‘हिजो करिब–करिब सम्माननीय प्रधानमन्त्रीज्यू चुनावकाे प्रारम्भदेखि अन्तिम मत हाल्ने बेलासम्म त्यस्तो चिसो स्याँठ चलेको बेलामा पहिला कोट, कोटमाथि ओभरकोट थपेर भए पनि पाँच घण्टा लाइन लागेर बस्नुभयो । एक–एक मतदातालाई हात जोड्नुभयो । सेल्फी खिच्नुभयो । यस्तै अधिवेशन केही समयअघि नारायणीको किनारमा पनि भएको थियो । पूर्वप्रधानमन्त्री त्यो बेलामा सानले एउटा रिसोर्टमा बस्नुभएको थियो । अरू सबै नारायणी किनारमा घाममा सेकिएर बसेका थिए । कतिखेर निस्कनुभयो, बगलीबाट एउटा लिस्ट निकाल्नुभयो, पढ्नुभयो, सुनाइदिनुभयो, अधिवेशन सकियो । तर हाम्रो अधिवेशनको फरक बहालवाला प्रधानमन्त्री पनि सडकमा आउनुपर्‍याे, हात जोड्नुपर्‍याे, मत माग्नुपर्‍याे । त्यो मैले भन्ने गरेको ओलीवेशन र अधिवेशनको फरक यही नै हो ।’

नेता थापाले अब पार्टीका नेताहरू सबैको सभापति शेरबहादुर देउवा भएको बताउँदै पार्टीमा आफ्नो सम्बन्ध, सङ्घर्ष र सहकार्यको हुने बताउनुभयो । उहाँले पार्टी सभापतिको कुनै गुट नहुने भन्दै नवनिर्वाचित सभापति देउवालाई त्यहीअनुसार अघि बढ्न आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया