अब गुटकाे चित्त बुझाएर कांग्रेस अघि बढ्दैन, शेरबहादुर र शेखर एकै ठाउँमा उभिनुपर्छ

 मंसिर २९, २०७८ बुधबार १८:२२:९ | पुरञ्जन आचार्य
unn.prixa.net

शेरबहादुर देउवा लामो प्रक्रियाबाट सभापति हुनुभएको छ । चुनावको प्रक्रिया ६–८ महिना लामो चल्यो । तर पनि महाधिवेशन सकिएको छ । कांग्रेसले आफ्नो वैधानिकता कायम राख्न सफल भयो । झन्डै–झन्डै विधान तथा संविधानमा भएअनुसारको वैधानिकता गुमाइसकेको थियो । 

उहाँहरू पुरानै गठजोडबाट अगाडि बढ्नुभएको छ । त्यसैले नयाँपनको सम्भावना भने छैन । गठजोडलाई मिलाउँदा मिलाउँदै उहाँको कार्यकाल दूषित हुने शङ्का बढेको छ । तर पनि जितमा उहाँलाई बधाई तथा शुभकामना पनि । 

तर उहाँले कार्यशैली परिवर्तन गरेर नयाँ ढङ्गले, नयाँ सोचले कांग्रेसलाई अगाडि बढाउनलाई सोच्नुभयो भने त्यसले नयाँ कांग्रेसको पुनराेदय हुन सक्ला । तर जस्तो उहाँको विगत छ, जसरी प्रधानमन्त्री चलाइ रहनुभएको छ, हिजोको दिनमा पार्टी चलाइ रहनुभएको थियो, ६ वर्षसम्म त्यो हेर्दा खास नौलो पनको आश गर्न सक्ने स्थिति छैन । 

उहाँ उही तानतुन तथा यथास्थितिमा, उताबाट प्रकाशमानलाई तानेको छ, उताबाट विमलेन्द्रलाई । सरकारमा पनि त्यही गठजोड । उताबाट कृष्ण सिटौलालाई अनेक किसिमको पदको लोभ दिइएको छ, प्रलोभन दिइएको छ । त्यस किसिमले पार्टी पनि चल्दैन, देश पनि चल्दैन, लोकतन्त्र पनि चल्दैन । 

सबै आयामलाई फालेर झन्डै ६० प्रतिशत भोटले उहाँ सभापति हुनुभएको छ । झन्डै ४० प्रतिशत भोटले शेखर कोइराला पार्टीभित्रको उदीयमान नेता हुनुभएको छ । दुवै नेता बसेर कांग्रेसलाई यसरी लिएर जाने, यी एजेन्डाहरू सेट गर्ने भनेर अरू सबैलाई भागबन्डा, अंशबन्डाको राजनीतिबाट बाहिर पुर्‍याउनुपर्छ ।  

अब मूल कांग्रेस बनाउन सजिलो पनि छ । किनभने अब कांग्रेसमा तह लगाउनुपर्ने धेरै छैनन् । दुई नेता मिलेर, एकीकृत भएर एउटा कांग्रेसको राष्ट्रिय भावधारा बगाउन सके भने कांग्रेसको पुनराेदय यही तीन तहको चुनाव तथा राष्ट्रिय तहको चुनावबाट सम्भव छ । 

होइन उहाँ चाहिँ आफ्नै गुटको राजनीति, भागबन्डाको राजनीति तथा आफ्ना सबै सानातिना खुद्रा पसलेहरूलाई चित्त बुझाउन भनेर लाग्नुभयो भने फेरि कांग्रेसमा त्यही हबिगत हुन्छ जुन हुँदै आइरहेको छ । अब हिजो चुनावमा सघाएकाहरूको चित्त बुझाउने हो कि कांग्रेसको चित्त बुझाउने हो वा नेपाली जनताको चित्त बुझाउने हो त्यो उहाँकै जिम्मामा हो । 

अब ती खुद्रा पसलेलाई चित्त बुझाउनुको साटो यो महाधिवेशनमा कांग्रेसभित्र एउटा नयाँ वैकल्पिक नेतृत्वको उदय भएको छ । त्यो वैकल्पिक नेतृत्वसँग बसेर कुरा गर्दा सबै कुरा मिल्यो नि । पार्टीमा सबैसँग सहमति, सहकार्य गरेर सबैसँग राय, सुझाव लिएर जाँदा के बिग्रन्छ र ? बिग्रने कुरा त केही पनि छैन । एउटै पार्टी हो । 

कांग्रेस भागबन्डाको राजनीति गर्छ, जुन पदमा पनि भागबन्डा गर्छ, विश्वविद्यालयको उपकुलपति, राजदूत पदमा भन्ने लाग्दै आएको आरोपलाई त्यागेर पार्टीभित्र एउटा कांग्रेस बनाउने पहलमा एउटा अवसर त आएको छ शेरबहादुरजीलाई । पार्टीलाई एउटा बनाउने, एकत्रित गर्ने । त्यसमा शेखर कोइराला महाधिवेशनमा ४० प्रतिशत प्लस भोट ल्याएर उदय हुनुभएको छ, उहाँसँग बसेर राय, सल्लाह लिएर काम गर्ने र आवश्यक पर्दा खुद्रा पसलेहरूसँग पनि राय, सल्लाह लिने नभए ती सबै खुद्रा पसलेलाई चित्त बुझाएर अघि बढ्छु भन्दा कांग्रेस अघि बढ्दैन । गुट गुटका कांग्रेसहरूले कांग्रेसलाई कज्याउँछन् । त्यसलाई बन्द गर्ने एउटा अवसर चाहिँ आएको छ । 

यो बन्द गर्नका लागि शेरबहादुरजी र शेखर कोइरालाका बीचमा अत्यन्तै राम्रो समझदारी छ । तीन तहको चुनाव आएको छ, अहिले चुनावका कारण जुन रापताप र तनाव सृजना भएको छ, अस्वस्थ प्रतिस्पर्धा भएको छ, त्यसलाई कम गर्नका लागि अब दुई जना एक ठाउँमा बसेर मात्र सम्भव छ अब । अब अरू सबै तपसिलका भए, उनीहरूको राय, सल्लाह, सुझाव आफ्नो ठाउँमा हुन्छ । तर अब पनि शेरबहादुरजीले यी सानो सानो गुटले म सभापति भएको हुँ र तिनीहरूकै चित्त बुझाउँछु भन्नुभयो भने कांग्रेसको चित्त बुझ्दैन त्यसो गर्दा कांग्रेसलाई घाटा हुन्छ ।

कांग्रेसमा नयाँ नेतृत्व नआएको होइन । एउटा समूह नै आएको छ नयाँ । एउटा समूह नै आएको छ शेखर कोइरालाको नेतृत्वमा । नयाँ नेतृत्वको कुरा गर्दा अहिले महामन्त्रीको परिणाम आउन बाँकी छ । नयाँपनमा गगन थापा, विश्वप्रकाश, मिनेन्द्र रिजाल हुनुहुन्छ । सबैले नयाँपन बोकेर आउनुभएको छ । चन्द्र भण्डारी, धनराज गुरुङ आदि नयाँ हुनुहुन्छ उप–सभापतिमा । 

सभापतिको कुरा गर्दा सभापतिले केही मतले हार्नुभएको छ । तर मन भने धेरै कांग्रेस र कांग्रेसबाहिरकाको पनि जितेका छन् । शेखर कोइराला कांग्रेसभित्र जुनियर, अस्ति भर्खर आएको, अनुभवहीन भन्थे । कांग्रेसभित्र एउटा जत्था थियो पदाधिकारीको, पूर्व पदाधिकारीको, संस्थापन, सिनियर, धेरै लगानी भएको भनेर । त्यो सबैलाई चिरेर पटक पटक मन्त्री भएका, पार्टीमा महामन्त्री तथा उप–सभापति भएकाहरूले प्राप्त मत र शेखर कोइरालाको मत हेर्दा के बुझियो भने कांग्रेस परिवर्तनको पक्षमा छ तर त्यो बहुमतमा पुगिसकेको रहेनछ भन्ने बुझियो ।

एक हजार आठ सय मत भनेको परिवर्तनको मत हो । शेखर कोइरालासँग दिने के थियो र ? उहाँ प्रधानमन्त्री हुनुहुन्न, पार्टी सभापति हुनुहुन्न । उहाँ कहिल्यै मन्त्री हुनुभएको छैन । कोइराला विरासत पनि कमजोर छ । वीपी पुत्र शशांक कोइराला देउवाको पक्षमा देखिन्थे, गिरिजापुत्री शैलजा प्रकाशमानकै उम्मेदवार हुनुहुन्थ्यो । न कुनै वंश विरासत, न वरिष्ठहरूको सहयोग, न समर्थन थियो उहाँलाई । 

यति हुँदा हुँदै पनि शेरबहादुरजी ढुक्क हुन सक्नुभएन । उहाँले प्रकाशमान तथा विमलेन्द्रलाई मतदानस्थलमा नै आएर मत माग्न लगाउनुभयो । त्यसले के बुझाउँछ भने यिनीहरू डर र त्रासमा प्रशस्तै बसे । चुनौती ठूलो खेपे त्यो पनि कस्तोसँग भने जसको घर फुटेको छ, आफन्तहरूले साथ दिएका छैनन्, जोसँग दिनलाई केही छैन । पीएनको जागिर दिने पनि हैसियत छैन । अर्कोतर्फ हेर्दा प्रधानमन्त्री, पार्टी सभापतिसँग के छैन ? प्रकाशमानलाई यो भन्नुभयो, सुजातालाई यो भन्नुभयो, निधिलाई यो भन्नुभयो । कल्याण गुरुङलाई पनि । यसमा उता गठबन्धन भने पनि, जे भने पनि कृष्ण सिटौलालाई, विजय गच्छदारलाई । एकसेएक महारथीहरूलाई गठबन्धनबाट ।   

शेरबहादुरजी एक्लै र शेखर एक्लै हुँदा के होला अनुमान गर्नुस् त । शेरबहादुरजी एक्लैले लडेर प्राप्त गर्ने मतमा कृष्ण सिटौला, विजय गच्छदार, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ यी सबैको मत घटाइ दिनुस् अनि एक्लै शेखर कोइरालासँग उठ्न भन्नुस् । यसमा आज पनि शेरबहादुरजीले जित्नुहुन्न । 

त्यस कारण नेता भनेको के हो भने जो एक्लै उठ्छ, आँट गर्छ । इतिहासमात्र कोट्ट्याएर बस्दैन । इतिहास र चिहान खन्ने मानिसहरूले भविष्यको कांग्रेस निर्माण गर्न सक्दैनन् । शेखर कोइरालाको पनि केही कमी कमजोरी भए होलान्, केही कमजोरी छन् होला । उहाँसँग काम गर्दा मैले देखेँ पनि । 

तर पनि यत्रो भरोसा र विश्वास नेपाली कांग्रेसको परिवर्तन चाहनेहरूले कोमाथि गरे ? पहिलो चरणमा एक जना वरिष्ठ नेता उहाँसँग जोडिन चाहेनन् । वरिष्ठ भनेको जो २०४६ सालदेखि कांग्रेसमाथि शासन गरिरहेका छन् । वरिष्ठ भनेका जो राज्य सत्तामाथि २०४६ सालदेखि निरन्तर शासन गरिरहेका छन् । त्यस्ता एक जना मान्छे पनि कोइरालासँग देखिन चाहेनन् । 

उम्मेदवारीभन्दा एक, दुई घण्टा अगाडि आएर मिनेन्द्र रिजाल जोडिनुभयो । पहिलो चरणको चुनावपछि अर्जुन नरसिंह केसीजी छेउमा आएर बस्नुभयो । त्यति मात्र हो । कस्तो दर्दनाक छ कांग्रेसको आन्तरिक गतिशीलता। नयाँलाई कसरी रोक्ने, नयाँलाई कसरी बेवास्ता गर्ने चलन छ । आफू अगाडि आउन चाहँदैनन् । आफू त्यो पुरानो नेतृत्वलाई सघाएर सारा दुनो सोझ्याउन चाहन्छन् । त्यही भएको हो कांग्रेसमा । हामी पनि बुझ्छौँ कांग्रेसमा के भइरहेको थियो भनेर । 

कांग्रेसमा शेखरलाई रोक्ने, गगनलाई रोक्ने, विश्वप्रकाशलाई रोक्ने, धनराजलाई रोक्ने एउटा जत्था छ, त्यसलाई चोट पुर्याए यसपालि शेखरले । त्यसलाई चुनौती दिए ।  

निधीजीसँग शेखर कोइरालाको बीचबीचमा कुरा भइरहेको हो । मेरो पनि कुरा भइरहेको थियो । निधीजीले पहिलो चरणको चुनावपछि शेखरलाई सघाउने बताए पनि उहाँहरूलाई दुई, तीन वटा कुराले बिझाइरहेको थियो । शेखर कोइराला नयाँ, अनुभव नभएको लाग्थ्यो होला उहाँहरूलाई । तर शेरबहादुरजी अनुभवीले चाहिँ देश कस्तो बनाइरहनुभएको छ, कांग्रेस कस्तो बनाइरहनुभएको छ, त्यो तीन करोड नेपालीले बुझिरहेका छन् नि । 

उहाँहरूलाई कैयन कुरा अप्ठेरो पनि थियो । म प्रकाशमानसँग चाहिँ भन्दिन तर विमलेन्द्र निधि तथा शेखर कोइरालासँग कांग्रेसलाई नयाँ ढङ्गले लैजान गम्भीर कुराकानी भइरहेको थियो । प्रकाशमानजीको गठबन्धन भइसकेपछि उहाँलाई पनि लाग्यो होला यो हार्ने लडाइँ किन लड्नु, अवसरहरू पनि छन् अगाडि । 

मान्छे २४ सै घण्टामा यसरी पल्टिन्छ भन्ने कुराले राजनीतिमा महत्त्व राख्छ । त्यसै पल्टिँदैन । शेरबहादुरजीसँग फेरि दिने कुरा धेरै छ । प्रधानमन्त्री हुनुहुन्छ, उसलाई हटाएर अर्कोलाई बनाइदिन्छु भन्नुहोला । तेरो मान्छेलाई राजदूत, तेरो मान्छेलाई उपकुलपति, तँलाई पैसा । प्रधानमन्त्रीको त पचास वटा विकल्प हुन्छन् । ती सबै अवसर शेखर कोइरालाले कहाँबाट ल्याउने अहिले ? शेखर कोइरालाले कांग्रेसलाई नयाँ बनाउँछु, परिवर्तन गर्छु भन्नेबाहेक अरू के दिन सक्नुहुन्छ र ? 

सत्ता दिन्छु भन्ने हैसियतमा शेखर कोइराला हुनुहुन्न । सत्ताको खेलाडीहरू सत्ताको शक्ति बुझ्दछन् । त्यहाँको स्रोत साधनमाथि आँखा गाडेका हुन्छन् । अनेक कुरा हुन्छन् । 

विमलेन्द्र निधिसँग चाहिँ एउटा सैद्धान्तिक सहमति गरेर अगाडि बढ्न सक्ने ठाउँ प्रशस्तै थियो । किनकि उहाँले यो संविधान बोक्नुभएको छ । उहाँले २०६२/०६३ को परिवर्तनलाई भित्रैबाट आत्मसात् गर्नुभएको छ । उहाँ मधेशको एउटा स्थापित र कांग्रेसको एक्लो नेता पनि हुनुहुन्छ । 

उहाँलाई थाहा छ शेखर कोइरालासँग सहकार्य गर्दा धेरै अगाडिको राजनीति उहाँको अनुकूल पनि थियो । शेरबहादुरसँगको राजनीतिमा चाहिँ तराईको राजनीति फर्कँदैन । तराईको राजनीति कांग्रेसको पक्षमा ल्याउन कति गाह्रो हुन्छ भन्ने कुरा शेरबहादुरजी तराईसँग सम्बन्धित मान्छे नै होइन उहाँहरू । उनीहरूले तराई बुझेकै छैनन् । 

कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाले तराई बुझेका थिए । दुर्भाग्यले कांग्रेसमा रामचन्द्र पौडेल र शेरबहादुर देउवा तराईको गतिशीलताबुझ्नै सक्नुहुन्न । त्यो उहाँहरूले कहिले पनि बुझ्न सक्नुहुन्न ।   

त्यो एउटा सम्भावना चाहिँ हामीले खोजेका थियौँ, तराई विमलेन्द्र निधि र शेखर कोइरालाले बुझेका छन्, बसेका छन्, जन्मेका छन्, हुर्केका छन् । त्यहाँको संस्कृति, भाषा तथा गतिशीलतापनि बुझेका छन् । त्यस कारण त्यो सम्भावनको बीचमा हामीले एकता खोजेका थियौँ तर त्यो सम्भव भएन ।   

रामचन्द्रजीले आयोजना गर्नुभएको चियापानमा उहाँ बस्नुले त्यो सबै फाइदा देउवालाई भयो । रामचन्द्रजीले भोट हाल्न नगएर आफैँसँग गल्ती गर्नुभएको थियो । त्यही मतदातासँग मत माग्ने अनि आफू उम्मेदवार हुन नपाउँदा भोट नै हाल्दिनँ भन्ने उहाँ जस्तो लोकतन्त्रको लागि सङ्घर्ष गरेको नेतालाई कुनै पनि हालतमा सुहाउँदो कुरा होइन । त्यो भनेको उहाँले आफैँमाथि गरेको अपराध, अन्याय हो । 

शेखर कोइरालाले रामचन्द्रजीलाई सर्वसम्मतको उम्मेदवार बनाउनुपर्छ भनेर दशौँ पल्ट भन्नुभयो । तर त्यसको बदलामा उहाँले शेखर कोइरालालाई भोट हाल्ने कहिल्यै पनि मनस्थिति बनाउनुभएन, हाल्नु पनि भएन । यसले सबै पुरानाहरू एकै ठाउँमा छन् भन्ने सन्देश गयो । नयाँमा प्रवेश गर्न त पुरानाको साथ छोडेको देखिनुपर्यो नि । 

शेखर कोइरालाले राजनीति जित्नुभयो । कार्यकर्ताको मन जित्नुभयो । मतपत्रमा केही पछाडि पर्नुभयो । राजनीति भनेको चार हजार ६ सयले भोट हाल्ने मात्रै होइन । त्यसभन्दा पर पनि छ राजनीति । त्योभन्दा ठूलो राजनीति त भोलि तीन तहको राजनीति छ । 

आज कांग्रेसमा शेरबहादुर देउवा सभापति जितिरहँदा जनताको बीचमा को जितिरहेको छ ? जताततै सहानुभूति त शेखरको पक्षमा छ । त्यो भनेकै राजनीतिक जित हो । राजनीतिमा त्यसलाई जित मानिन्छ जहाँ जनताको संवेदना जोडिन्छ । जनता धेरै चाँडै विस्मृतिमा जान्छन् । तर त्यसलाई आफ्नो क्रियाकलाप, कमर्ले घचघच्याइ रहनुपर्छ । आज एकपल्ट पाएको जनमत सँधै रहँदैन । एकपल्ट आफूले पाएको अवस्था पनि सँधै रहँदैन । 

शेरबहादुरजीलाई प्रधानमन्त्रीबाट हटेको भोलिपल्ट कसले सम्झन्छ ? सम्झनयोग्य के काम गर्नुभएको छ र उहाँले ? अहिले प्राविधिक रूपमा सभापति जित्नुभयो, प्रधानमन्त्री पनि हुनुहुन्छ तर इतिहासले त उहाँको समीक्षा गर्छ नि !

महामन्त्री तथा उप–सभापतिमा जो आए पनि नयाँ आउनुपर्छ । देउवाका तर्फबाट विजय गच्छदार र पूर्णबहादुर खड्का हुनुहुन्छ उप–सभापतिमा । पूर्णबहादुर खड्का कमै विवादास्पद हुनुहुन्छ । विजय गच्छदार उपसभापति जितेर आउँदा के गर्नुहुन्छ भनेर अनुमान लाउन सकिँदैन ? सकिन्छ । उहाँको बारेमा समाजमा के मान्यता स्थापित छ भन्नेले बताउँछ । 

नयाँ कांग्रेस भनेको कार्यक्रम र विचार मात्र नयाँ होइन । पात्र पनि नयाँ आए भने शेरबहादुरजीको रूपान्तरण पनि तिनीहरूले गर्छन्, नयाँ ढङ्गले हिँड्नुपर्छ भनेर । दुई वटा महामन्त्री पनि नयाँ आए, उप–सभापति नयाँ आए भने कांग्रेसमा सभापति हार्दैमा ४० प्रतिशत मत ल्याएर राजनीति जितेर मतपत्रमा हारे पनि शेखर कोइराला एउटा शक्ति भएर बसे अब । अब त संस्थापन इतरलाई देउवा इतर नभनेर शेखर समूह भन्लान् नि त । 

कांग्रेसभित्र बोल्न नसक्ने जुन संस्कार थियो त्यो वाणी अब शेखर कोइराला बन्नुपर्छ भन्ने हो । बोल्छन् कि भागबन्डा बोल्छन्, कि अंशबन्डा गर्छन्, कि लेनदेन गर्छन्, नबोल्ने होइन । कांग्रेसमा केही बोल्ने तथा जनताका कुरा राख्ने पनि छन् । तर धेरैजसो शेर बहादुरका अगाडि नतमस्तक हुन्छन्, त्यो कुरा सत्य हो । त्यसलाई वाणी दिने, त्यसलाई प्रखर रूपमा अगाडि ल्याउने शेखर कोइराला हुन सक्नुहुन्छ, गगन हुन सक्नुहुन्छ । भोलि चाहिँ विश्वप्रकाश हुन सक्नुहुन्छ । 

जसलाई लेनदेन गर्नु छैन उसले बोल्छ, जसलाई देशभन्दा पनि व्यक्तिगत स्वार्थ छ उसले बोल्दैन । नत्र कांग्रेसमा बोल्न सक्ने नेतलाई औँलो ठड्याएर यो गलत भयो भन्न सक्ने प्रशस्त छन् । गिरिजाप्रसादलाई पनि बोल्थे । शेरबहादुरलाई बोल्दैनन् भनेको उहाँ नबोल्ने संस्कारकाबीच बस्नुहुन्छ होला । 

तर कांग्रेसभित्र त्यस्तो संस्कार छैन, छ भने चिर्लान् । त्यसैको आश त हो नि । कांग्रेसमा पुनर्जागरण भनेको के हो ? कांग्रेसमा पुर्न भनेको किन भन्नुपर्यो । किनकि पहिला कांग्रेस यस्तो थिएन । अब यसलाई पुरानो जस्तो कांग्रेस बनाउनुपर्यो । 

कांग्रेस पहिले बैठक, छलफल अनि नेताको अगाडि यो ठिक, बेठिक भनेर जान्थ्यो । यसबीचमा त्यो संस्कार समाप्त भयो । त्यो संस्कारलाई फेरि जोडौँ र पुनर्जाग्रित बनाउँ भनेर भनेको हुनाले नै पुनर्जागरण भनेको हो नि । कांग्रेसमा त्यसैले नव जागरण, पुनर्जागरण भनिएको हो । नत्र जागरण मात्र भनिहाल्थे नि । त्यसमा यो जोड्नुपर्ने कारण के हो भने कांग्रेस कांग्रेस जस्तो भएन । कांग्रेसमा बक्सियोस् संस्कार आयो, ज्यूनार होस् भन्ने संस्कार आयो, । यो सारा राणा भारदारहरूले दिएको संस्कार भित्रिँदैछ यसलाई खबरदारी गर, रोक भन्ने नै नयाँ कांग्रेस हो नि । नयाँ कांग्रेस भनेको पुरानो कांग्रेस त्यस्तै थियो, त्यसमा जोड भनेको हो । जुन वीपी भन्नुहुन्थ्यो । 

कहीँ न कहीँ, केही न केही कांग्रेसको संस्कृति विचलन भएको छ । त्यसलाई फेरि पुरानो लिकमा ल्याउनु पर्नेछ । त्यो अहिले नयाँ आएका नेताले गर्लान् । कांग्रेसको वृहत्तर हित चाहिँ शेरबहादुरजीले आफूलाई नवअवतारमा ढाल्ने हो भने, नयाँ ढङ्गले आफ्नो इतिहासलाई पनि पुनर्लेखन गर्ने हो भने खुद्रा पसलेसँगको सम्झौतालाई तुरुन्तै बन्द गर्नुपर्छ । अहिलेसम्मको अवतारले चाहिँ यो सम्भव देखिँदैन । 

सबै परिणाम आइसकेपछि उहाँले शेखर कोइरालासँग बसेर अब हामी यसरी अगाडि बढौँ भनेर सुत्रबद्ध कार्यक्रम अगाडि सार्नुपर्छ । पार्टी सभापतिलाई म के भन्छु भने काम गर्न दिनुपर्छ । पार्टी सभापति र प्रधानमन्त्रीलाई उसले सोचेअनुसार काम गर्न दिनुपर्छ । उसको सोचमा कुनै त्रुटि, कमी कमजोरी छ भने पार्टीको प्रतिपक्षले सरकारको प्रतिपक्ष जस्तो उसलाई सुधार्नका लागि सल्लाह सुझाव दिनुपर्छ । 

तर सल्लाह, सुझाव दिँदा अंशबन्डा, भागबन्डा, मेरो मान्छेलाई मन्त्री बनाइदे, मेरो मान्छेलाई राजदूत बनाइदे, मेरो मान्छेलाई डिन बनाइदे त्यो होइन । पार्टी सभापतिलाई पनि उसले सोचेअनुसारको काम गर्न दिनुपर्छ । सुझाव, सल्लाह आवश्यक पर्छ लिन्छन् नत्र लिँदैनन् । त्यसमा केही फरक पर्दैन । 

जब प्रजातान्त्रिक तरिकाले उनी चुनिएका छन् भने दिनरातको रोकतोक, कचकच गर्नुहुँदैन । उनलाई काम गर्न दिनुपर्छ । उनको काम गराइ ठिक भएन भने कांग्रेस यसले डुब्दै छ, तिमी हट भनेर कि हटाउनुपर्छ कि फाल्नु,पर्छ । त्यसको लागि विशेष महाधिवेशन बोलाउन सकिन्छ । 

तर काम गर्दा भने केन्द्रीय कार्य समितिबाट स्वीकृत लिनुपर्छ सभापतिले । केन्द्रीय कार्यसमिति भनेको पार्टीको संसद् हो । त्यहाँबाट भएन भने महासमितिको बैठक बोलाउनुपर्यो । 

एउटा विधि र प्रक्रियाअनुसार उहाँले पार्टी चलाउने हो भने चलाउने सन्दर्भमा आउने अप्ठ्याराहरुलाई शेखर कोइरालाले सहयोग गर्नुपर्छ । राष्ट्रिय चुनावमा शेखर कोइरालाले सकारात्मक रूपमा पार्टी सभापतिलाई सहयोग गर्नुपर्छ । पार्टीमा हुन आएका व्यक्तिगत महत्त्वाकाङ्क्षालाई रोक्नुपर्छ । टुटफुटलाई जोगाउनुपर्छ । 

जिम्मेवारी पार्टी सभापतिको मात्र हुँदैन । शेखर कोइरालालाई पनि थुप्रै जिम्मेवारी आएको छ । भोलिको तीन तहको चुनावमा जित्नका लागि सभापतिसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ । मेरो र तेरो नभनी कांग्रेसको सन्दर्भलाई लिएर निर्णय गर्नुपर्छ । देशको र नागरिकको सन्दर्भ दिमागमा हुनुपर्छ । त्यो सबै सभापतिको मात्रै जिम्मेवारी होइन । 

एउटा ठूलो शक्ति लिएर ४० प्रतिशत भोट लिएर शेखर कोइराला कांग्रेसको स्थापित नेता हुनुभएको छ भने उहाँले पनि ठूलो सोचले ठूलो निर्णय गर्नुपर्छ । 

गठबन्धनले केही गर्न सक्छ भन्ने कुरा म सुरुदेखि नै पत्याउँदैनथे । शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्थ्यो र उहाँलाई सभापति हुन सजिलो भयो । लेनदेन गर्न सजिलो भयो होला प्रकाशमानसँग, विमलेन्द्रजीसँग । भोटमा उहाँले तलमाथि गर्न सक्नुभयो होला । 

तर पार्टी सभापति भइसकेपछि भोलि तीन तहको चुनावमा जानुपर्ने हुन्छ । त्यसमा पार्टीलाई एक नम्बरको बनाउनका लागि सारा प्रयत्न जेडिनुपर्छ । वास्तवमा यो गठबन्धनको प्रारम्भदेखि अहिलेसम्मको उद्देश्य पनि त्यही हो । तीन तहको चुनाव स्वतन्त्र, निष्पक्ष र पारदर्शी किसिमले सम्पन्न गरोस् भन्ने हो । त्यसका लागि शेरबहादुरजी हुनुहुन्छ । 

शेरबहादुरको नेतृत्वमा कांग्रेसले चुनाव जित्दैन भन्ने अभियान चाहिँ शेखर कोइरालाको थियो । अब यो कुरा उहाँले प्रमाणित गर्नुपर्छ कि उहाँको नेतृत्वमा कांग्रेस चाहिँ फेरि एक नम्बरको पार्टी हुन्छ भनेर । अहिले सजिलो पनि छ । कम्युनिस्टहरू चार, पाँच टुक्रामा विभाजित भएका छन् । यसमा कांग्रेसलाई समेटेर एक नम्बरको पार्टी बनाउन भगवानबाटै प्राप्त आर्शीवाद जस्तो पनि भएको छ उहाँलाई । आफ्नो इतिहासको पनि पुनर्लेखन हुन्छ । 

अहिलेको सम्भावना के छ भने कांग्रेसले आफ्नो परम्परागत ३२/३३ प्रतिशत भोटलाई मात्र यथावत् राख्न सकेमा मात्र पनि एक नम्बरको पार्टी हुन्छ । त्यसका लागि पनि पार्टी एक ठाउँमा उभिनुपर्‍याे । शेखर कोइराला र शेरबहादुर देउवाले राष्ट्रिय चुनावमा एक ठाउँमा उभिएर ल कांग्रेस आयो भन्ने राष्ट्रिय भावधारा बगाउन सक्नुभयो भने यही ३२/३३ प्रतिशत भोटले पनि कांग्रेस एक नम्बरको पार्टी हुन्छ । 

अवसर, चुनौती तथा सम्भावना सबै कायम छन् । तर शेरबहादुरजीको यो पुरानो कार्यशैली परिवर्तन हुनुपर्छ । अहिलेसम्म ४० वर्षमा नभएको त्यो होला कि नहोला भन्ने पनि छ । प्रधानमन्त्रीको रूपमा उहाँले केही दिन सकिरहनुभएको छैन । त्यसको प्रतिक्रिया मतदानमा हुनेवाला छ । पार्टी एक ठाउँमा उभियो भने उहाँले अलि राम्रो परिणाम दिन सक्नुहुन्छ । पार्टी एक ठाउँमा उभ्याएर राख्ने चुनौती फेरि उहाँकै हो । उहाँले शेखर कोइरालासँग कुन ढङ्गको सम्बन्ध र कसरी सम्झौता गर्नुहुन्छ, त्यसले पनि महत्त्व राख्छ । (कुुराकानीमा आधाारित)

अन्तिम अपडेट: साउन १९, २०७९

पुरञ्जन आचार्य

पुरञ्जन आचार्य राजनीतिक विश्लेषक हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया