आज सर्वदलीय बैठक बस्दै, संसद् अवरोध र एमसीसीकाे विषयमा छलफल हुने

 पुस ४, २०७८ आइतबार ८:१६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाउनु भएको छ ।

प्रधानमन्त्री देउवाले संसदमा भइरहेकाे अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न दिउँसो ४ बजे बैठक बोलाउनु भएको हो।

बैठकमा संसदमा सहभागी सबै दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ। तर, बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ ।

एमालेले कारबाही गरेका व्यक्ति समेटेर दर्ता भएको दल नेकपा एकीकृत समाजवादी सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उप–नेता सुवास नेम्वाङले बताउनुभयो । यसअघि पनि नेकपा एसको सहभागितालाई लिएर एमालेले सर्वदलीय बैठक बहिस्कार गरेको थियो ।

एमालेको अवरोधका कारण दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ ।

बैठकमा प्रधानमन्त्री देउवाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी सम्बन्धी सम्झौता अनुमोदनको विषयमा संसदमा भएका दलहरुसँग छलफल गर्ने तयारी पनि गर्नु भएको छ ।  सरकारले संसद्को चालु अधिवेशनबाटै एमसीसी सम्झौता पारित गर्ने तयारी गरेको छ ।

तर नेकपा एमालेले आफूले सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै संसद् अवरोध गर्दै आएको छ । त्यस्तै सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी केन्द्रलगायतका दल एमसीसी सम्झौता जस्ताको तस्तै पारित गर्न नहुने पक्षमा छन् । यसले गर्दा प्रधानमन्त्री देउवालाई एमसीसी पारित गर्न चुनौती देखिएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया