चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
कांग्रेसको १४औँ महाधिवेशनमा धेरै नेता कार्यकर्ताले उठाएको एजेण्डा थियो–नेतृत्व परिवर्तन र पुस्तान्तरण । संस्थापनइतर समूहले खोजेजस्तो मूल नेतृत्वमा आमूल परिवर्तन त भएन । तर पनि महाधिवेशन प्रतिनिधिले पुस्तान्तरणको पक्षमा बलियो मत दिएका छन् ।
१३ जना पदाधिकारीमध्ये सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काबाहेक अरु सबै नयाँ अनुहार छानिएका छन् । उपसभापतिमा धनराज गुरुङ तथा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा जस्ता युवा नेताहरुको जितले कांग्रेसभित्र मात्र होइन, देशभर नै तरङ्ग ल्याएको छ । युवाहरुको जितले अब कांग्रेस नयाँ बन्छ भन्ने धेरैलाई लागेको छ । तर पार्टी हाँक्ने अभिभारा युवाको काँधमा पुगेकोमा फुरुङ्ग भएका कांग्रेस नेता कार्यकर्ताले पार्टीभित्र टाल्न नसकेको अर्को भ्वाङ भने बिर्सिएका छन् । त्यो हो–कांग्रेसको नेतृत्वमा क्रमशः हराउँदै गएको तराई मधेशको प्रतिनिधित्व । यो महाधिवेशनपछि कांग्रेसको नेतृत्वमा तराईका अनुहारहरु आरक्षणको बलमा मात्र देखिएका छन् । तराईको अनुहार कांग्रेस नेतृत्वको अग्र मोर्चाबाट लगभग विलुप्त भएको छ ।
यसपालि विमलेन्द्र निधि मधेशी समुदायबाट कांग्रेसको सभापतिमा उम्मेदवार भएका थिए । तर निधि पराजित भए । यसअघि कांग्रेसमा परशुनारायण चौधरी र महेन्द्र नारायण निधि महामन्त्री तथा डा. रामवरण यादव सहमहामन्त्री भएका थिए । महन्थ ठाकुर, चित्रलेखा यादव र सीतादेवी यादव कोषाध्यक्ष बने । विमलेन्द्र निधि र विजयकुमार गच्छदार उपसभापति तथा सीतादेवी यादव कोषाध्यक्ष थिए । तर यसपालि सभापति त परको कुरा उपसभापति र महामन्त्रीमा कुनै पनि मधेशी नेता निर्वाचित हुन सकेनन् । महामन्त्रीमा त मधेशी समुदायबाट उम्मेदवार नै थिएनन् । उपसभापतिको उम्मेदवार बनेका गच्छदार २ मतले धनराज गुरुङसँग पराजित भए ।
महिला, दलित, आदिवासी जनजाति, थारु, खस आर्य, पिछडिएको क्षेत्रसँगै मधेशीबाट पनि ल्याउनै पर्ने बाध्यात्मक व्यवस्थाले केही अनुहार त कांग्रेसको नेतृत्वमा देखिनेछन् । तर, तराईका स्थापित नेता उमाकान्त चौधरी समेत यो पालि कोटाबाट नेतृत्वमा पुग्ने स्थिति पैदा भएको छ । मधेश बुझेको हिसाबले विश्वप्रकाश शर्माबाहेक कांग्रेसको निर्णायक तहमा यसपटक मधेशको मर्म चिन्ने मान्छेको समेत खडेरी लागेको छ । १४औँ महाधिवेशनमा सभापतिको सशक्त उम्मेदवार दाबी गर्दै आएका विमलेन्द्र निधिले जम्मा २५० मत पाए । २२ मत ल्याएका कल्याण गुरुङ बाहेक कसैलाई पनि उनले जित्न सकेनन् ।
विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय निधि पछिल्लोपटक कांग्रेस उपसभापति थिए । उपप्रधानमन्त्री पनि भैसकेका छन् । मधेशमा उनलाई कांग्रेस पार्टीको खम्बाको रुपमा चिनिन्छ । तर पहिलोपटक मधेशी समुदायबाट कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका निधिले जित्न त परको कुरा, आफ्नै प्रदेशका प्रतिनिधिको मत र मन पनि तान्न सकेनन् । प्रदेश २ मा ८ सय ६ मतदाता रहेकोमा उनले मुश्किलले त्यसको एक तिहाइ मत ल्याए ।
देउवा समूहबाट उठेको कारण सभापतिमा निधिको भन्दा धेरै मत ल्याएका उपसभापतिका उम्मेदवार गच्छदार पनि पार्टीको अघिल्लो मोर्चाबाट किनारा लागेका छन् । निधिले सभापति जित्छन् भन्ने आश नभए पनि गच्छदार उपसभापतिमा चयन हुन्छन् भन्ने धेरैको अनुमान थियो । तर गच्छदारको हारसँगै कांग्रेसको उपसभापति र महामन्त्रीजस्तो निर्णायक तहको पदमा पुग्नबाट मधेशी नेता परै छुटेका छन् । यसअघि कांग्रेसमा विमलेन्द्र निधिका बुबा महेन्द्रनारायण निधि महामन्त्री थिए ।
२०४६ सालको परिवर्तनअघि महेन्द्रनारायण निधि र परशुनारायण चौधरी महामन्त्री भएका थिए भने त्यसपछि महन्थ ठाकुर कोषाध्यक्ष, रामवरण र विमलेन्द्र निधि केही समयका लागि महामन्त्री भएका थिए । पछि चित्रलेखा यादव र सीतादेवी यादव कोषाध्यक्ष भए । कोषाध्यक्ष चयन गर्ने पार्टीको केन्द्रीय समितिले हो, तर त्यसमा दाबी गर्नेहरु धेरै छन् ।
केन्द्रीय सदस्यहरुमध्येबाट मनोनयन हुने कोषाध्यक्षमा यसपटक मधेशी नेता पर्छन्/पर्दैनन् भन्ने निश्चित छैन । कोषाध्यक्षमा मधेशी नेता नै दोहोरिए पनि उपसभापति र महामन्त्रीजस्तो भूमिका कोषाध्यक्षको पनि हुँदैन।
मधेशसँग कांग्रेसको साइनो
२००३ सालमा भारतको कोलकातामा पहिलो अधिवेशन गरी स्थापना भएको नेपाली कांग्रेसको मूल आधार नै मधेश हो । पार्टीमा सुरुवातदेखि नै मधेशी नेताहरुको संलग्नता र सक्रियता थियो । २००९ मा जनकपुरमा भएको पाँचौँ महाधिवेशनबाट वीपी कोइरालाको नेतृत्वमा १६ सदस्यीय कांग्रेस कार्यसमिति गठन हुँदा मधेशका नेताहरु रामनारायण मिश्र, राधाकृष्ण थारु र परशुनारायण चौधरी निर्वाचित भएका थिए ।
२००७ सालमा राणा, राजा र कांग्रेस सहितको अन्तरिम सरकारमा कांग्रेसबाट मधेशी नेता भद्रकाली मिश्र यातायात मन्त्री बनेका थिए । गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा मधेशकै रामवरण यादव निर्वाचित भए । यसबीचमा मधेशी समुदायका अरु नेताहरु पनि थुप्रैपटक सरकारमा पुगेका छन् ।
पार्टी स्थापनाको सुरुवाती कालमा महेन्द्रनारायण निधि, परशुनारायण चौधरी, रामनारायण मिश्र, भद्रकाली मिश्र, देवनाथ यादव, सूर्यनाथ यादव, बेनीमाधव सिंह लगायतका मधेशी नेताहरुको योगदानलाई कांग्रेसका अहिलेका नेताहरुले पनि उसैगरी सम्झन्छन् ।
कांग्रेसका मधेशी नेताहरुको नाम लिँदा धेरैले शेख इद्रिस, महन्थ ठाकुर, विजय गच्छदार, रामवरण यादवदेखि जयप्रकाश गुप्तासम्मका नाम छुटाउँदैनन् । शेख इद्रिसको निधन भइसकेको छ । ठाकुर र गुप्ता कांग्रेसबाट अलग भएका छन् । गच्छदार अर्को पार्टीमा पुगेर फेरि फर्किएका हुन् । कांग्रेसमा अहिले उनको पहिलेजस्तो शाख छैन । राष्ट्रपति भएपछि यादवले सक्रिय राजनीति छाडे । महन्थ ठाकुरले अर्कै पार्टीको कमाण्ड चलाउन थालेपछि कांग्रेसबाट मधेशी नेता र भोट दुवै कमजोर भएका छन् । राजेन्द्र महतोसँग निधिको हार यसैको एउटा उदाहरण हो ।
कांग्रेस नेताहरु भन्छन्– पार्टीकोे सङ्गठनको मूल आधार नै मधेश हो । मधेशमा पार्टी बलियो हुँदासम्म मात्रै पार्टीले चुनाव जित्छ । मधेशमा कमजोर भएका बेला पार्टी हार्छ । मधेशबाट साथ पाएको बेलामा मात्रै कांग्रेस सरकारमा पुगेको छ । आमचुनावमार्फत प्रधानमन्त्री चुनिएका कांग्रेसका पाँच प्रधानमन्त्रीमध्ये चार जनालाई मधेशले नै निर्वाचित गरेको हो ।
२०१५ सालको चुनावमा वीपी कोइराला मोरङबाट निर्वाचित भएर प्रधानमन्त्री भएका थिए । २०४८ सालमा मोरङ र सुनसरीबाट विजयी भएर गिरिजाप्रसाद कोइराला तथा २०५६ सालमा पर्साबाट विजयी भएर कृष्णप्रसाद भट्टराई र २०७० सालमा बाँकेबाट विजयी भएर सुशील कोइराला प्रधानमन्त्री भए । उनीहरु मधेशी नभए पनि तराई मधेशको मर्म बुझेका नेता भनेर चिनिन्थे । कांग्रेसमा अहिलेसम्म भएका प्रधानमन्त्रीमध्ये शेरबहादुर देउवा मात्र पहाडी जिल्ला डडेलधुराबाट निर्वाचित हुने गरेका छन् । तर उनको विजयले तराईको मर्म बुझ्दैन ।
२०४८ सालमा भएको आमचुनावमा २०५ निर्वाचन क्षेत्रमध्ये ८३ सिट मधेशमा थिए । तीमध्ये ४७ सिटमा कांग्रेस विजयी भएको थियो । २०५१ सालको चुनावमा ८३ वटा निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ३८ वटामा जित हासिल गर्यो । २०५६ को चुनावमा तराई मधेशका ८३ मध्ये ५८ सिटमा कांग्रेस विजयी भयो ।
२०६४ सालको संविधानसभामा २४० निर्वाचन क्षेत्रमध्ये तराई मधेशमा ११६ क्षेत्र थियो । यसमध्ये कांग्रेसले जम्मा १६ वटा क्षेत्रमा मात्र विजय हासिल गर्यो । तर त्यतिबेला पनि कांग्रेसले प्रत्यक्षतर्फ जितेका ३७ मध्ये १६ सिट तराई मधेशबाटै थिए ।
दोस्रो संविधानसभा चुनावमा तराई मधेशका जम्मा ११६ मध्ये ४१ क्षेत्रमा कांग्रेस विजयी भयो । पछिल्लोपटक २०७४ सालमा भएको आमचुनावमा कांग्रेसलाई धक्का लाग्यो । प्रत्यक्षतर्फ कुल १६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले २३ ठाउँमा मात्रै जित्यो । तर यसमध्ये १६ सिट चाहिँ तराई–मधेशबाटै कांग्रेसलाई मिलेको छ ।
पार्टीभित्र मधेशको ठूलो लगानी भए पनि अहिले मधेशमा कांग्रेस कमजोर छ । कांग्रेस कमजोर हुँदा मधेशमा अहिले क्षेत्रीय पार्टीहरुको हालीमुहाली बढेको छ । १४ औँ महाधिवेशनबाट नेतृत्वको अग्रपङ्क्तिमा आशालाग्दा युवा नेताहरुको उदयसँगै संस्थापन र अर्को पक्षको सन्तुलन त मिलेको छ । तर पार्टी हाँक्ने अग्रमोर्चामा मधेशको प्रतिनिधित्व कमजोर हुँदा कांग्रेसले भन्दै आएको पुनर्जागरण र नयाँ कांग्रेस बनाउने अभियानमा ठेस लाग्ने देखिन्छ ।
समावेशीताको अभाव अनुभव गरेका धनराज र युवाहरुको भरोसा बनेर उदाएका गगन थापाले मधेशको मर्मलाई एक हदसम्म बुझेका विश्वप्रकाश र शेखर कोइरालालाई साथ र आड नदिए तराईमा कांग्रेसको नियति एमालेको भन्दा फरक हुने छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।