ऊर्जा खपत, समय, मूल्य र वातावरणीय हिसाबले विद्युतीय चुल्हो सबैभन्दा उपयुक्त

 पुस ७, २०७८ बुधबार १२:३३:९ | डा. जगन्नाथ श्रेष्ठ
unn.prixa.net

झण्डै एक वर्षअगाडि हामीले खाना पकाउनका लागि एलपीजी ग्यास वा बिजुली कुन राम्रो भनेर अध्ययन तथा अनुसन्धान गरेका थियौं । केहीले राइस कुकरमा खाना पकाउँदा फाइदा हुन्छ भने । केहीले एलपीजीबाट फाइदा हुन्छ भने । तर, प्रमाणिक रुपमा यत्ति नै फाइदा हुन्छ भन्ने कुरा आएको थिएन । 

त्यसकारण हामीले दुईवटा अनुसन्धान गर्यौं । एउटा एलपीजीको प्रयोग गर्यौं भने अर्को माटोको पारम्परिक विद्युतीय हिटर । एउटा राइस कुकर । अर्को इण्डक्सन कुकरको प्रयोग गर्यौं । इण्डक्सन कुकरमा पनि दुई वटा कम्पनीको प्रयोग गर्यौं । अर्को एउटा नेपालीले डिजाइन गरेको अनि चीनमा बनेर आएको इन्फ्रारेड कुकरको पनि प्रयोग गर्यौं । 

एकरुपताका लागि जिरा मसिनो चामल आधा किलो एलपीजी तथा विभिन्न विद्युतीय उपकरण प्रयोग गरेर  पकाउँदा समय कति लाग्यो, ऊर्जा कति खपत भयो र त्यो ऊर्जाका लागि कति पैसा तिर्नुपर्ने भयो भनेर हामीले हिसाब निकालेका थियौं । 

एक वर्ष अगाडिको प्रयोगमा एलपीजी ग्यासमा आधा किलो चामल पकाउन ११ मिनेट लाग्यो । ऊर्जा भने ३ सय २० वाट आवर खर्च भयो । त्यो भनेको १ युनिटको झण्डै एक तिहाई । एलपीजीको त्यसबेला १३ सय ५० रुपैयाँ मूल्य थियो । त्यसरी हिसाब गर्दा २ रुपैयाँ ४६ पैसा पर्न आयो । 

माटोको विद्युतीय हिटरमा आधा किलो जिरा मसिनो चामल पकाउँदा समय २१ मिनेट लाग्यो । ऊर्जा भने एलपीजी जत्तिकै अर्थात ३ सय २० वाट आवर खर्च भयो । मूल्य हिसाब गर्दा ३ रुपैयाँ २४ पैसा पर्न आयो । समय बढी लागेका कारण ऊर्जा बढी खायो र पैसा बढी पर्न आयो । 

खाना पकाउँदा एलपीजीमा २ रुपैयाँ ४६ पैसा लाग्यो भने इण्डक्सनमा १ रुपैयाँ ४२ पैसा । यसबाट इण्डक्सनमा झण्डै ४० प्रतिशत बचत भएको प्रमाणित भयो । 

राइस कुकरमा पकाउँदा समय भने २८ मिनेट लाग्यो । ऊर्जा भने १ सय ९० वाट आवर अर्थात १ युनिटको पाँच खण्डको एक खण्ड । मूल्यका हिसाबले १ रुपैयाँ ८७ पैसा पर्न गयो । शायद त्यसकारण होला हामी नेपालीको घरमा एलपीजी भए पनि भात भने राइस कुकरमा पकाउने गरेको देखेका छौं । 

त्यसपछि हामीले एकमुखे इण्डक्सन कुकरको प्रयोग गर्यौं । जसमा आधा किलो जिरा मसिनो चामल पकाउन ८ मिनेट लाग्यो । ऊर्जा पनि १ सय ४० वाट आवर मात्रै लाग्यो । त्यसको मूल्य पर्न गयो १ रुपैयाँ ४२ पैसा । त्यसबेला हामीले १ युनिट बिजुलीको १० रुपैयाँको दरले हिसाब गरेका थियौं । यसरी एलपीजीमा २ रुपैयाँ ४६ पैसा लाग्यो भने इण्डक्सनमा १ रुपैयाँ ४२ पैसा । यसबाट इण्डक्सनमा झण्डै ४० प्रतिशत बचत भएको प्रमाणित भयो । पहिले इण्डक्सन सस्तो राम्रो भन्ने कुरा आएको थियो । तर, कति सस्तो भन्ने कुरा भने प्रामाणिक रुपमा आएको थिएन । हामीले यो प्रयोग इन्फ्रारेड कुकरमा पनि गर्यौं । इन्फ्रारेडमा भने त्यतिनै भात १२ मिनेटमा पाक्यो भने ऊर्जा खपत भने झण्डै उस्तै २ सय वाट आवर भयो । मूल्यका हिसाबले २ रुपैयाँ ३ पैसा लाग्यो । इन्फ्रारेड भने एक मुखे तथा दुई मुखे दुवै पाइन्छ बजारमा । 

नेपालीहरुको पाककला व्यवहारमा अरुको कुरा सुन्ने र चाँडै पत्याउने बानी छ । इण्डक्सनमा इलेक्ट्रोम्याग्नेटिक विधिबाट खाना पाक्ने, भाँडो पनि विशेष प्रकारको हुने तथा आगो पनि नदेखिने हुँदा खाना कसरी पाक्यो भनेर जिज्ञासा पनि भयो । एक, दुई जना मान्छेले क्यान्सर हुन्छ भनेर पनि हल्ला फैलाए । तर, त्यस्तो होइन । हामीले एक वर्ष अगाडि अनुसन्धान गर्दा एलपीजी ग्यासको झण्डै १४ सय थियो भने अहिले १५ सय ७५ रुपैयाँ पर्छ । ग्यास झन महंगो भएको छ । त्यसकारण ग्यासको प्रयोग भन्दा पनि इण्डक्सन चुल्होको प्रयोग समय, ऊर्जा तथा मूल्य सबैमा फाइदाजनक देखियो । 

अमेरिकाको क्लिन कुकिंग अलायन्सले एलपीजी र इलेक्ट्रिसिटी प्रयोग गर्दा स्वास्थ्यलाई असर गर्ने नाइट्रिक अक्साइड (NOx) काे मात्रा एलपीजी भन्दा विद्युतमा पकाउँदा कम भएको पाइयो । 

अहिलेको हिसाबले हेर्दा ५ महिना त हामीकहाँ विद्युत अधिक हुन्छ । हामीले विद्युत छिमेकीलाई बेच्न खोज्दा पनि धेरै समस्या आयो । त्यसकारण ऊर्जाको खपत आफ्नै देशमा गर्दा राम्रो हुने देखियो । हामीले ऊर्जाको प्रयोग गर्दा भान्साबाट निस्कने वातावरण दुषित पार्ने पीएम २.५ तथा पीएम १० तत्व कति हुन्छ भन्ने कुरामा समेत विचार पुर्याउनु पर्ने हुन्छ । आजभन्दा ७ वर्ष अगाडि भक्तपुरको ७ सय घरमा दाउरा, मट्टीतेल तथा एलपीजी ग्यास तथा विद्युत प्रयोग गर्दा पीएम २.५ कति हुन्छ भनेर युनिभर्सिटी अफ क्यालिफोर्नियाको बर्केलेका वैज्ञानिक तथा विद्यार्थीहरुले एउटा अध्ययन गरेका थिए । अध्ययनबाट के निष्कर्ष निस्कियो भने विद्युत प्रयोग गर्दा भान्साबाट निस्कने पीएम २.५ तत्व ८० माइक्रो ग्रामप्रति क्युविक मिटर निस्कियो भने एलपीजी प्रयोग गर्दा १ सय १ ग्राम, मट्टीतेल प्रयोग गर्दा १ सय ७० ग्राम तथा दाउरा प्रयोग गर्दा ९ सय २४ ग्राम निस्किएको पाइयो । त्यसकारण विद्युतीय चुल्हो प्रयोग गर्दा पैसा मात्र सस्तो नभएर वातावरण प्रदुषण समेत कम हुने देखियो । अमेरिकाको क्लिन कुुकिंग अलायन्सले एलपीजी र इलेक्ट्रिसिटी प्रयोग गर्दा स्वास्थ्यलाई असर गर्ने नाइट्रिक अक्साइड (NOx) काे मात्रा एलपीजी भन्दा विद्युतमा पकाउँदा कम भएको पाइयो । 

त्यसैले दुई वटा प्रसिद्ध निकायले गरेको अध्ययनबाट के देखियो भने अन्य सबै ऊर्जा भन्दा विद्युत प्रयोग गर्नु सबै दृष्टिकोणबाट फाइदाजनक देखियो । माटोको हिटर र राइस कुकरलाई छोडेर इण्डक्सन तथा इन्फ्रारेड कुकर मध्ये कुन प्रयोग गर्दा उपयुक्त हुन्छ भन्ने सन्दर्भमा ऊर्जाको खपतका हिसाबले इण्डक्सन राम्रो देखिन्छ । तर, इण्डक्सनका लागि विशेष किसिमको भाँडो चाहिने तथा इन्फ्रारेडमा जुनसुकै भाँडोको प्रयोग गर्न सकिने तथा पाक्नलाई आगो बलेको देखिनुपर्नेे नेपालीको मनोविज्ञानलाई हेर्दा इन्फ्रारेड उपयुक्त देखिन्छ । 

इण्डक्सन खासगरी एक मुखे पाइने तथा मूल्य पनि २ हजार ५ सयदेखि ८/९ हजार पर्नेसम्म हुन्छ । अहिले हाम्रा महिला दिदीबहिनी पनि धेरै कामकाजी भएकोले एकमुखेमा कुरेर बस्न अलि समस्या पर्छ । तर, अहिले त दुईमुखे इण्डक्सन पनि बजारमा पाइन्छ । इन्फ्रारेड चुल्हो त पहिलेदेखि नै दुईमुखे पाइन्छ बजारमा । इण्डक्सनमा पावर फ्याक्टरको कुरा हुन्छ । पावर फ्याक्टरको कुरा गर्दा १ सँग जुन नजिक आउँछ त्यो राम्रो हो । त्यसले गर्दा मूल्यमा पनि फरक पर्न जान्छ । 

प्रत्येक घरमा कमसेकम १५ एम्पीयर क्षमताको मिटर राख्न सकियो भने इण्डक्सन कुकर सजिलै प्रयोग गर्न सकिन्छ । यो ठूलो कुरा होइन । तर, वितरण प्रणालीमा सुधार भने महत्वपूर्ण कुरा हो । 

हालसालै नेपाल सरकारले विद्युत् प्रयोग गर्नका लागि प्रहरी तथा सेनामा पनि इण्डक्सनको प्रयोग गर्ने भनेर नीति तय गरेको छ, जुन असाध्यै राम्रो कुरा हो । तर, घरायसी प्रयोगका लागि ४/५ जना भए पुग्ने अनि ब्यारेकमा त कम्तीमा पनि १ सय जना हुने हुँदा डिजाइन अर्कै हुनुपर्यो । जुन डिजाइन नेपालमा कार्यरत झण्डै ४० हजार इन्जिनियरहरुले सजिलै गर्नसक्ने कुरा हो । 

ग्यास विस्थापनका चुनौती

हामीले भान्साबाट छिटै ग्यास विस्थापन गर्न त सक्छौं तर, त्यसका केही चुनौतीहरु छन् । विद्युत प्राधिकरणको झण्डै ४५ लाख ग्राहक मध्ये आधा जनसंख्या अर्थात २०/२२ लाख ग्राहकको घरमा केवल ५ एम्पीयरको मिटर छ । तर इण्डक्सन कुकरका लागि १२ सय वाटदेखि २ हजार वाटसम्म बिजुली चाहिन्छ, त्यसकारण यी २०/२२ लाख ग्राहकलाई इण्डक्सन कुकर उपयुक्त नहुन सक्छ । प्रत्येक घरमा कमसेकम १५ एम्पीयर क्षमताको मिटर राख्न सकियो भने इण्डक्सन कुकर सजिलै प्रयोग गर्न सकिन्छ । यो ठूलो कुरा होइन । तर, वितरण प्रणालीमा सुधार भने महत्वपूर्ण कुरा हो । 

हामीले धेरैजसो मानिससँग कुरा गर्दा उहाँहरु इण्डक्सन कुकर प्रयोग गर्न राजी हुनुहुन्छ । तर, उहाँहरुको एउटै गुनासो छ नेपाल सरकार तथा विद्युत प्राधिकरणसँग कुरा गरेर यो झ्याप झ्याप बत्ती जाने कुरा बन्द गर्नपर्यो । हामीले अध्ययन गरेका साथीहरुको घरमा पनि ५/५ मिनेटमा बत्ती गएपछि काँचो भात खाएर अफिस जाने भनेर गुनासो आउने गरेको छ । उहाँहरुले कमसेकम बिहान, बेलुका नेपालीले खाना पकाउने समयमा बत्ती झ्याप झ्याप नजाने व्यवस्था मिलाइदिनु भयो भने हामी एलपीजी विस्थापित नै गर्छौं भन्नुहुन्छ । वर्षमा १२ वटा सिलिण्डर खपत गर्नेमा एउटामा झार्न सकिने उहाँहरुको सुझाव छ ।

त्यसकारण प्राधिकरणले २२० भोल्ट, ५० हर्जको स्तरीय विद्युत वितरण गर्नुपर्ने उहाँहरुको भनाइ छ । ट्रान्सफर्मरबाट कहिलेकाहीं टाढा वितरण गर्दा १ सय ८० भोल्ट मात्र विद्युत जाने हुन्छ । त्यसलाई स्टेवलाइजर राखेर भोल्टेज बढाउनु पर्यो भने त्यसका लागि थप पैसा खर्च गर्नुपर्ने छ । 

दुई वर्ष अगाडिको तथ्यांक हेर्दा एक दिनमा झण्डै ८२ हजार एलपीजी ग्यासको प्रयोग हुन्थ्यो । अहिले मेरो अनुमानमा दिनमा एक लाख एलपीजी ग्यासको प्रयोग हुन्छ ।

यी तपशिलका कुरा भए । यस्ता प्राविधिक कुरा गर्न नेपाल सक्षम छ । यसका लागि पैसा चाहियो । तर, पैसाको स्रोत पनि छ हामीसँग । हामी अहिले १५ सय ७५ ग्यासलाई तिर्छौं । त्यसमा आयल निगमले झण्डै ७ सय घाटा व्यहोर्नु परेको तथ्यांक निगमले नै सार्वजनिक गरेको छ । 

दुई वर्ष अगाडिको तथ्यांक हेर्दा एक दिनमा झण्डै ८२ हजार एलपीजी ग्यासको प्रयोग हुन्थ्यो । अहिले मेरो अनुमानमा दिनमा एक लाख एलपीजी ग्यासको प्रयोग हुन्छ । एउटा सिलिण्डरमा ७ सय अनुदानको कुरा गर्दा दिनको ७ करोड हुन आउँछ । महिनाको २ अर्ब रुपैयाँ । विद्युत प्राधिकरणलाई ६ महिनाको पैसा दिएर काठमाण्डौ उपत्यकाको एउटा भागमा वितरण प्रणालीमा सुधार गर्ने हो भने त्यहाँका जनताले वर्षमा १२ वटा सिलिण्डर प्रयोग गर्नेमा १ वटा अत्यावश्यक प्रयोगको लागि राख्ने हो भने व्यापार घाटा त कति कम हुन्छ हुन्छ । 

यो गर्न नसकिने र प्राविधिक रुपले गाह्रो कुरा पनि होइन । यो त प्राधिकरणका इन्जिनियर तथा हामी मिलेर गर्न सकिने कुरा हो । तर, यसरी सुधार गर्दा ठूलो ट्रान्सफर्मर राख्न तथा तारको साइज ठूलो राख्न आउँदा प्राधिकरणको कर्मचारीलाई सहयोग गर्नुपर्यो । यसमा नेपाली जनताले प्राधिकरणका प्राविधिकलाई सहयोग गर्नुपर्यो । यसमा मेरो घर अगाडि पोल नराख्, ठूलो ट्रान्सफर्मर नराख् भनेर भन्नु भएन । यसमा नेपाली नागरिकलाई पनि सुसूचित गर्नुपर्यो । 

कुनै एउटा टोलमा ३ सय घर छ र ती सबै घरले बिहान ७ बजे एकै पटक इन्डक्सन चुल्होको प्रयोग गरेर भात पकाउनका लागि ट्रान्सफर्मरले धान्नु पर्यो । कि त ट्रान्सफर्मरको क्षमता बढाउनु पर्यो । अन्यथा आलोपालो गर्नुपर्यो । जसका लागि ३ सय घर भएको टोलमा जोर नम्बर भएको घरले सातदेखि साढे सात बजेसम्म भात पकाउने । बिजोर नम्बर हुनेले साढे सातदेखि आठ बजेसम्म भात पकाउने । यसो गर्दा तीस मिनेटमा दुई थरी खाना त पाकिहाल्छ नि । 

२०७२ सालमा भूकम्प आउँदा हामीकहाँ विद्युतको लाइन पनि बिग्रियो । सबैले एकै पटक प्रयोग गर्दा ट्रान्सफर्मरको क्यापासिटर जल्न थाल्यो । एलपीजी थिएन नाकाबन्दीका कारण । यसमा टोलमा गएर सम्झाएर आलोपालो गरेर पकाउँदा पछि ट्रान्सफर्मरले पनि राम्रोसँग काम गर्यो । यो उदाहरण हो । बजारमा अहिले २५ सयदेखि ८ हजारसम्मको इण्डक्सन कुकर पाइन्छ । अब राम्रो चाहिँ कुन हो त भन्दा पावर फ्याक्टरको कुरा आउँछ । अन्तरक्रियामा साथीहरुले इण्डक्सन राम्रो हो, समय, पैसा सबै बचत त हुन्छ तर, तीन महिना पनि टिक्दैन भन्ने कुरा पनि ल्याउनु भयो । त्यसकारण धेरैले एलपीजीको प्रयोग गर्न खोज्छन् ।

सबैले प्रयोग गर्दा लाखौं इण्डक्सन चाहिने हुँदा सुरुमा एसेम्बल गर्ने र पछि विस्तारै नेपालमै बनाउने व्यवस्था गर्नुपर्छ । त्यसले गर्दा पैसा पनि घट्छ भने पार्टपुर्जा पनि सजिलै प्राप्त हुन्छ ।

मानिस त्यो कुरा प्रयोग गर्न मन पराउँछ जुन उसको नियन्त्रणमा हुन्छ र प्रयोग गर्न सहज हुन्छ । त्यस्तो चिजको लागि मान्छेले पैसा पनि धेरै तिर्छ । जस्तो खबरमा आएको जुम्लामा एउटा नयाँ सिलिण्डरका लागि १० हजार तिरेका छन् मान्छेले । पुरानोको लागि ६ हजार । उनीहरुले किन यो पैसा तिरे भन्दा उसको नियन्त्रणमा छ । सजिलो छ । आवश्यक पर्दा बाल्छ नभए निभाउँछ । 

तर, प्राधिकरणको बिजुली त तपाईँको हातमा छैन । अरु देशमा जस्तो ग्यारेण्टी हाम्रो देशमा छैन । अर्को कुरा इण्डक्सन कुकर बिक्रेता कम्पनीले यदि इण्डक्सन कुकर बिग्रिएमा २४ घण्टाभित्र कि मर्मत गर्ने अन्यथा नयाँ दिने व्यवस्था मिलाउने गर्नुपर्छ । यसले गर्दा मानिसलाई उसको खाना पाक्छ भन्ने कुरामा ढुक्क हुनसक्छ । 

सबैले प्रयोग गर्दा लाखौं इण्डक्सन चाहिने हुँदा सुरुमा एसेम्बल गर्ने र पछि विस्तारै नेपालमै बनाउने व्यवस्था गर्नुपर्छ । त्यसले गर्दा पैसा पनि घट्छ भने पार्टपुर्जा पनि सजिलै प्राप्त हुन्छ । इण्डक्सन कुकर प्रयोग गर्नका लागि हामीले थुप्रै काम गर्नुपर्ने छ । तर, त्यसमा हामीले सबै सजिलै गर्नसक्छौं । 

इण्डक्सन कुकरको प्रयोग बढ्दा नेपालको बिजुली नेपालमै खपत हुने कारणले व्यापार घाटा घट्न जान्छ । हामीले घरमा एउटा एलपीजी ग्यास प्रयोग गर्छौं । तर, भोलि नपाइएला भनेर दुई, तीनवटा राखेका हुन्छौं । यसरी हेर्दा १५ सय प्रयोग गर्नका लागि अनि जगेडाका लागि ३५ सय गर्दा झण्डै ५ हजार रुपैयाँ हुन आउँछ । जसको हिसाब गर्दा अर्बौं हुन आउँछ । यदि त्यो अर्बौं रुपैयाँ बैंकमा जम्मा भएको भए बैंकले कति राम्रो काम गथ्र्यो होला । हामीले जगेडा ग्यास राख्ने होइन त्यो पैसा बैंकमा राखौं अनि बैंकले विकासको काम गर्छ । 

अर्को कुरा भनेको नेपाल सरकार तथा विद्युत प्राधिकरणले नेपालीले खाना पकाउने समय बिहान सातदेखि साढेआठसम्म डेढ घण्टा अनि बेलुका पनि डेढ घण्टा गुणस्तरीय बिजुली वितरणमा ध्यान पुर्याएमा ६ महिनापछि नै विद्युतीय चुल्हो प्रयोग गर्नेको संख्या पाँच गुणाले बढ्नेछ । 

२०७७ सालसम्म नेपालमा ८३ हजार विद्युतीय चुल्हो आइसकेको तथ्यांक छ । यदि गुणस्तरीय बिजुली दिन सकेमा यो संख्या ह्वात्तै बढ्छ । र, उपभोक्ताले पनि इण्डक्सन चुल्हो किन्दा अलि स्तरीय तथा वारेन्टी, ग्यारेन्टी भएको साथै बिग्रिएमा कहाँ बनाउन सकिन्छ र जगेडा सामान प्राप्त गर्न सकिन्छ सकिंदैन भनेर बुझेर किनेका खण्डमा हामी चाँडै नै ३० प्रतिशत एलपीजी विस्थापन गर्न सक्छौं । विस्तारै बढाएर यसलाई ८०/९० प्रतिशत पनि पुर्याउन सकिन्छ । यदि स्तरीय तथा झ्याप झ्याप बत्ती नजाने अवस्था सृजना गर्न सकेमा अत्यावश्यक प्रयोगका लागि बाहेक हामीले एलपीजी राख्नु नपर्ने दिन छिटै आउँछ । 

( प्राध्यापक तथा ऊर्जा विशेषज्ञ डा. जगन्नाथ श्रेष्ठसँगको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: भदौ ३, २०७९

तपाईको प्रतिक्रिया