माओवादीको महाधिवेशन उद्घाटनमा मुख्य दलहरुलाई निम्ता, ओलीलाई प्रचण्डको फोन

 पुष ११, २०७८ आइतबार १०:४०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा माओवादी केन्द्रले आज सुरु हुने पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा प्रमुख राजनीतिक दलहरुलाई निमन्त्रणा गरेको छ । यसअघि राष्ट्रिय सम्मेलन भएकाले कुनै पनि दललाई नबोलाउने भनिए पनि महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय भएपछि उद्घाटन सत्रमा अरु दललाई बोलाइएको माओवादीले जनाएको छ ।

उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरिएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँले फोन गरेर निमन्त्रणा गर्नुभएको छ । तर, ओलीले आफू झापामा रहेकाले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन नपाउने जवाफ दिनु भएको छ ।

ओलीले पार्टी महासचिव शङ्कर पोखरेललाई पठाउने बताउनुभएको प्रचण्डको सचिवालयले जनाएको छ । यसअघि चितवनमा भएको एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा प्रचण्ड सहभागी हुनु भएको थिएन  । त्यसपछि नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा ओली र प्रचण्डको एकै मञ्चमा भेट भएको थियो । यसैबीच, माओवादी केन्द्रको महाधिवेशनको उद्घाटन दुई घण्टा पर सरेको छ । यसअघि प्रज्ञा प्रतिष्ठानमा दिउँसो १ बजे हुने भनिएकोमा ३ बजेका लागि सारिएको माओवादी केन्द्रले जनाएको छ ।

महाधिवेशन अघि  माओवादी केन्द्रको  केन्द्रीय समितिको बैठक बसिरहेको छ । बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णयको अनुमोदन गर्नेछ । महाधिवेशनका लागि काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा स्वागतद्वार बनाइएको छ ।

सम्मेलन परिसरमा पार्टीको झण्डा, तुल र ब्यानरसमेत राखिएको छ ।  प्रज्ञा भवन परिसरमामा डिस्प्लेमार्फत उद्घाटन सत्रको प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ । आठाैँ महाधिवेशनमा सहभागी हुन देशभरका प्रतिनिधि तथा पर्यवेक्षक काठमाण्डौ आइसकेका छन् । 
 

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया