बर्दियाको ठाकुरबाबा र तनहुँको व्यास नगरपालिकाबीच मितेरी साइनो

 पुस १४, २०७८ बुधबार ८:२९:५५ | भावुक योगी
unn.prixa.net

बर्दिया – लुम्बिनी प्रदेश, बर्दियाकाे ठाकुरबाबा नगरपालिका र गण्डकी प्रदेश, तनहुँकाे व्यास नगरपालिकाबीच मितेरी साइनो सम्बन्धी सम्झौता भएको छ ।

व्यास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न पुगेका बेलामा ठाकुरबाबा नगरपालिकासँग मितेरी साइनोसम्बन्धी सम्झौता भएको हो । भुरिगाउँमा व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल र ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

आर्थिक समृद्धिका लागि सँगसँगै भन्ने नारासहित मितेरी सम्बन्ध स्थापना गरिएको हो । यो सम्झौता कम्तीमा ५ वर्षसम्म कायम रहने र सम्झौता अवधि सकिएपछि पनि दुवै पक्षबीचको सम्बन्ध कुनै पक्षले अन्त्य नगरेसम्म कायम रहने ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिनुभयो ।

कृषि, शिक्षा, स्वास्थ्य, सरसफाई, पर्यटन प्रवर्द्धन तथा आयआर्जन र विकास निर्माणमा तराई तथा पहाडका पालिकाले गरेका राम्रा कामको सिको गर्दै अघि बढ्ने उद्देश्य सहित मितेरी साइनो गाँसिएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया