खोप व्यवस्थापन र भण्डारणमा चुनौती :  खोप लगाउन छुटेकालाई खोप केन्द्रसम्म पुर्याउन आह्वान

 पुस १५, २०७८ बिहिबार ८:२४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना विरुद्धको खोपका लागि आवश्यक सिरिञ्ज नहुँदा खोप अभियान प्रभावित भएको छ । गएको १३ गतेदेखि नै १२ देखि १७ वर्षसम्मका बालबालिका र किशोरकिशोरीलाई फाइजर खोप दिने भनिए पनि घोलक र सिरिञ्ज अभाव हुँदा अभियान स्थगित गरिएको छ । यसले गर्दा खोप थुप्रिरहेको छ ।

सिरिञ्ज नहुँदा आएका खोप वितरण हुन सकेको छैन भने सिरिञ्ज अभाव नभएका कतिपय ठाउँमा खोप लगाउन जानेहरुको सङ्ख्या कम छ । यसले खोप भण्डारण र व्यवस्थापनमा चुनौती बढेको छ । सरकारले सबैलाई खोप केन्द्रसम्म पुर्याउनका लागि सहयोग गर्न अनुरोध गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले अहिले सजिलै पाइरहेका बेला  खोप  लगाएर सुरक्षित हुन आग्रह गर्नु भएको छ । खोपले नयाँ ओमिक्रोन भेरियन्टसँग लड्न समेत सहयोग गर्ने भएकाले छुटेकाहरुलाई खोप केन्द्रसम्म पुर्याउन जनप्रतिनिधिसहित सबैलाई उहाँको अनुरोध पनि छ ।

स्वास्थ्य मन्त्रालयले अबको एक हप्ताभित्र सिरिञ्ज आउने अनुमान गरिएकाले अबको १० दिनभित्र फाइजर खोप दिने तयारी थालेको जनाएको छ । मन्त्रालयका सचिव डा. रोशन पोखरेले १० दिनभित्र काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतका १२ देखि १७ वर्ष उमेरका बालबालिका र किशोरकिशोरीलाई फाइजर खोपको अभियान थाल्ने तयारी भएको जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयले खोपको लागि आवश्यक पर्ने घोलक र फाइजर खोपलाई चाहिने सिरिञ्जको अभावले केही दिनको लागि खोप अभियान स्थगित गरेको थियो । सचिव पोखरेलले फाइजर खोपको लागि आवश्यक पर्ने घोलक आइसकेको बताउनुभयो । साथै फाइजर खोपलाई चाहिने सिरिञ्ज आउँदो २० गतेसम्म आइपुग्ने अनुमान रहेको उहाँले बताउनुभयो ।

फाइजर खोप अभियानको लागि फाइजर कम्पनीले बनाएको ०.३३ एमएमको सिरिञ्ज आवश्यक पर्छ । खोप अभियानको लागि छ लाख ६४ हजार ६५० मात्रा फाइजर खोप आइसकेको छ । यस्तै, मन्त्रालयले दैनिक पाँच लाख डोज खोप लगाउने तयारी समेत गरेको छ । तर, सिरिञ्ज अभाव नभए मात्रै यो लक्ष्य पूरा हुने विज्ञले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया