‘सरकार परिवर्तन हुने बित्तिकै राजदूत फिर्ता बाेलाउने प्रवृत्ति अन्त्य गरिनुपर्छ’

 पुस १६, २०७८ शुक्रबार १६:६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकार परिवर्तन हुने बित्तिकै राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । आज शुक्रवार प्रतिनिधि सभा अन्तर्गतकाे अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरूले सरकार परिवर्तन भएसँगै राजदूतहरूलाई फिर्ता बोलाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् । 

बैठकमा बोल्दै नेकपा (एमाले) का सांसद डा. भीम रावलले सरकार र मन्त्री फेरिनासाथ राजदूत फिर्ता बोलाउनुलाई बेथितिको संज्ञा दिनुभयो । यसरी समयअघि नै राजदूतलाई फिर्ता बोलाउनाले विश्वमा सरकार कमजोर हुने उहाँले बताउनुभयो । नेपालको कुटनीतिक क्षेत्र सुदृढ र प्रभावकारी नबनेको उल्लेख गर्दै उहाँले समयअनुकूल काम गर्न नसक्ने अवस्थामा पुगेको पनि बताउनुभयो । 

रावलले भन्नुभयो, ‘हामीले कुटनीतिक नियोगमा पठाउने भनेकाे त राष्ट्रको हितको साधना गर्ने, त्यो देशको प्रतिनिधित्व गर्ने व्यक्ति हो । अनि एउटा मन्त्री फेरियो, राजदूत पनि फेरियो । यो बेथितिलाई बन्द गर्नुपर्छ । कुटनीतिक क्षेत्रमा पनि यो हुनु भनेको के हो भने अन्ततः आजको प्रतिस्पर्धी विश्वमा विभिन्न दृष्टिकोणबाट राज्य एकदमै कमजोर हुने र हाम्रो कुटनीतिक क्षेत्रको केही वर्षयताको तुलना गर्‍याैँ भने त्यसमा कुनै सुदृढीकरण, प्रभावकारिताभन्दा पनि युगअनुकूल काम गर्न नसक्ने अवस्थामा पुगेको जस्तो आभास हुन्छ । भाषा, कुटनीतिक विषयको ज्ञान, त्यो देश बारेको ज्ञान, त्यहाँको परिवेशको जानकारी राख्ने हुनुपर्छ ।’

सांसद रावलले साना देशका लागि कुटनीतिक क्षमता वृद्धि गर्नु देशको अस्तित्वसँग गाँसिने तर्क गर्नुभयो । त्यसैगरी उहाँले अहिले नेपालमा सिमानासँग सम्बन्धित विषय संवेदनशील भएर आएको भन्दै देशको सुरक्षा गर्नु र नागरिककाे सुरक्षा गर्नु सरकारकाे प्रमुख कर्तव्य भएको बताउनुभयो । नेपालको सिमाना मिचिँदा पनि परराष्ट्र मन्त्रालय मौन बसेको उहाँले बताउनुभयो ।

बैठकमा बोल्दै सांसद पुष्पा भुसालले सरकार परिवर्तनसँगै राजदूत फिर्ता बोलाउनुले राम्रो सन्देश नगएको टिप्पणी गर्नुभयो । उहाँले निश्चित समयसम्म राजदूतलाई फिर्ता बोलाउन नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजदूत नियुक्ति गरिसकेपछि देशकाे सरकार परिवर्तन हुनेबित्तिकै राजदूतलाई फिर्ता गर्ने जुन अभ्यास र प्रचलन अगाडि आयो यसको सन्देश त्यति राम्रो जान नसकेको हामीले अनुभुति गरेको हुनाले कम्तीमा यति समयअघि नै फिर्ता गर्न नमिल्ने भनेर एउटा छलफल, संवाद चलाउन सक्छौँ ।’

सांसद भुसालले नेपालमा सरकार परिवर्तन भइरहने भन्दै राजदूत परिवर्तन भइरहँदा दुई देशबीचकाे सम्बन्धमा समेत असर पर्ने धारणा राख्नुभयो । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Niraj Rauniyar

    Dec. 31, 2021, 4:19 p.m.

    राजदुत नियुक्त गर्ने प्रक्रिया नै परिवर्तन गर्दा यो समस्या हाल हुन्छ कि ? कि त लोकसेवा जस्तै कुनै प्रकियावाट राजदुतको नियुक्ति गरौं न /

  •  0 Reply

तपाईको प्रतिक्रिया