दाङमा हिउँदे वर्षाले करोडाैँ मूल्य बराबरकाे काँचो इँटा नष्ट

 पुस १७, २०७८ शनिबार १२:३३:२९ | हेमराज शर्मा
unn.prixa.net

दाङ - इँटाभट्टामा पोल्न तयार पारिएको करोडाैँ मूल्यको काँचो इँटामा हिउँदे वर्षाले क्षति पुर्याएको छ । करिब एक महिनादेखि मजदुर लगाएर बनाइएको काँचो इँटा गएकाे मङ्गलवार र बुधवार परेकाे वर्षाले नष्ट गरेपछि इँटा भट्टा सञ्चालकहरु आर्थिक मारमा परेका छन् ।

दाङमा सञ्चालित इँटाभट्टामा पानी परेपछि काँचो इँटा क्षति गरेको हो । ‘दुई दिन परेको पानीले तयार गरिएको  काँचो इँटामध्ये ६० प्रतिशत नष्ट गरेको छ,’ दाङ देउखुरी इँटा व्यवसायी समिति अध्यक्ष रोम वलीले भन्नुभयो, ‘भट्टीमा पोल्नका लागि तयार पारिएको करिब सवा २ करोड काँचो इँटा तयारी गरिएकोमा करोड ८० लाख इँटामा क्षति भएको छ ।

एउटा काँचो इँटा तयार गर्न चार रुपैयाँ खर्च लाग्ने गरेको उहाँको भनाइ छ । बैंकबाट ऋण लिएर तयार गरिएको करोडौँको इँटा नष्ट हुँदा व्यवसाय नै धराशायी हुने अवस्थामा पुगेको जिल्ला अध्यक्ष वलीले बताउनुभयो। 

उहाँका अनुसार जिल्लामा पोल्नका लागि तयार पारिएको १ करोड ८० लाख काँचो इँटा काम नलाग्ने गरी क्षति भएपछि ७ करोड २० लाख रुपैयाँ बराबरकाे प्रत्यक्ष घाटा लागेको छ । यति ठूलो रकम बराबरको इँटा उठाउनै नमिल्ने गरी क्षति भएपछि यो पटक पनि जिल्लामा रहेका इँटा व्यवसायीहरु मारमा परेका छन् । हरेक वर्ष जसो हिउँदे वर्षा तथा चैते वर्षाले पोल्नका लागि तयार पारिएको काँचो इँटामा क्षति गर्ने गरेको छ । 

जिल्लामा ४२ वटा इँटा उद्योग छन् । जसमा तुलसीपुर क्षेत्रमा १५ वटा, घोराही क्षेत्रमा १५ वटा र देउखुरी क्षेत्रमा १२ वटा इँटा उद्योग रहेको दाङ देउखुरीका इँटा व्यवसायी समिति अध्यक्ष वलीले बताउनुभयो । अहिले इँटा उत्पादनको सिजन चलेकाले हरेक इँटा उद्योगमा दैनिक लाखौँ इँटा उत्पादन हुने गरेको छ । एक इँटा उद्योगमा करिब २ सयभन्दा बढी कामदारले इँटा उत्पादन गर्दै आएका छन् ।

जिल्लाभरको इँटा उद्योगमा करिब ९ हजार जनशक्ति इँटा उत्पादनमा खट्ने गरेको छ । यति ठूलो जनशक्तिले विकास निर्माणसँग जोडिएको क्षेत्रमा काम गर्ने भए पनि सरकारले काँचो इँटाको बीमा नगरि दिँदा आफूहरु वर्षातकाे विपत्तिमा पर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

धमाधम इँटा उत्पादनमा लागेका कामदारहरुले ठूलो सङ्ख्यामा इँटा बनाउने हुँदा सुकाउनका लागि काँचो इँटालाई फिजाएर राखेको बेलमा वर्षाले थप क्षति गर्ने गरेको छ ।

सरकारलाई कर तिरेर, आन्तरिक रोजगारी सिर्जना गरेर, विकास निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थका रुपमा रहेको इँटा उत्पादनमा खटिएका इँटा व्यवसायीहरु जहिले पनि मारमा पर्ने गरेको अध्यक्ष वलीले दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारले इँटा व्यवसायीहरुलाई उनीहरुको लगानीको सुरक्षामा केही भए पनि राहत दिने विषयमा सोच्नुपर्छ ।’

वर्षभरि बेच्नका लागि तयार भइरहेको इँटा पानीले नष्ट गरेपछि व्यवसायीहरु आर्थिक समस्या परेका छन् । जसोतसो व्यवहार धान्दै आएको जिल्लाका इँटा व्यवसायीहरुको भनाइ छ । यसअघि पनि गएकाे वर्ष परेको बेमौसमी पानीका कारण ठूलो मात्रामा इँटा क्षति भएको थियो । यो पटक भएको क्षतिले इँटाको मूल्यमा धक्का लाग्ने देखिएको छ । इँटाको क्षतिपूर्ति राज्यले नदिने भएपछि इँटा व्यवसायीहरुले आर्थिक भारलाई समायोजन गर्न केही प्रतिशत भए पनि तयारी इँटाको मूल्य बढाउने तयारी गरेका छन् ।

‘चिम्नीमा पोल्न तयारी अवस्थामा राखिएको करोडौँ इँटा पानी परेर नष्ट भयाे' अध्यक्ष वलीले भन्नुभयो, ‘यसले जिल्लामा इँटाको बिक्री मूल्यमा असर गर्ने निश्चित छ, केही प्रतिशत भए पनि मूल्य बढाएर घाटापूर्ति गर्नेछौँ, तर यसले सबै क्षतिलाई बेहाेर्न सक्ने अवस्था रहन्न।’

कामदारहरुलाई अग्रिम भुक्तानी गर्नुपर्ने बाध्यताका कारण हिउँदे वर्षाले इँटामा भएको क्षतिले व्यवसायीहरु थप चिन्तामा छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया