चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
‘जमाना कहाँबाट कहाँ पुगिसक्यो, आफू भने जहाँको त्यहीँ, कति गर्नु सधैँ यो लुते धन्दा ! सक्दिनँ अब त’ नाङ्लामा पट्याँस पट्याँस गर्दै चामल निफनीरहेकी बुढी एक्कासी फतफताउन थालिन् ।
‘हैन आज यसलाई के भो, कसले के भन्यो ? अचानक बर्बराउन पो थाली’ जुवा काँधमा राखेर बारीमा निस्कनै लागेका बुढा रोकिए ।
‘केही भएको पनि छैन, कसैले केही भनेको पनि हैन, दिक्क लाग्यो क्या ।’
हैन दिक्क चाहिँ किन लाग्यो त आज ?
किन भन्नु । कति गर्नु के यही एउटै काम । नयाँ नेपाल भन्छन् । गणतन्त्र आयो, संविधान आयो भन्छन् । दलहरुका महाधिवेशन कि के जाति भन्छन् । नेताहरु आफू पनि फेरिने र संसार नै फेर्ने कुरा गर्छन् । कसैले जमाना फेरियो नै भन्छन् । अब सुखको दिन आयो भन्छन् । हैन कसलाई आयो ? यो सबै कसलाई चाहिँ भयो त ?
हरे यसलाई आज के भयो ? नयाँ नेपाल, पुराना नेपाल जे आए पनि काम गर्नै पर्यो क्यारे । काम नगरी मुखमा माड लाग्दैन । नेताहरुका कुरा सुनेर पछि लागियो भने त बाबै खाल्डामा परिन्छ । आफ्नो काम गर्नुपर्छ, नेताका भाषण सुन्नुहुन्न ।
आ म त सक्दिनँ सधैँ यही एउटै काम गर्न । नेताले आफू फेरिने र अरुले जमाना फेरियो भनेपछि अब हामी पनि फेरिने हो ।
हैन के चाहिँ फेरिने त ? जे जसरी फेरिए पनि खानैपर्छ हेर । जसरी खानेकुराको जोहो हुन्छ, त्यही गर्ने हो । तैँले घरको काम गरेकी छेस्, मैले बाहिरको काम गरेको छु । जसोतसो छाक टार्न पुगेकै छ । केटाकेटीले पढेकै छन् । अब के चाहियो त, के फेर्ने ?
जे भए नि हेर बुढा महिला पुरुष बराबर भनेर भाषण पनि गर्छन् । अरु नयाँ केही नगरे पनि तिमीले गरेको काम अब म गर्छु, मैले गरेको काम तिमीले गर । आज दुवैजनाले काम फेर्ने ।
हैन आज यसलाई के को भूत चढ्यो भन्या ? तैँले के गर्ने, अनि मैले चाहिँ के गर्ने ?
तिमी चामल निफन, म जोत्न जान्छु ।
यस्ता जाबो चामल निफन्न के गाह्रो छ र ? बसीबसी गर्ने काम त हो नि । बरु तैँले हलो जोत्लिस् भनेर चाहिँ मैले पत्याइनँ ।
तिमीले नपत्याएर हुन्छ, म जोत्छु । त्यस्ता जाबो काम, गोरुको पछिपछि हलो घिसार्दै हिँड्ने त हो नि ।
ल ल हेरौँला म पनि । खै छोड् म निफन्छु, लौ जुवा बोकेर बारीमा जा ।
म पनि हेरौँला भन्दै बुढी जुवा बोकेर बाटो लागिन् । गोठमा गएर गोरु फुकाइन् । बुढाको सट्टा बुढी आएको देखेर गोरु पनि एकछिन जिल्ल परे । आज जोत्न जान नपर्ने भयो क्यारे भनेर खुसी भए । तर अरु जोत्ने दिनमा जस्तै बिहानै ढुटो र घाँस खुवाइसकेका छन् । अघाइसकेकोलाई फेरि चराउन त किन लैजालान् र, एकछिनपछि बुढो नै पुच्छर निमोठ्न आउने होला भनेर गोरु बुढीको अघिअघि बारीतिर हिँडे ।
बारीमा पुगेपछि गोरु अडिए । बुढीले छेउमा जुवा राखिन् । जुवाको दुई छेउमा रहेको सोइलामा जोतारा मिलाइन् । बारीको कान्लाबाट हलो लेराइन् । दुईवटा गोरुको काँधमा जुवा राख्न बीचमा हल्लुँड अर्थात नारा लगाएर हलो जोड्नुपर्छ भन्ने थाहा छ । तर नारा त बेस्सरी गाँठो परेको छ, त्यो पनि फुस्काउन नमिल्ने । जुवाको दुईतिर गोरुको काँध मिलाउन लामा लामा सोइला राखिएको छ । त्यहाँबाट नारा छिराएर जुवाको बीचमा कसरी पुर्याउने र हलो अड्काउने ? आपत् आइलाग्यो । जति बल गरे पनि नाराको गाँठो फुस्कँदैन । गाँठो फुस्काउन बल गर्दैमा दिन बिते । जोत्न पुगेका गोरु दङ्ग परेर चर्न थाले ।
जोत्न गएकी बुढीको यस्तो हाल भयो । चामल निफन्न घर बसेका बुढाको पनि उसैगरी चिटचिट पसिना छुट्यो । नाङ्लामा चामल राखे । दुईतिर हातले समातेर नाङ्लो उचाले । बुढीले त अलिकति उचाल्नेबित्तिकै पट्याँस गर्थ्याे । तर आफूले उचाल्दा नाङ्लो चाईंचुईं केही गर्दैन, पट्याँस त परको कुरा । हैन बुढीले पट्याँस कता लुकाइ त ? बुढाले यताउता खोज्न थाले । न चामल राखेको डालोमा पट्याँस भेटिन्छ, न नाङ्लाको पिँधमा । डालो र नाङ्लो ओल्टाइ पल्टाइ गर्दागर्दै अलिअलि भएको चामल आँगनभरी पोखियो । भित्र बाहिर धुइँपत्ताल खोज्दा पनि पट्याँस भेटिँदैन । सुनेको तर नदेखेको पट्याँस खोज्दाखोज्दै बुढाको दिन बित्यो ।
जोत्न गएकी बुढी घर आइन् । ‘तिमीलाई बुढा मैले जोत्न जान्छे भनेर फुस्काउनै नमिल्नेगरी नारामा गाँठो बनाएछौ हैन ?’ बुढाले देख्नेबित्तिकै हप्काइन् ।
‘तैँले नि तैँले, मैले चामल निफन्छु भनेर पट्याँस नै लुकाएर हिँडिछे’ बुढाले पनि रिस फेरे ।
हैन कस्तो पट्याँस भन्छौँ ?
तैँले चामल निफन्दा त पट्याँस पट्याँस गर्थ्याे नि ।
बुढाको कुरा सुनेर बुढी हाँस्न थालिन् ।
बुढीले नारा फुस्काउन नसकेको कुरा सुनेर बुढा हाँस्न थाले ।
हेर बुढी अर्काको नक्कल गरेर, कुरा सुनेर नजानेको काम नबुझी नगरेकै राम्रो । तैँलेजस्तो मैले निफन्न जान्दिनँ, मैले जस्तो तैँले जोत्न जान्दिनस् । आआफ्नो काममा हामी दुवै दक्ष छौँ । नेताहरुले जस्तो अर्काको नक्कल गर्नतिर लागियो र सुर न बेसुरसँग फेरिने कुरा गर्यो भने भोलिदेखि छाक टार्न पनि मुश्किल पर्छ । त्यसैले भोलिदेखि घरको नाङ्लाे तैँ पट्याँस पट्याँस पार, बारीमा हलो गाडेर गोरुको पुच्छुर मै निमोठ्छु !
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।