रुकुम पूर्व : हप्ता दिनदेखि हिउँमा फसेका १४ मजदुर उद्धारको पर्खाइमा

 पुस १९, २०७८ सोमबार १०:४०:२३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व - रुकुम पूर्वमा सडक निर्माणमा खटिएका १४ जना कामदारहरु एक हप्तादेखि हिउँमा फसेका छन् ।

 रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नम्बर २ पेल्माको घुसदुङमा १४ जना मजदुरहरु सात दिनदेखि हिउँमा फसेका हुन् । 

गाउँपालिकाको वडा नम्बर २ मा सडक निर्माणका लागि खटिएका कामदारहरु गएकाे १३ र १४ गते बाक्लो हिउँ परेर जमेपछि बसिरहेकै ठाउँमा फसेका हुन् । 

गाउँपालिकाबाट परेको योजना अन्तर्गत बाटो निर्माणमा खटिएका उनीहरु बाक्लो हिउँका कारण आउन नसकेका हुन् । वडा नम्बर २ का वडा सदस्य मनराम झाँक्रीका अनुसार उनीहरु काम गर्ने ठाउँमै फसेको भनेर हिजो मात्रै खबर आएको थियो । 

हिउँमा फसेकाहरुमा १० जना पुरुष र ४ जना महिला रहेका छन् । वडा नम्बर २ पेल्मा गाउँका जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, प्रेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा, नान्तेन पुन सात दिनदेखि ओढारमा बसिरहेका छन् । हप्ता दिनसम्म उनीहरुको साथमा रहेको खाने रासन पनि सकिएकाले समस्या भएको बताइएको छ । 

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले आइतवार बेलुका मात्रै खबर आएकाले उनीहरुको उद्धारको पहल भइरहेको जानकारी दिनुभयो । हिउँमा फसेका मजदुरको उद्धारका लागि गृहमन्त्रालय, प्रदेश मन्त्रालयमा हेलिकप्टर पठाउन आग्रह गरिएको  र आजै उद्धार हुने प्रजिअ बास्कोटाले बताउनुभयो । 

सुरुमा हिउँ पग्लेला र जाउँला भनेर खबर नगरेको र पछि बाक्लो हिमपात भएपछि गोठ वा ओढारको सहायतामा बसेको सूचना आएको प्रजिअको भनाइ छ । उद्धारको प्रक्रियापछि सुर्खेतबाट हेलिकप्टर ल्याउने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

आज दिनभरमा कामदारहरुको उद्धार भइसक्ने समेत प्रजिअ बास्कोटाले जनाउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया