'सुन्दरी तोप' ५० वर्षपछि सुर्खेतबाट दैलेख फर्काइयाे

 पुस २२, २०७८ बिहिबार १०:४:५९ | अमर सुनार
unn.prixa.net

दैलेख - दैलेखको ऐतिहासिक स्थल कोतगढीमा रहेको ऐतिहासिक सुन्दरी तोप ५० वर्षपछि फेरि दैलेख लगिएको छ । 

झण्डै ५० वर्षअघि २०२८ सालमा दैलेखमा रहेको ज्वाला दल गुल्म सरेर सुर्खेत जाने क्रममा झण्डै ३ महिना लगाएर सुर्खेत लगिएको ऐतिहासिक सुन्दरी तोप हिजो बिहान फेरि दैलेख लगिएको हो।

स्थानीय पालिका नारायण नगरपालिकाको पहल तथा नेपाली सेनासँगको सहकार्यमा कर्णाली प्रदेशको सुर्खेतमा रहेको नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटरले ऐतिहासिक सुन्दरी तोप दैलेखको नारायण नगरपालिका-१ मा रहेकाे नेपाली सेनाको इन्द्रदल गुल्ममा ल्याएको हाे । 

सुर्खेतबाट ट्रकमा तोप बोकेर ल्याउने नेपाली सेनाको टोलीलाई नारायण नगरपालिका र दैलेखका स्थानीय नागरिकहरुले दैलेख सदरमुकामको मुख्य बजारमा बजागाजासहित भव्य स्वागत गरेका थिए । 

ऐतिहासिक सुन्दरी तोप १८४६ सालमा बहादुर शाहको पालामा बनेको बताइन्छ । सङ्घीयतापछि दैलेख जिल्लाका राजनीतिक दल, स्थानीय पालिका, नागरिक समाजले दैलेखबाट अन्यत्र लगिएका पुरातात्त्विक सम्पदाहरु ल्याउनुपर्ने माग गर्दै आएका थिए । स्थानीय पालिका तथा प्रशासन, जिल्लामा रहेको नेपाली सेनाको पहलमा तोप दैलेख ल्याइएको नारायण नगरपालिका-१ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठले बताउनुभयो ।

सुर्खेतको पश्चिम कमान्डबाट बुधवार बिहान दैलेख लगिएको ऐतिहासिक सुन्दरी तोपमा ८१ थान गोला भरिएको दैलेखमा रहेको इन्द्रदल गुल्मका गुल्मपति दिनेश लामाले बताउनुभयो । 

ऐतिहासिक सुन्दरी तोप दैलेखको पुरानो ठाउँ गढीमा राख्नुपर्ने भए पनि गढीको पुनःनिर्माणको काम सकिन अझैकेही दिन लाग्ने भएकाले अहिलेका लागि दैलेखको इन्द्र दल गुल्ममा राखिने सेनाले जनाएको छ ।

ऐतिहासिक सुन्दरी तोपको धार्मिक महत्त्व समेत रहेको जानकारहरु बताउँछन् । विगतका वर्षहरुमा हरेक वर्ष वडा दश‌ैँको टीकाको साइतमा तोप पड्काएर सुभारम्भ जनाइने र त्यही अनुसार दशैँको टीका लगाउन सुरु गरिने  परम्परा रहेको बताइन्छ ।

ऐतिहासिक सुन्दरी तोप पुनः दैलेख ल्याएपछि दैलेखमा पर्यटकको आगमन बढ्ने स्थानीयको अपेक्षा छ।

२०२८ सालको भोकमरी धान्न नसक्दा दैलेखको सदरमुकाममा रहेको ज्वाला दल गण सुर्खेतमा सारिएको थियो । सैनिक गणमा रहेका सुन्दरी, अर्गा लगायतका तोपहरु पनि बोकेरै सुर्खेत ल्याइएको जनाइएको छ । सेना र दैलेखको इतिहाससँग जोडिएका ऐतिहासिक तोप ५० वर्षपछि दैलेखमा पुनस्स्थापना गर्न लागिएको हो ।

सुर्खेतमा रहेको  नेपाली सेनाको पश्चिम कमान्डका सेनापति प्रेमबहादुर शाहीले ऐतिहासिक सम्पदा संरक्षण र प्रवर्द्धनका लागि स्थानीयको माग अनुसार सुन्दरी तोप दैलेख पठाइएको बताउनुभयो ।

सुर्खेतबाट ल्याइएको ऐतिहासिक तोप अहिले दैलेखमा रहेको नेपाली सेनाको इन्द्रदल गुल्म काँडाचौरमा राखिएको छ । कोतगढीमा मर्मत तथा जीर्णोद्धारको काम सकिएपछि तोपलाई कोतगढीमा राखिने बताइएको छ । 

कोतगढी नेपाली सेनाको स्वामित्वमा रहेकाे छ । ऐतिहासिक कोतगढीमा तोप गोला राख्न आवश्यक पूर्वाधार निर्माण भइरहेको नारायण नगरपालिकाले जनाएको छ ।

ऐतिहासिक सुन्दरी तोप पितलबाट बनेको छ । दुई वटा तोपहरु ‘सुन्दरी र अर्गा’ मध्ये अर्गा तोप अझैसम्म पनि पत्ता लाग्न सकेको छैन । ऐतिहासिक सुन्दरी तोप फेला परे पनि अर्को अर्गा तोप कहाँ छ भन्नेबारे अझै यकिन हुन नसकेको वडाध्यक्ष तिर्थनारायण श्रेष्ठले बताउनुभयो ।अहिलेसम्म पनि फेला पर्न नसकेको अर्गा तोप तामाबाट बनेको जनाइएको छ । 

तत्कालीन समयमा तोप भगवतीको मूर्ति समेत रहेको जानकारहरु बताउँछन् । ‘हामीले नेपाली सेनासँगको समन्वयमा सुन्दरी तोप दैलेख फिर्ता ल्याउन सफल भएका छौँ,’ वडाध्यक्ष श्रेष्ठले भन्नुभयो ‘अर्गा तोप र भगवतीको मूर्तिको पनि खोजी गरिरहेका छौँ ।’

तोप पुनर्स्थापनाले दैलेखको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अधिवक्ता खड्गबहादुर सिंजापतिले बताउनुभयो । तोप द‌ैलेख जिल्लाका लागि अमूल्य सम्पत्ति हो, अहिले एउटा तोप ल्याइएको छ, त्यसलाई अलपत्र नपारि सुरक्षित राख्ने र अर्गा तोपको खोजी गरेर दैलेख ल्याएर पर्यटन प्रवर्द्धन गर्नुपर्ने उहाँको भनाइ छ । 

पानीमाथि आगो बल्ने ज्वाला क्षेत्र, सिञ्जा राज्यको शीतकालीन राज्य, पुरातात्त्विक महत्त्वको गाडी, दर्जनौँ देवल लगायतका पुराना ऐतिहासिक सम्पदा दैलेखमा रहेका छन् ।

समाचार : भावुक योगी र अमर सुनार

अन्तिम अपडेट: बैशाख १२, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया