गाउँघरबाटै हराउँदै ढुंगामाटाेले बनेका तथा खरले छाएका परम्परागत घर

 पुस २४, २०७८ शनिबार १८:०:२९ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – गाउँमा छँदा ढुंगामाटोले बनाइएको, खरले छाइएको घरमा २५ वर्षको उमेरसम्म बस्नुभयो, लमजुङका कृष्णकान्त खनाल । अहिले सरिया सिमेन्टकाे पक्की घर छ । विगतमा उहाँको मात्र नभई प्रायः गाउँका सबै घर ढुंगामाटाले बनाइएका हुन्थे । घर, धन्सार खरले छाइएका हुन्थे । 

उहाँका अनुसार विगत दुई दशक अघिको समयमा ढुंगामाटाले, खरले छाइएका घरमा मानिसहरु बस्दथे । गाउँमा थुप्रै घुमाउने घरहरु हुन्थे/देखिन्थे । ढुंगामाटाले बनेका, खरले छाइएका घुमाउने घरमा मानिसहरु बसोबास गर्दथे । तर समयको परिवर्तनसँगै अहिले गाउँघरमा घरले छाइएका घर, धन्सार र घुमाउने घरहरु देख्नै मुश्किल पर्छ । कहिँकतै मात्रै खरले छाइएका घर, घुमाउने घरहरु देखिन्छ । 

पछिल्लो समय खरले छाइएका घर, घुमाउने घर गाउँघरमै देख्न मुश्किल पर्ने गरेको खनालले बताउनुभयो । ‘खरले छाइएको घर, घुमाउने घर हराइसके । यस्ता घरमा मानिस बसोबास गर्ने चलन त लगभग हराइसक्यो,’ उहाँले भन्नुभयो । उहाँका अनुसार विगतमा गाउँमा रहेका धेरैको आर्थिक अवस्था कमजोर थियो । स्थानीय श्रोत साधनकै उपयोग गरी घर बनाउने, बस्ने चलन थियो । तर अहिले आर्थिक रुपमा मानिस सम्पन्न हुँदै गए । पक्की घर लगाउन थाले ।

‘गाउँघरमा सजिलै पाइने बाँसको भाँटा, चोया, खरले ढुंगामाटाले बनाइएका घरमा बस्ने चलन थियो । गाउँमा खरले घर, धन्सार छाउने सीप भएका मानिस हुन्थे । अहिले त खरले छाइएका घर र घर छाउने सीप भएका मानिस पाउनै  मुश्किल छ,’ ७३ वर्षे कृष्णकान्त खनालले भन्नुभयो । 

परम्परागतभन्दा आधुनिक घर बनाउन सहज हुने भएकाले पनि पक्की घर निर्माणका साथै घरका छानो जस्ताले छाउने चलन बढ्दो रहेको उहाँले बताउनुभयो । ‘राम्रो देखिएतापनि आगालागीको खतरा हुने,  भएकाले खरका घर विस्थापित हुँदै गएका छन्,’ उहाँले भन्नुभयो ।

पछिल्लो समय ग्रामीण क्षेत्रमा सडकको पहुँच पुगेसँगै पक्की घर निर्माणका साथै जस्तापाताले घर टल्काउने प्रवृत्ति बढ्दै गएकाे र परम्परागत खरले छाइएको घर, घुमाउने घर हराउँदै गएको पुरानो पुस्ताको बुझाइ छ । 

ढुंगामाटाको गारो । खरले छाइएको छानो । रातो माटो, सेतो कमेरो र कालीमाटीले रंग्याइएका, सजाइएका घरले धेरैको मन, ध्यान खिच्थ्यो । वास्तविक ग्रामीण परिवेश झल्कन्थ्यो । अहिले त्यस्ता घरहरु देख्नै धौ/धौ हुन्छ । 

खरले छाइएका घर लाभदायक 

खरले छाइएका घरमा बस्न जाडो गर्मी दुवैमा अनुकुल हुने खनालकाे अनुभवले बताउँछ । ‘खरले छाइएका घर त जाडोमा न्यानो, गर्मीमा शितल हुन्छ । खरले छाइएका घर स्वास्थ्यका दृष्टिकोणले निकै लाभदायक हुन्छ’, उहाँ भन्नुहुन्छ ‘जस्ताले छाइएका घरमा गर्मीमा तातो, चिसोमा झनै चिसो हुन्छ, गाह्रो हुन्छ ।’ 

विगतमा गाउँमा छाउनेले खरले घर छाएको पैसा नलिने र सामाजिक भावले सहयोग गर्ने प्रचनल रहेको दोर्दी गाउँपालिका–१, भारते सिरुबारीका हरिप्रसाद अधिकारीले बताउनुभयो । 

‘विगतमा सामाजिक भावले सहयोग गर्ने चलन त थियो । सीप हुनेले बिना ज्याला खरले घर छाइदिन्थे । गाउँले परिवेश निकै मिठास थियो । घरधनीले गच्छे अनुसार मिठो खाजा खुवाउने चलन थियो । घर धनीले घर छाउनेलाई रोटी, तरकारी खुवाउने प्रचलन थियो,’ अधिकारीले भन्नुभयो ।

पछिल्ला पुस्ताका मानिस उज्याला, फराकिला र सुविधासम्पन्न घरमा बस्न रुचाउने भएकाले पनि खरले छाइएको घर, परम्परागत घुमाउने घरहरु हराउँदै गएका उहाँले बताउनुभयो ।

लमजुङको मध्यनेपाल नगरपालिकाकाे बेतेनी गाउँमा पछिल्लो समय हराउँदै गएको खरले छाइएका घर देख्दा निकै रमाइलो लागेकोे सुन्दरबजार नगरपालिका–६ का विजयराज पौडेलले बताउनुभयो ।

‘यस्तो घर अचेल देख्नै पाइदैँन । कार्यालयको कामले जाने क्रममा लमजुङको बेतेनीगाउँमा एउटामात्रै खरले छाइएको, रातो माटो, कमेरोले लिपेको घर देख्दा पनि निकै रमाइलो लाग्यो । बाल्यकालमा आफु जन्मे, हुर्केको खरले छाइएको घरको निकै नै याद आयो,’ कृषि ज्ञान केन्द्र, लमजुङमा कार्यरत पौडेलले भन्नुभयो ।

यस्ता गाउँले परिवेश, नेपाली मौलिक संस्कृतिसँग गाँसिएका तमाम परम्परागत एवं ऐतिहासिक सांस्कृतिक महत्वका घर, सम्पदाको जगेर्ना गर्नु उत्तिकै आवश्यक रहेको संस्कृतिप्रेमीहरु बताउँछन् ।
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया