दुर्घटनाको जोखिम बढेको भन्दै मध्यपहाडी लोकमार्गको रुकुम पूर्व खण्ड बन्द

 पुस २५, २०७८ आइतबार १०:३७:४४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व  - मध्यपहाडी लोकमार्गको रुकुम पूर्व खण्डमा गाडी सञ्चालनमा रोक लगाइएको छ । हिमपातको कारण दुर्घटनाको जोखिम बढेको भन्दै लोकमार्ग सञ्चालनमा रोक लगाइएको हो ।

रुकुम पूर्व र बाग्लुङको सिमाना पातीहाल्ना क्षेत्रमा हिमपातको कारण दुर्घटनाको जोखिम बढेकाले मध्यपहाडी लोकमार्गमा गाडी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिनुभयो । राजमार्गको अवरोध हटाउने सञ्चालन समितिको बैठक बसेर यस्ताे निर्णय गरिएको समितिका संयोजक समेत रहनुभएका प्रजिअ बास्कोटाले बताउनुभयो । 

रुकुम पूर्वमा रहेकाे सुरक्षा निकायका प्रमुख र यातायात व्यवसायीहरुको उपस्थितिमा गरिएको छलफल र यातायात व्यवसायीहरुको सुझावबाटै मध्यपहाडी लोकमार्गको पातीहाल्ना खण्डमा गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो ।

मध्यपहाडी लोकमार्गमा जमेको साढे दुई फिट हिउँ पाँच दिन लगाएर डोजरले पन्छाइएको छ । तर गाडी सञ्चालन गर्न धेरै नै जोखिम रहेकाले लोकमार्ग बन्द गर्ने निर्णय गरिएको प्रजिअ बास्कोटाले जनाउनुभयो । उहाँका अनुसार यस खण्डमा सार्वजनिक गाडीलाई पूर्णरुपमा रोक लगाइएको छ । निजी फोर ह्वीलवाला गाडी भने जान सक्नेछन् ।

अत्यावश्यक परेको खण्डमा मात्र सार्वजनिक गाडी प्रहरीको अनुमतिमा यस खण्डमा चलाउन सकिने छ । गाडीको अवस्था कस्तो छ र लोड कत्तिको छ भनेर प्रहरीले उपयुक्त ठानेर पठाएको खण्डमा मात्र सार्वजनिक गाडी पातीहाल्नाको बाटो भएर जाने छन् ।

एक/दुई दिनलाई भने पूर्णरुपले लोकमार्ग ठप्प नै रहेको प्रजिअ बास्कोटाले बताउनुभयो । रुकुम पूर्वबाट बाग्लुङ जाने बाटो हिउँले चिप्लो बनाएको र उकालो पर्ने भएकाले दुर्घटना हुन सक्ने जोखिम धेरै रहेको उहाँको भनाइ छ ।

बाग्लुङतर्फबाट भने एकतर्फी रुपमा गाडी रुकुम पूर्व आइरहेका छन् । बाग्लुङ जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर सकभर बाग्लुङतर्फबाट पनि यस खण्डमा गाडी सञ्चालनमा रोक लगाउने प्रयास भइरहेकाे प्रशासनले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया