ओमिक्रोनः डेल्टाभन्दा कम आक्रामक, तर सावधानी बढाउन आवश्यक

 पुस २८, २०७८ बुधबार १५:३८:४० | डा. समीरमणि दीक्षित
unn.prixa.net

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले संसारभर डेल्टा भेरियन्टलाई विस्थापित गरिरहेको छ । अहिले ओमिक्रोनका बारेमा विभिन्न अनुसन्धान भइरहेका छन् । दक्षिण अफ्रिका, बेलायत र युरोपका अन्य देशबाट अनुसन्धानका नतिजा पनि आइसकेका छन् । 

अनुसन्धानको नतिजाबाट ओमिक्रोन सङ्क्रामक भए पनि डेल्टाभन्दा कम आक्रामक भएको भनिएको छ । यसको लक्षणहरू डेल्टाको भन्दा कमजोर छ, कम आक्रामक छ । नेपालमा पनि यो तथ्याङ्क लागू हुन्छ नै । 

हामीले हेर्ने हो भने नेपालमा सङ्क्रमण दर बढ्ने देखिन्छ । नेपाल सरकारले २४/२५ जनामा सङ्क्रमण छ भनेको छ । सरकारले दाबी गरेको तथ्याङ्कभन्दा बढी नै छ जस्तो मलाई लाग्छ । भारतमा पनि सङ्क्रमणको दर बढिसकेको छ । खुला सिमानाका कारण नेपालमा सङ्क्रमणको सङ्ख्या हरेक दिन बढिरहेको छ । त्यस कारण अबको एक महिना हाम्रो लागि अति नै संवेदनशील समय रहन्छ । किनकि यस समयमा सङ्क्रमण दर बढ्छ । यो भन्दै गर्दा हामी आत्तिनु हुँदैन । यो डेल्टा जत्तिको कडा नभएको हुनाले सङ्क्रमण भएर अस्पताल भर्ना हुनु परे पनि मृत्युको सङ्ख्या डेल्टाको तुलनामा एकदमै कम हुन्छ । यो कुरा अन्य ठाउँको तथ्याङ्कलाई हेर्दा भन्न सकिन्छ । सङ्क्रमण बढ्छ भनेर हामी मानसिक रूपमा तयार हुनुपर्छ । 

अस्पताल र पूर्वाधारलाई सतर्कतामा राखौँ । त्यसबाहेक भिडभाडमा जाँदा मास्क लगाऔँ । मास्क नै यसबाट बच्ने एउटा उपाय हो । त्यसबाहेक पूर्ण खोप लगाइएको छैन भने पूर्ण मात्रामा खोप लगाऔँ । खोपले सङ्क्रमणको कडा असरबाट बचाउँछ भन्ने कुरा संसारभरिको तथ्याङ्कले देखाइसकेको छ । आम नागरिकलाई भिडभाड कम गर्न, मास्क र खोप लगाउन अपिल गर्छु । 

अर्को भनेको नेपाल सरकारले ध्यान दिनुपर्ने कुरा भनेको सिमानामा पहिला जस्तै नियन्त्रण गर्न खोज्नु हुँदैन । त्यसो गरियो भने मानिसहरू गैरकानुनी बाटोबाट नेपाल भित्रने सम्भावना धेरै हुन्छ । 

यस विषयमा म सरकारलाई के सुझाव दिन चाहन्छु भने भारतीय सीमाबाट नेपाल आउन चाहने नागरिकलाई आफ्नै नजिकको पालिका तथा स्थानीय निकायमा परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्छ । 

स्थानीय निकायलाई परीक्षणको जिम्मा दिनुपर्छ । त्यहाँ र्‍यापिड एन्टिजेन परीक्षण गर्ने काम गर्नुपर्छ । यसरी परीक्षण गर्दा लक्षण देखिएकाहरूलाई आधिकारिक नाकामा नै होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गरौँ । यो गर्न जरुरी छ, परीक्षणमा सङ्क्रमण देखिएमा आधिकारिक नाकामा नै होल्डिङ सेन्टरमा राखौँ । 

पीसीआर परीक्षणको नतिजा भन्दा र्‍यापिड एन्टिजेन टेस्टको नतिजा छिटो (१०/१५ मिनेटमा) आउँछ । यदि सङ्क्रमण देखियो भने त्यहीँबाट मानिसलाई आइसोलेशनमा लैजाँदा हुन्छ । सङ्क्रमण नदेखिएकालाई घर जान दिए भइहाल्यो । घर जानेलाई पनि दुई/तीन दिन भित्र फेरि परीक्षण गर्न पर्ने एउटा नियम सरकारले बनाइदिनुपर्छ । यो कुरा सरकारले जतिसक्दो छिटो गर्नुपर्छ । 

सरकारले खोप लगाउने काम छिटो भन्दा छिटो गर्नुपर्छ । हामीले बुझेअनुसार त तीन करोड मात्रा खाेप त सन् २०२२ को जनवरीमा नै आउने कुरा भएको थियो । त्यो किन ढिला भयो, हामीलाई थाहा छैन । 

सरकारले सिरिन्ज छैन यो वा त्यो छैन भन्ने बहाना गर्न पाउँदैन । जसले पूर्ण खोप पाएका छैनन्, उनीहरूले पाउनु नै पर्छ । त्यसका लागि सरकारले स्थानीय तहमा पुगेर, विद्यालयमा विद्यार्थी भएका ठाउँमा पुगेर खोप लगाइदिने व्यवस्था गर्नुपर्छ ।

अहिले सरकारले १२ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप दिने व्यवस्था मिलाउनुपर्छ । जोखिममा परेका, दीर्घ रोगी, ६०/७० वर्ष उमेर पार गरेकाहरूलाई बुस्टर डोज खोप लगाउने व्यवस्था मिलाउनुपर्छ । बुस्टर डोजले जोखिम समूहलाई बचाउने सम्भावना हुन्छ । 

फेरि पनि म भन्छु, ओमिक्रोनलाई डेल्टा जस्तो आत्तिएर नहेरौँ । सर्तक भने रहनु नै पर्छ । हरेक पालिकाले दुई वटा काम गर्न सक्छन् । पहिलो भनेको केन्द्र र प्रदेशलाई घचघच्याएर र्‍यापिड टेस्ट किट स्थानीय निकाय र पालिकाका वडामा ल्याउने । त्यसबाट वडामा आउने नयाँ–नयाँ आगन्तुक सबैलाई र्‍यापिड एन्टिजेन टेस्ट गर्न सकिन्छ । जसले गर्दा लक्षण देखिएका पालिका वा वडावासीको पनि सजिलै एन्टिजेन टेस्ट गर्न सकिन्छ । 

अर्को भनेको आ–आफ्नो वडा तथा पालिकामा भएका नागरिकलाई तुरुन्तै पूर्ण खोप लगाउने व्यवस्था मिलाउने र जोखिममा रहेका समूहलाई बुस्टर डोज खोप लगाउने व्यवस्था मिलाउने गर्नुपर्छ । 

(जनस्वास्थ्यविद् डा. दीक्षितसँगको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: माघ ५, २०७८

डा. समीरमणि दीक्षित

डा. दीक्षित जनस्वास्थ्य विज्ञ हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया