लमजुङमा बर्सेनि वन डढेलोका घटना बढ्दो : सुरक्षा निकायलाई अग्नि नियन्त्रक सामग्री प्रदान

 पुस २९, २०७८ बिहिबार २०:२३:४२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङमा बर्सेनि वन डढेलाेका घटना बढ्दै गएको छ । विसं २०६८ देखि २०७७ सम्मको अवस्थालाई हेर्दा बर्सेनि जिल्लामा वन डढेलाेका घटना बढ्दै गएको डिभिजन वन कार्यालय लमजुङले जनाएको छ ।

यस अवधिमा सबैभन्दा धेरै मर्स्याङ्दी गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिका क्षेत्रका वनमा डढेलो लागेको डिभिजन वन कार्यालय लमजुङका प्रमुख एवम् डिभिजन वन अधिकृत पूर्णेश्वर सुवेदीले जानकारी दिनुभयो ।

‘जिल्लामा दश वर्षको अवधि (२०६८–२०७७) मा बर्सेनि वन डढेलाेका घटना बढ्दो देखिन्छ’, उहाँले भन्नुभयो । विशेषगरीः भिरालो जमिनमा रहेका सल्ला भएका वन, मान्छेको पहुँच नभएको वनमा बढी डढेलो लाग्ने गरेको उहाँले बताउनुभयो ।

‘प्राकृतिक रूपमा भन्दा पनि मानिसले अन्जानमा या नियतवश वनमा डढेलो लगाइएको हुन सक्ने देखिन्छ’, सुवेदीले भन्नुभयो । वन डढेलो रोकथाम र नियन्त्रणका लागि समुदाय, पालिका, मिडिया लगायत सरोकारवाला सबै पक्ष हातेमालो गरी अघि बढ्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

जिल्लामा तीन सय ३९ सामुदायिक वन, एक सय ७३ कवुलियती वन र एक धार्मिक वन गरी पाँच सय १३ वन रहेका डिभिजन वन कार्यालय लमजुङका सहायक वन अधिकृत एवम् सूचना अधिकारी सन्तोष खनालले बताउनुभयो ।

यसैबीच बढ्दो वन डढेलो रोकथाम र नियन्त्रणका लागि डिभिजन वन कार्यालय लमजुङले जिल्लामा रहेका विभिन्न सुरक्षा निकायलाई अग्नि नियन्त्रक सामग्री प्रदान गरेको छ ।

जिल्लास्तरीय वन डढेलो रोकथाम तथा नियन्त्रणसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया गर्दै आज बिहीवार जिल्ला प्रहरी कार्यालय लमजुङ, उदीपुरमा रहेकाे नेपाली सेनाको श्रीजङ्ग गण र सशस्त्र प्रहरी बल लमजुङलाई अग्नि नियन्त्रक सामग्री प्रदान गरिएको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार वन डढेलो लागेको अवस्थामा आगो निभाउन जाने सुरक्षा टोलीलाई सहज हुने उद्देश्यले विभिन्न सामग्री प्रदान गरिएको हाे । 

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जिल्लामा रहेका सुरक्षा निकायका प्रमुख/प्रतिनिधिलाई रेक, साबेल, स्वाटर, जम्प सुट, ब्याक प्याक पम्प, हेल्मेट, सिम्पल क्याप मास्क, पन्जा लगायतका सामग्री वितरण गर्नुभएको हो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया