राम्रोसँग पानी नपर्दासम्म मौसम पूर्णरुपमा नखुल्ने

 माघ २, २०७८ आइतबार ७:३८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तराईका जिल्लासहित देशका धेरै ठाउँमा अहिले बाक्लो हुस्सु कुहिरो लागेको छ ।

केही दिनयता बिहानको समयमा लगातार बाक्लो हुस्सु, कुहिरो लाग्ने गरेको छ । तर, दिउँसोको समयका कुहिरो हट्ने गरेकाले मौसमविद्ले यसलाई शीतलहर भनिसकेका छैनन् । ४८ घण्टासम्म लगातारका हुस्सु कुहिरोको लहर देखिए पछि मात्रै शीतलहरको घोषणा गर्ने गरिएको छ ।

दिउँसोको समयमा कुहिरो हटे पनि पारिलो घाम भने लाग्न सकेको छैन । छिनछिनमा बादल लाग्ने र छिनमै घाम लाग्ने भइरहेको छ , मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज पनि दिउँसोको समयमा हुस्सु कुहिरो हटी घामसँगै बादल लाग्ने सम्भावना छ । राम्ररी पानी नपरेका कारण मौसम पूर्णरुपमा खुल्न नसकेको उहाँले बताउनुभयो ।

विशेषगरी राम्ररी पानी नपरेका बेला र राति आकाश सफा भएका बेला त्यसको भोलिपल्ट बिहान बाक्लो हुस्सु, कुहिरो लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । ‘रातभरि बादलले ढाकेको भए आकाश गुम्सिन्थ्यो, जसले गर्दा बिहान धेरै चिसो हुने र बाक्लो हुस्सु कुहिरो लाग्ने थिएन,’ उहाँले भन्नुभयो– ‘राति आकाश सफा रहँदा बिहान र बेलुका चिसो बढ्छ ।’ केही दिनयता बेलुकाको समयमा चिसो सिरेटो समेत चल्न थालेको छ । हिउँदमा  पश्चिमी वायुमार्फत हिमालबाट सिरेटो चल्ने भएकाले हावा चिसो हुन्छ ।

मौसमविद् मानन्धरले राम्ररी पानी नपर्दासम्म मौसम यस्तै रहने पनि बताउनुभयो । यसैबीच, आज काठमाण्डौको न्यूनतम तापक्रम एक डिग्री सेल्सियसले घटेको छ । हिजो बिहान ५ दशमलव ७ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम आज ४ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया