हेलिकप्टर मार्फत सुत्केरीको उद्धार

 माघ ४, २०७८ मंगलबार १८:२१:५ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – जाजरकाेटमा दुई ओटा बच्चा जन्माएकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका-५ की २५ वर्षीया सरस्वती रावललाई रुकुम पश्चिमको चौरजहारी अस्पतालबाट उद्धार गरिएको हो । उहाँलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरेर आज सुर्खेत लगिएको छ ।

स्थानीय स्वास्थ्य संस्थामा दुई वटा जुम्ल्याह छोराको जन्म दिनुभएकी रावललाई रक्तअल्पताको कारण समस्या बढेपछि गएकाे पौष २९ गते चौरजहारी अस्पतालमा भर्ना गरिएको थियो । शिशु जन्मेको १४ दिन पछि अस्पतालमा भर्ना गरिएकी सरस्वतीको शरीरमा कडा खालको रक्तअल्पता भएकोले चौरजहारी अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लैजान बिरामीका आफन्तलाई सल्लाह दिएको थियो । सुत्केरी महिलाका दुई जुम्ल्याह छोराको स्वास्थ्य अवस्था भने सामान्य अवस्थामा रहेको पारिवारिक स्रोतले बताएको छ ।

कमजोर आर्थिक अवस्था भएकाले उहाँकाे उद्धारको लागि कुशे गाउँपालिकाकै वडा नम्वर १ का वडा अध्यक्ष गोपाल नेपालीले पहल गर्नुभएको थियो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया