आउँदो सोमबारसम्म देशभरको मौसम बदली हुने

 माघ ७, २०७८ शुक्रबार १७:१९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – आउँदो सोमबारसम्म देशभरको मौसम बदली हुने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । महाशाखाले दिउँसो विशेष बुलेटिन सार्वजनिक गरेर भोलिदेखि अर्को न्यून चापीय प्रणाली प्रवेश गर्ने भएकोले सोमबारसम्म मौसम बदली हुने जानकारी गराएको छ ।

विभागका अनुसार, पश्चिम नेपालबाट छिर्ने यो न्यून चापीय प्रणालीका कारण भोलि शनिबार, आइतबार र सोमबार देशभरिको मौसममा प्रभाव पर्नेछ । उच्च भागमा हिमपात तथा पहाडी र तराईका भागमा मेघ गर्जनसहित मध्यम स्तरसम्मको वर्षा हुने सम्भावना रहेको मौसमविद् शान्ती कँडेलले बताउनुभयो । यो न्यून चापीय प्रणाली मंगलवारदेखि कमजोर हुँदै जाने र त्यसपछि मात्रै आकाश पूर्ण रूपमा खुल्ने महाशाखाले निकालेको विशेष बुलेटिनमा उल्लेख छ । महाशाखाले  सोमबारसम्म अत्याधिक चिसो बढ्ने अनुमान गर्दै चिसोबाट बच्न र हिमपातबाट जोगिन सतर्क गराएको छ ।

बितेका केही हप्तामा कोरोनाभाइरस सङ्क्रमण उच्च विन्दुमा पुग्ने क्रम रहँदा धेरैलाई रुघाखोकी तथा चिसोका कारण देखिने स्वास्थ्य समस्या पनि बढेको छ । कोरोनाभाइरसका लक्षणसँग मिल्दोजुल्दाे स्वास्थ्य समस्या चिसो बढेसँगै बढ्ने हुँदा थप सतर्क हुन आवश्यक रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

जाडो बेलामा रुघाखोकी लाग्ने र कडा खालको निमोनिया भएर ज्यान समेत जान सक्ने भएकोले स्वास्थ्यको ख्याल गर्नुपर्ने कोभिड अस्पताल जनकपुरका प्रमुख डा. जामुन सिंहले बताउनुभयो । चिसोमा घरबाट बाहिर ननिस्किन र न्यानो गरी बस्न उहाँको सुझाव छ ।   

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया