ऋण तिर्ने र बाइक किन्ने सपना बोकेर कतार, नेपाल फर्किएर १३ जनालाई रोजगारी

 माघ १४, २०७८ शुक्रबार ११:३८:५४ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – झण्डै १५ वर्षअघि कतार उड्दा सुनसरीको इनरुवाका मुन्नाकुमार गुप्तासँग  दुई वटा मात्र सपना थिए । पहिलो सपना घरको ऋण तिर्ने, अनि दोस्रो चाहिँ आफ्नो लागि एउटा बाइक किन्ने । 

तर १० वर्ष कतारमा बिताएर फर्कँदा मुन्नाका दुई सपना मात्र पुरा भएका छैनन्, कतारमा सिकेको सीप र कमाइबाट देशमै नयाँ काम सुरु गर्दा अहिले मुन्नाको “क्लासिक डिजाईन”मा १३ जना युवाले विदेशमा जस्तै कमाई हुने रोजगारी पनि पाएका छन् । 

कतार जाँदाका ती दिन र साँचेका सपना सम्झँदा मुन्नाको अनुहारमा मुस्कान छाउँछ । भन्नुहुन्छ, ‘एउटा मानिसले साउदी कतारमा मासिक रूपमा कमाउने तलब जति नै तलब अहिले मसँग काम गर्ने श्रमिकलाई दिन्छु ।’ अहिले मुन्नाको ‘क्लासिक डिजाइन’ नामक पसलमा काम गर्ने मुख्य मिस्त्रीको मासिक तलब ४५ हजार रुपैयाँ छ ।

सन् २००७ को सुरुवाततिर कतार जाँदा मुन्नाको मासिक तलब ५सय ५० कतारी रियाल थियो । अहिलेको विनिमय दर अनुसार हो भने सरदर १८ हजार रुपैयाँ । महिनाको १८ हजार रुपैयाँ कमाउने गरी खाडी पसेको एक युवा १३ जनालाई रोजगारी दिने रोजगारदाता बन्न कसरी सम्भव भयो त ?

मुन्ना भन्नुहुन्छ ‘कतारमा गरेको मेहनत, त्यहाँ सिकेको सीप र अनुभवले हो ।’

१२ कक्षा पढ्दा पढ्दै घरको आर्थिक अवस्थाले पिरोल्यो मुन्नालाई । पढाई सँगसँगै कमाइको बाटो पनि समात्ने भन्दै उहाँ कामका लागि दाङ र रुकुमतिर पुग्नुभयो । तर १४ दिन जति काम गरेपछि घर नै फर्किनुभयो । त्यो काममा मुन्नाको मन बसेन ।

त्यही बेला कतारमा रहेका साथीले भिसा पठाइदिए । १२ कक्षाको परीक्षा नै नदिई मुन्ना २००७ मा कतार उड्नुभयो । 

‘साथीले भिसा पठाइदिएकाले त्यो बेलामा पनि मैले टिकट बाहेक अन्य रकम तिर्न परेन, जान त सामान्य हेल्परकै भिसामा गएको हुँ’ मुन्ना सुनाउनुहुन्छ ।

उमेर भर्खर १८ वर्षको थियो । उमेर अनुसारकै थिए सपना पनि । कतारको तातो गर्मी । त्यसमाथि घर परिवार, आफन्त र देश नै छाडेर परदेशी भूमिमा रम्न गाह्रो भयो । घरमा आमाले पकाएको खाना खाएको जिब्रोले कतारी भूमिमा कयौं दिन आमाकै हातको स्वाद सम्झिरह्यो । अङ्ग्रेजी माध्यमबाट स्कुल र कलेज पढेकाले मुन्नाको अङ्ग्रेजी केही राम्रो थियो । अप्ठेरो समयमा त्यही अङ्ग्रेजी भाषाले मुन्नालाई साथ र अवसर जुरायो ।

‘हेल्पर भए पनि म इन्जिनियरदेखि सुपरभाइजर सबैसँग अङ्ग्रेजीमा कुरा गर्थे, उनीहरूले भनेको काम एक पटक मै राम्रोसँग गर्थेँ’ मुन्ना कतारको आफ्नो अनुभव सुनाउनुुहुन्छ ‘दुई तीन महिनामै मैले ट्रेड फिक्स्चरको काम गर्न थालेँ ।’

मुन्नाको कम्पनीको नाम डेकुरेशन वल्ड थियो । घर लगायत डेकुरेशनसँग सम्बन्धित हरेक काम गथ्र्यों कम्पनीले । टे«डमा काम गर्न थालेपछि मुन्नाको तलब पनि बढ्यो । ५५० रियालबाट ७५० भयो मासिक तलब । कतार पुगेको एक वर्षभित्रमा मुन्ना ५५० रियालबाट ११ सय कतारी रियाल कमाउने हुनुभयो । 

कम्पनीले नै मुन्नालाई सवारी चालक अनुमति पत्र निकाल्नका लागि सहयोग गर्‍यो । खर्च आफ्नो भए पनि कम्पनीले सहजीकरण गरिदिँदा मुन्नाले कतारी लाइसेन्ससमेत लिनुभयो । 

काम गर्दै जाँदा कम्पनीमा हरेक काम सिक्दै जानुभयो । दुई वर्ष भित्रमा उहाँ सुपरभाइजर हुनुभयो । 

‘काम गर्ने मानिसको मूल्याङ्कन हुँदो रहेछ, मैले जागिर मात्र ठानेर काम गरिनँ, कहिले काममा ठगिन, जति काम गरेँ, इमानदार भएर गरे, त्यसकै फलस्वरुप मैले कतारमा छोटो समयमा सुपरभाइजर हुन पाएजस्तो लाग्छ ’ मुन्ना भन्नुहुन्छ ।

सुपरभाइजर भएपछि कम्पनीले थप सुविधासँगै अवसरहरू पनि दिँदै गयो । कम्पनीले नै मुन्नालाई सवारी चालक अनुमति पत्र निकाल्नका लागि सहयोग गर्‍यो । खर्च आफ्नो भए पनि कम्पनीले सहजीकरण गरिदिँदा मुन्नाले कतारी लाइसेन्ससमेत लिनुभयो । 

लाइसेन्स भएपछि काम थप सहज भयो । गाडी पनि चलाउने लाइसेन्स पनि साथमा भएपछि मुन्नाले ओभर टाइम समेत पाउनुभयो । 

‘लाइसेन्स भएपछि मैले सर्भिसको काम पनि गरेँ, तलब पनि राम्रो नै बढ्यो त्यो बेला, तर अब त्योभन्दा माथि जाने ठाउँ भएन, किनभने मसँग काम गरेको अनुभव भए पनि हातमा प्रमाणपत्र भएन, धेरै माथि पुग्न त प्रमाणपत्र चाहिने रहेछ‘ मुन्ना भन्नुहुन्छ ‘न मेरो पढाइ न त कुनै सीप सिकेको प्रमाणपत्र, त्यहाँ भिडेर अघि बढ्ने आधार नभएपछि म रोकिएँ ।’

आफूले देखेको सम्भावना जति हासिल गर्न नसके पनि चित्त बुझ्दो थियो मुन्नाको कतार बसाइ । 

अनि देशमै केही गर्ने सोच पलायो

एउटा बाइक किन्ने र साहुको ऋण तिर्ने सपना बोकेर परदेश गएका मुन्नाको पत्तै नपाइ १० वर्ष बित्यो कतारमा । मुन्नालाई आफ्नै मनले आफैसँग प्रश्न गर्न थालेको थियो । कहिलेसम्म बस्ने परदेशमा ? यसरी परदेशमा बसेर जीवन चल्छ त ? घरको एक्लो छोरो हुँ, म यहाँ बसेमा बुवा आमा कसले पाल्छ ? यिनै प्रश्न मन भरी घुम्न थाले ।

कतारले पैसा दियो । सीप दियो । केही गर्न सक्छु भन्ने आँट र अनुभव पनि । यो भन्दा बढी चाहियो पनि के र । अनि मुन्नाले सोच्नुभयो ‘अब देश नै फर्कन्छु, घरपरिवारको साथमा आफ्नै देशमा काम गर्छु ।’

१० वर्ष काम गरेबापत नेपाल फर्कने बेला कम्पनीले उपदानमा जम्मा भएको झण्डै २२ हजार रियाल दियो । दुई महिनाको तलब पनि थपिदियो ।

‘साथमा अलिअलि पैसा र हातमा सीप पनि भएपछि त आँट त्यसै आउँदो रहेछ, कतारबाट फर्कँदा मेरो आँट ठुलो थियो, किनकि साथमा पैसा थियो नि त ’ मुन्ना हाँस्दै भन्नुहुन्छ । 

१० वर्षे कतार बसाइलाई बिट मार्दै मुन्ना सन् २०१७ मा नेपाल फर्कनुभयो । 

१० वर्ष काम गरेबापत नेपाल फर्कने बेला कम्पनीले उपदानमा जम्मा भएको झण्डै २२ हजार रियाल दियो । दुई महिनाको तलब पनि थपिदियो ।

कम्पनीले यति रकम दिँदा आफूले कतारमा गरेको श्रम र बगाएको पसिना खेर गएन झैँ लाग्यो मुन्नालाई । आफूले कमाएर जमाएको रकम पनि अलिअलि  थियो साथमा । नेपाल फर्किएर केही व्यापार व्यवसाय गरौँ भन्ने सोचलाई यही रकमले टेवा दियो ।

नेपाल फर्किएपछि के गर्ने भनेर कामको खोजी गर्दा मुन्नाको आँखामा कतारमा आफूले गरेको काम र कम्पनी नै नाच्न थाल्यो । त्यो कामको बजार इनरुवामा कतिको छ भनेर बुझ्नुभयो । चार पाँच महिना जतिको अध्ययनपछि मुन्नाले कतारमा आफूले गरेर आएको कामको सम्भावना आफ्नै ठाउँ इनरुवामा पनि देख्नुभयो । कतार जाँदा अङ्ग्रेजी भाषाले सहज बनाएजस्तै मुन्नालाई देशमै गरी खान भने कतारमा सिकेको सीपले बाटो देखाइदियो । 

मुन्ना भन्नुहुन्छ ‘आल्मुनियम लगायतको काम गर्ने पसल त इनरुवामा रहेनछ, एउटा विराटनगर मा र एउटा इटहरीमा रहेछ, त्यसपछि मैले अब इनरुवामा म खोल्छु भनेर व्यवसाय सुरुवात गरेको हुँ ।’

कम्पनीको नाम पनि कतारबाटै

सन् २०१७ कै अन्त्यतिरबाट मुन्नाले क्लासिक डिजाइन नाम दिएर आल्मुनियमसँग सम्बन्धित काम आफ्नो घरबाट थाल्नुभयो । पहिले बिदामा आएका बेलामा मुन्नाले इनरुवा बजारमै १० धुर जग्गा पनि किन्नुभएको थियो । त्यो जग्गामा पसल राख्ने संरचना बनाउँदै काम पनि थाल्दै गर्नुभयो । 

मुन्नालाई कतारमा आफूले काम गरेर आएको कम्पनी डेकुरेशन वल्र्डले गर्ने जस्तै गरी हरेक काम गर्न मन थियो । तर कहाँ कतार, कहाँ नेपाल । कम्पनीभन्दा अलिक पर अर्को कम्पनी थियो । त्यो कम्पनीको नाम क्लासिक डिजाइन थियो । उसले गर्ने काम उस्तै भए पनि मुन्नाको कम्पनीभन्दा सानो थियो । 

‘मेरो कम्पनीले गर्ने काम त कति ठुलो स्केलमा थियो नि, अब त्यही कम्पनीको जस्तै काम गर्न सम्भव थिएन त्यसैले मैले अलिक सानो पल्लो कम्पनीको नामबाट यहाँ आफ्नो कम्पनीको नाम राखेको हुँ’ मुन्ना आफ्नो कम्पनीको नाम जुराउनुको कारण सुनाउनुहुन्छ ।

कतारमा १० वर्ष काम गरेर पोख्त भएका मुन्नाको हातको सीप इनरुवामा राम्रै गरी बिक्न थाल्यो । काम गर्दै जाँदा सोचेभन्दा बढी सफलता मिल्दै गयो । मार्केट बढ्दै गयो । चिनाजान बढ्दै गयो । अनि काम पनि । 

मुन्नालाई लाग्छ ‘सेवा राम्रो भएपछि मानिस आउँदा रहेछन्, मार्केट पनि बढ्दो रहेछ ।’

अहिले त आल्मुनियम, स्टिल, रेडिमेड ढोकादेखि फल्स सिलिङ, किर्नस बुट्टाहरू लगायतका विभिन्न रङ्गका सिसाहरूसमेतको सेवा उपलब्ध छ मुन्नाको पसलमा ।

व्यवसाय थालेको दिनदेखि पछाडि फर्केर हेर्न परेको छैन मुन्नालाई । यतिको सफल भइन्छ भन्ने लागेको भए अझ व्यवस्थित र ठुलो संरचना बनाएर पसलको सुरुवात गर्थेँ भन्नुहुन्छ मुन्ना ।

काम थाल्दादेखि अहिलेसम्म मुन्नालाई परिवारको ठुलो सहयोग मिल्यो । विशेष गरी श्रीमतीले मुन्नालाई हरेक अप्ठेराहरू सजिलो बनाइ दिनुभएको छ । साथै आफ्नो ठाउँका अग्रज दाइहरूको सल्लाह र सुझाव पनि आफू सफल हुनुको कारण मान्नुहुन्छ मुन्ना ।

पसल थाल्दा सानो संरचना बनाएर १० लाखको लगानीमा थाल्नुभएको थियो मुन्नाले । तर अहिले लगानी करिब ४० लाख पुगेको छ । वार्षिक एक करोड रुपैयाँ बराबरको कारोबार गर्नुहुन्छ । त्यसमा १५ देखि २५ प्रतिशत सरदर नाफा हुन्छ मुन्नालाई । हरेक काममा मुन्ना आफैँ पनि उत्तिकै खट्नुहुन्छ । 

व्यवसाय थालेको दिनदेखि पछाडि फर्केर हेर्न परेको छैन मुन्नालाई । यतिको सफल भइन्छ भन्ने लागेको भए अझ व्यवस्थित र ठुलो संरचना बनाएर पसलको सुरुवात गर्थेँ भन्नुहुन्छ मुन्ना ।

यहाँ काम गर्दा पाएको सफलता र सिकेको ज्ञानले अहिले व्यवसायलाई थप व्यवस्थित बनाउने योजना बनाउनु भएको छ । यो योजनामा व्यवसाय विस्तार गर्ने र उत्पादन पनि आफै गर्ने कुरा समावेश छन् । भन्नुहुन्छ ‘जिप्सम कार्निस, स्टिलको डेकोरेशन लगायतको काममा अहिले पनि राम्रो सम्भावना छ, अब म त्यसतर्फ पनि केन्द्रित हुन्छु ।’

घर परिवारको साथमा बसेर काम गर्दाको सन्तुष्टि निकै फरक लाग्छ मुन्नालाई । ‘कुरो त सबैले विदेशको गर्छन् तर देशमा घरपरिवारको माया, साथ र सहयोगमा गरेको काम विदेशको लाखसँग तुलना गर्न मिल्दैन’ मुन्ना भन्नुहुन्छ ‘विदेश नजानुस् भन्न मिल्दैन, जाने भए कुनै सीप सिकेर मात्र जानुहोस्, तर सोच देशमै केही गर्ने बनाउनुहोस् ।’

अन्तिम अपडेट: बैशाख ८, २०८१

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

1 Comments

  • मन्दिप गिरी

    Jan. 28, 2022, 12:29 p.m.

    मुन्ना कुमार गुप्ता जि को जस्तो देशमा केही गरौ भन्ने उत्साह र हिम्मत सबै मा नहोला या त भएर पनि उचित बाटो अबलम्बन गर्न नसकेको हुन सक्छ।तर मुन्ना कुमार गुप्ता जि जस्ता अनेकौं नेपाली दाजु भाइ दिदी बहिनी पनि होला बिदेश मा आर्जित सीप लाई स्वदेशमा प्रयोग गरी आफू त ब्याव्साही हुनुहुन्छ नै साथमा अरु नेपाली दाजु भाइ दिदीबहिनी लाई रोजगारी दिनु हुन्छ अति नै सराहनीय र स्वागतयोग्य छ भन्छु हृदय बाट अन्ततः म एक वैदेशिक रोजगारी परे।लाखौं खर्च गरेर यूरोप अमेरिका त अन्य बिकसित मुलुक गएर PR र त्यहाँको नागरिक बनेर नेपाली हु भनेर गौरव गर्ने भन्दा मुन्ना कुमार गुप्ता जि जस्ता ब्यक्ति प्रति अथाह सम्मान छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया